Erani Mahal
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तानसेन पहिलाे
IMG_4654
पाल्पा - १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा तानसेन प्रथम भएकाे छ । १६ स्वर्णसहित ४५ पदक जितेर तानसेनले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगितामा पहिलाे बनेकाे हाे । तानसेनले १६ स्वर्ण, १७ रजत र १२ कास्य पदक प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो । यस्तै रामपुर नगरपालिका २२ पदकसहित प्रतियोगितामा दाेस्राे बनेको छ । रामपुरले ६ स्वर्ण, ६ रजत र १० कास्य पदक प्राप्त गरेको छ । यस्तै तिनाउ गाउँपालिका तेस्रो बनेको छ । तिनाउले ५ स्वर्ण, ७ रजत र ४ कास्य गरी १६ पदक प्राप्त गरेको छ । सान्तवना माथागढी गाउँपालिका बनेको छ । माथागढीले ५ स्वर्ण, तीन रजत र ७ कास्य गरी कुल १५ पदक पाएको छ । यस्तै रम्भाले ४ स्वर्ण, ३ रजत र ४ कास्य गरी १० पदक हात पारेको छ । यस्तै पूर्वखोलाले ३ स्वर्ण, ४ रजत र ५ कास्य पदक गरी १२ पदक पाएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यस्तै रैनादेवी छहराले २ स्वर्ण, २ रजत र ३ कास्य गरी ७ पदक पाएको छ । यस्तै बगनासकालीले १ स्वर्ण, २ रजत र ७ कास्य पदक पाएको छ भने रिव्दीकोटले १ स्वर्ण, १ रजत, २ कास्य पाएको छ । यस्तै निस्दी गाउँपालिकाले १ स्वर्ण र कास्य ५ पदक पाएको जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष तिलक थापाले जानकारी दिनुभयो । समापन समारोहमा बोल्नुहुँदै प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । देशको अवस्था अनुसार राज्यको लगानी खेल क्षेत्रमा सन्तोषजनक मान्नुपर्ने भन्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर खेल क्षेत्रको विकास गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा विशिष्ट अतिथि एवं प्रदेश सभा सदस्य खेमबहादुर सारुले खेल क्षेत्रबाट पर्यटन प्रबद्र्धन गर्न सकिने धारणा राख्नुभयो । उहाँले माथागढीको सराई क्षेत्रलाई जिल्लाकै नमूना खेलमैदानका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै लुम्विनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेल क्षेत्रको विकासका लागि खेल शिक्षक तथा खेल प्रशिक्षण विद्यालयसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेल क्षेत्र अहिले पनि राज्यबाट उपेक्षामा परेको भन्दै त्यसलाई सरकारले महत्व दिएर मात्र खेल क्षेत्रमा विकास गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले खेलकुद क्षेत्रको विकासमा पालिकाले विशेष ध्यान दिने उल्लेख गर्नुभयो । उहाँले स्थानीय बासिन्दाको सहयोगले रनिङ्ग शिल्ड प्रतियोगिता सफल भएको बताउनुभयो । कार्यक्रममा माथागढी गाउँपालिका वडा नं. १ का अध्यक्ष राजकुमार पन्थी, तानसेन वडा नं. ९ का अध्यक्ष राजेशकुमार अर्याललगायतले विजयी खेलाडीलाई बधाई तथा शुभकामना दिनुभयो । प्रतियोगितामा छात्राछात्रबीच एथलेक्टिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्डोलगायतका खेल भएको थियो । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी खेलकुद विकास समितिका कार्यालय प्रमुख खुमबहादुर बयम्बुले जानकारी दिनुभयो । पाल्पामा तानसेनभन्दा बाहिर माथागढी गाउँपालिकाको सराई खेल मैदानमा पहिलो पटक प्रतियोगिता भएको हो । समापन कार्यक्रम खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेकाे अध्यक्षता र भरत शर्माकाे संचालनमा सम्पन्न भएकाे हाे । खेल माथागढीकाे सराइस्थित खेल मैदानमा फागुन ७, ८ र ९ गते भएकाे हाे ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update