धनबहादुर ठाडा, पाल्पा - हिजोआज गाउँघरमा पुराना संस्कृति र परम्परा मात्रै होइन, स्थानीय प्रविधि समेत लोप हुँदै गएको छ । गाउँघरमा उत्पादन भएको डोको, ढिंकी, जाँटो जस्ता स्थानीय प्रविधि कमै मात्रामा प्रयोग भएको देखिन्छ । भारी बोक्ने सबैभन्दा सजिलो र भरपर्दो साधन डोको लोप हुँदै गएको छ । तर निस्दी गाउँपालिका - ३, झिरुबास, खादरका स्थानीय बासिन्दाले भने डोको बुनेरै गुजारा चलाउदै आउनुभएकाे छ ।
झिरुबास, खादरका मान्छेहरु धेरै मिहिनेती र इमानदारी छन । यहाँका मान्छेहरु जुनसुकै बेला पनि व्यस्त देखिन्छन । हानी जुन बेला गएपनी यहाँका बुढापाकाहरु आगनमा डोको बुनेर बसेको भेटिन्छ । खादर गाउँमा जम्मा ७६ घरधुरी छन । प्रायः सबै घरका मानिसले डोको बुनेकै हुन्छ । यहाँबाट उत्पादन भएको डोको नवलपुर जिल्लाको अरुणखोला, चोरमारा तथा पाल्पाको रामपुरमा लागेर बिक्री गर्ने गरेको स्थानीय ओमलाल थापामगरले बताउनुभएको छ ।
डोको निगलो र बाँसको चोयाबाट तयार परिन्छ । पहिला - पहिला डोको घाँस दाउरा गर्न मात्रै होइन, विशेषगरी भारी बोक्ने साधनको रूपमा प्रयोग गरेको देखिन्थे । मगर समुदायमा भएको बिहे भोजभतेरमा पाहुर बोक्न प्रयोग गरिन्थ्यो । तर हिजोआज डोकोको प्रयोग कमै मात्रामा भएको देखिन्छ ।
आफुले बुनेको डोको ३ सय देखि ५ सय सम्ममा बिक्री हुने गरेको ८६ वर्षीय खेमन सिं बयम्बुले बताउनुभएको छ । पहिले एक दिनमा तीन वटासम्म डोको बुनेर सकिन्थ्यो तर अहिले एउटा डोको बुन्न दुई दिन लाग्ने बयम्बुले बताउनुभएको छ । आँखाले राम्रोसँग देखिन्न , हात चाल्दैन मनले मात्रै खोजेर नसकिने रहेछ बयम्बुले भन्नुभएको छ । जमानामा दस बाह्र वटा डोको बोकी मधेसमा झरेर अन्नसँग साटेको कथा सुनाउनुहुँदै अहिले धेरै सजिलो भएको बताउनुभएको छ । आजभन्दा ५० वर्ष अगाडि एउटा डोको तीन मोहोरमा बेचेको सुनाउनुहुँदै अनिकालमा चार वटा डोको २ पाथी धानमा समेत साटेको बयम्बुले बताउनुभएको छ । हिजोआज जतिवटा बुनेपनि पहिला जस्तो बजारको समस्या नभएको बताउनुहुँदै घरमै गाडी आएर लैजाने गरेको बयम्बुले बताउनुभएको छ ।
यहाँ उत्पादन भएको डोकोले उचित मुल्य पाएको देखिन्न । मेहनत र श्रम अनुसारको मुल्य पाएको छैन । तर पनि यहाँका मान्छेहरुले डोको बुन्न भने छाडेका छैनन । डोको बुनेरै बुढो भएको हुँ , आँखाले देखुन्जेल र हातखुट्टा चाल्दासम्म डोको बुन्न नछाडने ७३ वर्षीय हरिलाल बयम्बुले बताउनुभएको छ । हाम्रो पालामा अहिलेजस्तो सजिलो थिएन , पैसा कमाउने थलो नै हुन्थेन , डोको बुनेरै जीवन निर्वाह गर्नुपरेको बयम्बुले बताउनुभएको छ । हिजोआज त सजिलोसँग गुजारा चलाउन सकिन्छ , जाँगर र सीप भएको मान्छेले पेट पाल्न सकिने बयम्बुले बताउनुभएको छ ।
सीप र जाँगर भएको मान्छेलाई डोको बुन्न त्यति गाह्रो काम चाहिँ होइन । दौडधुप, उकालो ओरालो गर्नुपर्ने पनि होइन । तर समय र मिहिनेतको भने उत्तिकै खाँचो पर्दछ । खाली समयमा यत्तिकै बस्न सकिन्न, डोको बुन्न थाल्छु - नरबहादुर ढेंगाले भन्नुभएको छ । जाँगर लगाउने हो भने एकदिनमा ३ वटासम्म डोको बुन्न सकिने ढेंगाले बताउनुभएको छ । यहाँका मान्छेहरु प्रायः सबैले डोको बुन्ने गरेको र बेच्नलाई कहिलेकाहीँ मधेसमा पनि झर्ने गर्छौं ढेंगाले भन्नुभएको छ ।
झिरुबासमा खादरकाले मात्रै होइन अन्यत्र गाउँ टोलका बासिन्दाले पनि डोको बुन्ने गरिन्छ । यहाँका मान्छेहरुको मुख्य पेसा कृषि नै हो । यो क्षेत्र अम्लिसो र अलैंचीमा पनि धेरै अगाडि देखिन्छ । तर खादरको डोकोले छुट्टै पहिचान बनाएको छ । साच्चिकै झिरुबासलाई चिनाउने माध्यम काउले डाँडा पछि खादरको कुँडुले घर र डोको रहेको देखिन्छ । मुलुकमा संघीयता लागू भएपछि स्थानीय तहमा प्रशस्त बजेट आउने गर्दछ । तर ति बजेटले भौतिक पूर्वाधारको विकासमा बढी प्राथमिकता पाएको देखिन्छ । यदि स्थानीय सरकारले चाहेको खण्डमा यि र यस्ता क्षेत्रमा पनि बजेट छुट्याएर यिनीहरूको संरक्षण, सम्बर्द्धनसँगै निर्माण र प्रयोगमा जोड दिन सकिन्छ ।
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९ १०:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय