पाल्पा - निस्दी गाउँपालिका ५ गल्धा, गेझाका किसन बहादुर सारुले तरकारी खेतीबाट मात्रै वार्षिक ३ लाख कमाउनुहुन्छ । सारुले आफ्नो घर अगाडिको करिब ८ रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ।
विगत ५ वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएको सारुले २०७५ सालमा घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा किसान कृषि फर्म दर्ता गर्नुभएको हो। विहान उज्यालो भएदेखि आखाले देख्दसम्म माटोसंगै खेल्छु रमाउछु पूरै समय यहीँ तरकारी खेतीमै बिताउँछु सारुले भन्नुभयो, परम्परागत खेती छोडेर आधुनिक तरिकाले तरकारी खेती गर्दै आएको छु, यसैबाट घर खर्च कटाएर वार्षिक ३ लाख रुपैया शुद्ध बचत हुन्छ ।
सारुको करेसाबारीमा अहिले भेडे खुर्सानी छ। सारुले सिजन अनुसारका तरकारी बालीहरु टमाटर , काउली, बन्द, खुर्सानी, बोडी आदि लगाउदै आउनुभएको छ। उत्पादन गरेको तरकारी विक्रीको लागि पाल्पाको रामपुरमा पठाउने गर्नुभएको बताउनुभयो ।
अहिलेसम्म कुनै पनि तरकारी बजार नपाएर खेर गएको छैन बरु कहिलेकाही माग भए अनुसार पुर्याउन नसकेको बताउनुहुन्छ। सारु अहिले २९ वर्षको हुनुहुन्छ, सानै उमेरमै व्यावहारिक बन्दै आउनुभएको परिवारमा बुवा,सारुको श्रीमती र दुई छोरीहरु गरी ५ जनाको सुखी परिवार रहेका छन । सारुले आफ्नो श्रीमती चानी सरा सारुबाट धेरै राम्रो सहयोग पाएको बताउनुभयो । छोरीहरू सानै छन , बुबा बूढो हुनुभयो सबै काम हामी बुढाबुढी मिलेर गर्छौ भन्नुभयो।
सारुलाई कक्षा ८ पास गरेपछि आफन्तहरुले पैसा कमाउनको लागि विदेश जान सल्लाह दिएका थिए तर आफुलाई स्वादेशमै केही गर्ने मन भएकोले विदेश नगएको बताउनुभयो । त्यस बेला विदेश पसेको भए के हुन्थ्यो हुन्थेन अहिले परिवारसँगै बसेर तरकारी खेतीबाटै सन्तुष्टि भएको र भविष्यमा पनि यहीँ पेसालाई निरन्तरता दिने बताउनुभयो ।
अहिलेसम्म सारुलाई तरकारी खेती गर्नको लागि कृषि सेवा केन्द्र रामपुरबाट ६० हजार लिटर क्षमताको प्लास्टिक पोखरी र निस्दी गाउँपालिका कृषि शाखाबाट १ सय लिटरको ४ वटा ड्रम तथा केहि तरकारीको बीउ बाहेक अन्य सहयोग नपाएको तर कृषि शाखा प्राविधिकहरुबाट भने निरन्तर सुझाव सल्लाह पाएको बताउनुभयो।
पछिल्लो समयमा आफ्नो जग्गा जमिन बाँझो राखेर पैसा कमाउनको लागि विदेशिनेहरुको लर्को बढदो छ। पैसाको लागि विदेशकै मुख ताक्नेहरुको लागि गतिलो उदाहरण बन्नुभएको छ सारु। आखिर गरे के नहुने रहेछ र, अब हामीले पनि सारुबाट केही सिक्ने कि !