माया ! कस्तो अमुल्य अनि अनौठो रहेछ माया ! मागेर नपाइने , चाहेर नपाइने अनि जतिसुकै बिलौना गरेनी नपाइने । आखिर कसले पाएको छ त माया ? के आफुले चाहेको र रोजेको माया सबैले पाएका छन त ? अहिलेका वैवाहिक जीवनमा बाँधिने प्रायः धेरै दम्पतीको अन्जन र अन्योलमै विवाह भएको हुनुपर्छ । सायद तपाईंको पनि अन्जनमै विवाह भएको थियोे होला । यदि वैवाहिक जीवनमा बाँधिएको छैन भनेपनी पहिलो प्रेम सम्बन्ध खलबल भएको होला । यस्तै अधुरो प्रेम कहानी , मनभित्रको उकुसमुकुस म तपाईं समु बिसाउन अनुमति चाहन्छु ।
एउटा गरिब र सोझो परिवारमा जन्मेको मान्छे म , अति सम्पन्न परिवारमा जन्मेकी चमेलीसँग प्रेम गर्न पुगेछु। चमेली सँधै चिटिक्क अनि जुन जस्तै धपक्क बलेकी अनुहार लिएर हिँडने गर्थिन। म सिकुटे अनि निन्याउरो मुख लिएर । चमेलीलाई प्रेम गर्ने हैसियत त मेरो पटक्कै थिएन । तर माया प्रेममा जातभात , धनी गरिब , कालो , गोरो हुँदैन भन्ने सुनेर अगाडि सरेको थिएँ म । त्यसताका प्रेम गर्न अहिलेजस्तो सजिलो पनि कहाँ थियोे र । न त अहिले जस्तो मोबाइलको सुबिधा थियोे , न त सामाजिक सञ्जाल अनि गाडीको सुबिधा नै ।
कसैलाई मन पराएको सूचना पुर्याउनु थियो भने प्रेम पत्र कोर्नु पर्थ्यो । मैलेपनी चमेलीलाई मन पराएको सूचना पुर्याउनु थियो , चमेलीको नाममा एउटा पत्र कोरेर पठाएँ । केहीदिन पछि चमेलीको पत्र पाएँ , हतारहतारमा खोली हेरेँ । पहिलो पत्रमा चमेलीले पनि राम्रै कुरा गरेकी थिइन । तर हाम्रो यो सम्बन्ध तीन वर्षमै सीमित रहन पुग्यो । चमेली र मेरो प्रेम सम्बन्ध भएको उनको परिवारले थाहा पाएछन । त्यस्तो केटासँग विवाह गरेर के खान्छौं , के लाउछौं जस्ता जतिसक्दो मलाई घटिया बनाएर भन्नुसम्म भनेछन । त्यसबेला ममा केही हिम्मत आएन । जबर्जस्त चमेलीलाई भगाएको भए उनको परिवारले स्वीकार्न बाध्य हुन्थ्यो या अरु नै घटना हुन्थ्यो । केहीदिन पछि हैसियत मिल्ने परिवारको केटो खोजी चमेलीको बिहे गरिदिए छन । मैले बदलामा केहि गर्न सकिन । आफ्नो कर्मलाई दोष दिनु शिवाय अरु के नै गर्न सकिन्थे र ! दिनहरू बिस्तारै ढल्किदै गए , चमेलीको पनि वैवाहिक जीवन सुखसायलमै बितेका थिए । मेरो पनि आफ्नै तरिकाले जीवन वितिरहेको थियो । चमेली पाँच सन्तानका आमा बनिन र म एउटा सन्तानको बुबा ।
यसरी चमेलीको विवाह भएको पन्ध्र वर्षपछि गाउँको एउटा मेलामा हाम्रो भेट भयो । चमेली माइत आएको बेला मेला हेर्न भनेर आएकी रहेछिन । अरु कसैको प्रवाह नगरी हामी पन्ध्र वर्ष सम्मको गथासो सुन्न र सुनाउनमै तल्लीन भएछौँ । चमेलीले सासै नफेरी एकोहोरो आफ्नो मात्रै कुरा सुनाइरहिन । कुरा सुनाउदा सुनाउदै कहिले गालाभरी आँसु बगाउँथिन , त कहिले बनावटी हाँसो देखाउथिन , पुरै समय चमेलीले लिइन । मैले मेरो केही सुनाउनै पाइन । चमेलीले आफ्नो कुरा सुनाइरहँदा मलाई पटकपटक चमेलीको पाउदेखी शिरसम्म नियाल्ने मौका मिलिरहेको थियोे । तर चमेलीमा हुनेखाने र खानदानी परिवारको बुहारी जस्तो पटक्कै देखिन । नाक , कान पुरै बुच्चैथिए अनि लुंगी र चोलो लगाएकी चमेली , हाटमा तीन चार वर्षकी छोरीलाई समाउदै कुनै एउटा सभामा ठुलाबाडाले भाषण फरे झै एकोहोरो आफ्नो कुरा सुनाइरहेकी थिईन । कुरा सुनाउँदा सुनाउँदै चमेलीले हामी कुन ठाउँमा छौँ भन्ने कुरा बिर्सेकी जस्तो लागेर मैले उनलाई अन्त मोडन प्रयास गरेँ । तर मेरो कुरा सकिएको छैन , अब हाम्रो भेट हुने होकि होइन मलाई मेरो पूरा कुरा सुनाउन देउ भनिन म पुनः उनको कुरा सुन्न तत्पर भएँ ।
चमेलीको कथा भन्दा धेरै व्यथा रहेछ । मैले जसरी सोचेको थिएँ , चमेलीको जीवन त्यसरी बितेको पाइन । चमेलीको जीवन ज्यादै कष्टपुर्ण तरिकाले बितेको रहेछ । छोरो नपाएको निहुँमा चमेलीलाई लोग्नेले संधै यातना दिँदो रहेछ । छोराको आस गर्दागर्दै पाँच छोरीका आमा बनेकी चमेली कहिले सुखसँग बस्न नपाएको चमेलीले बताइन । लोग्नेको प्रायः बाहिर मात्रै बास हुने र सौता ल्याउने धम्कीले आजित भएको चमेलीले सुनाइन । जेठी र माइली छोरीको विवाह गर्ने उमेर नजिकिदै आएको चमेलीले बताइन । न त राम्रोसँग पढाउन न सके न त केही सीप सिकाउन । लोग्नेको घीनलाग्दो व्यवहारले जिन्दगी औंसीको रात झै बिताउदै आएको चमेलीले बताइन ।
चमेलीको बिलौना सुन्दासुन्दै मेलाको केही अवलोकन गर्न पाएन । साँझ परिसकेको थियोे , सबैजसो मेलाबाट घर फर्किने तरखरमा देखिन्थे । नजिकैको पसलमा गएर केही गठरी चमेलीको हातमा दिई म पनि मेला स्थलबाट घरतिर लागे । त्यसदिन देखि अहिलेसम्म मलाई एउटामात्र कुराले पिरोलीरहेको छ - छोरी जन्माउनुमा किन महिलाको मात्रै दोषी देख्छ यो समाजले !?
* प्रस्तुत लघुकथा - गठरी ! कल्पनामा डुबेर लेखेको हुँ , यदि कसैको जीवनसँग मेल खान गएमा संयोग मात्रै हुनेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ ०८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय