Erani Mahal
निस्दीको काउले डाँडाबाट २ करोड बराबरको कुचो उत्पादन हुने !
amriso-1
पाल्पा – निस्दीको काउले डाँडाबाट यसवर्ष २ करोड बराबरको कुचो उत्पादन हुने अनुमान गरेको छ । निस्दी गाउँपालिका -३ , झिरुबासको काउले डाँडाले साच्चिकै यहाँको जीवनस्तर नै परिवर्तन गरिदिएको छ । २ सय ४६ हेक्टर क्षेत्रमा फैलिएको अम्रिसोबाट झिरुबासको मात्रै नभएर सिंगो निस्दीकै पहिचान र गौरव बढाएको छ । गतवर्ष यहाँको कुचोबाट २ करोड बराबरको आम्दानी लिन सफल भएको र यसवर्ष पनि त्योभन्दा कम नहुने स्थानीय उपभोक्ता राम बहादुर पाटाले बताउनुभएको छ । पछिल्लो समय काउले डाँडामा घुम्न आउनेको संख्या दिनदिनै बढदै गएको छ । यहाँको अम्रिसोले यतिबेला सबैको ध्यान तानेको छ । यो स्थान जिल्ला सदरमुकाम तानसेनबाट करिब ८० किलोमिटर पुर्बमा पर्दछ । काउले डाँडा आम्दानीको स्रोत मात्रै नभएर आन्तरिक पर्यटनको मुख्य आकर्षण केन्द्र समेत बनेको छ । हिजोआज यस ठाउँमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । घुम्न आउने धेरैले इलामको चिया बगन जस्तै देखिने बताएका छन । काउले डाँडामा आएपछि अम्रिसोको संसार देख्न पाइन्छ । जतासुकै अम्रिसो नै अम्रिसोको घारीले ढाकेको छ । यहाँबाट उत्तरतिर हेर्दा माछापुच्छ्रे , धौलागिरी तथा अन्नपूर्ण हिम शृङखला देख्न पाइन्छ । दक्षिणमा तराईको समथर भुभागका साथै भारतको त्रिवेणी आसपासको क्षेत्रसम्म देख्न सकिन्छ । काउले डाँडा जाँदा बाटैमा पर्ने खादरको कुँडुले घर तथा आसपासको मगर बस्तीले समेत सबैको मन लोभ्याउने गरेको पाइन्छ । विशेषगरी दशैं तिहार र हिउँदको समयमा यहाँ घुम्न आउनेको भिडभाड हुने गर्दछ । घुम्नको लागि प्रायः नेपाल अधिराज्यका सबै जिल्लाबाट आउने गरेको स्थानीय वीर बहादुर पाटाले बताउनुभएको छ । छिमेकी जिल्ला तथा पालिकाहरुबाट दिनहुँ जसो आउने गर्दछ । शनिबार तथा बिदा परेको बेला एकै दिनमा दर्जनभन्दा बढी बसमा घुम्न र बनभोज खाना आउने गरिन्छ । यहाँ घुम्न आउनेहरुको लागि व्यवस्थापनको जिम्मा इन्द्रेणी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झिरुबासले लिएको छ । सहकारीले टिकट काटन र अन्य व्यवस्थापनको लागि कर्मचारी राखेको छ । यहाँ घुम्न आउँदा बसको १ हजार रुपैयाँ लिने गरिन्छ । जीपको ५ सय र मोटरसाइकलको ५० रुपैयाँ र प्रतिव्यक्ति २० रुपैयाँ टिकट शुल्क लिने गरिन्छ । निस्दीको मात्र नभएर जिल्लाकै पर्यटन क्षेत्रको आकर्षण केन्द्र काउले डाँडा पहिले नाङ्गो डाँडा थिए । बनमारा झाडी भित्र गाईबस्तु चरणका लागि प्रयोगमा थिए । विक्रम सम्बत २०६७ सालमा कबुलियती वन समूह दर्ता गरेर अम्रिसो लगाएको काउले डाँडा कबुलियती वन अन्तर समूहका अध्यक्ष दमन सिंह थापाले बताउनुभएको छ । शुरुमा १ सय १५ हेक्टर क्षेत्रमा २ सय १५ घरधुरी मिलेर अम्रिसो लगाएको अध्यक्ष थापाको भनाइ छ । हाल यो वन २ सय ४६ हेक्टरमा फैलिएको छ । झिरुबासका २ सय २७ घरधुरी आवद्ध रहेका छन । विभिन्न १८ वटा उप समूह मिलेर काम गर्दै आएको छ । पर्यटकको आकर्षण बढाउनको लागि मन्दिर तथा ठाउँ-ठाउँमा प्रतिक्षालय बनाएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा ५ सय जना क्षमता भएको सभाहल सहितको कुँडुले घर बनाएको छ । अम्रिसोले कालाे तथा बलाैटे माटाे रुचाउने भएकाेले मध्य पहाडी क्षेत्र बढि उपयुुक्त देखिने निस्दी सव डिभिजन बन कार्यालय मित्यालका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभएको छ । अम्रिसोबाट धेरै आम्दानी लिन समय-समयमा गाेडमेल गर्ने , मुना पलाउने समयमा मुसाबाट जोगाउन र मलकाे मात्रा पुर्ति गर्न नियन्त्रित आगाे लगाउदा राम्रो हुने अधिकारीको भनाइ छ । अम्रिसाे खेत बारीको छेउ छाउमा समेत हुने हुँदा याेसँगै अन्य कृषिजन्य बाली लगाउदा कृषकलाई दाेहाेराे फाईदा हुने गरिन्छ । यसबाट विशेषगरी कुचो बनाउन आवश्यक कच्चापदार्थ सँगै डाँठबाट कागज बनाउन प्रयोग गरिने अधिकारीले भन्नुभएको छ । साथै यसको घाँस गाईबस्तुलाई अति उपयोगी हुने गर्दछ । अम्रिसोको गुच्छे जरा हुने हुँदा माटो बग्न नदिई भु-संरक्षणको लागि समेत उपयुक्त हुने अधिकारीले बताउनुभएको छ । काउले डाँडाको आन्तरिक पर्यटन प्रवर्द्धनको लागि पालिकाले डीपीआर सहितको विशेष योजना अगाडि सरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभएको छ । काउले डाँडाले निस्दीको आन्तरिक पर्यटन प्रवर्द्धनमा मात्रै टेवा पुर्याएको छैन । यहाँको जीवनस्तर नै परिवर्तन गरिदिएको छ । आम्दानीको मुख्य स्रोत नै बनेको अध्यक्ष सारुको भनाइ छ । निस्दीको आन्तरिक स्रोतको आधार काउले डाँडाको अझ विकास र व्यवस्थापनको जरुरी देखिन्छ । आन्तरिक पर्यटन प्रवर्द्धनको हिसाबले समेत काउले डाँडालाई स्थानीय सरकार र अन्य निकायको पनि निरन्तर सहयोगको खाँचो देखिन्छ ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update