Erani Mahal
विकास र परिवर्तनको नाममा पुरानो काेल विस्थापित हुँदै !
kol
पाल्पा - आजभोलि गाउँघरमा कोहोल प्रायः कमै मात्र देख्न पाइन्छ । नयाँ निर्माण गर्नु त धेरै टाढाको कुरा रह्याे, पुरानोलाई पनि खासै वास्ता गरेको देखिन्न । तर हाम्रा पुर्खाले भने त्यहीँ कोहोलमा पेलेको तोरीको तेल प्रयोग गरेको बताउनुहुन्छ । विकास र परिवर्तनको नाममा हाम्रा पुरानो संस्कृति अनि परम्परा बिस्तारै लोप हुँदै गएको छ । पहिलाका हाम्रा पुर्खाहरु कन्दमूल खाने, खालि खुट्टा हिँडने, कोहोलमा पेलेको तेल खाने गरेको बुढापाकाहरु बताउनुहुन्छ । तर हिजोआज भने ति संस्कृति अनि परम्परा बिस्तारै लोप हुँदै गएको छ । पहिला - पहिला प्रायः गाउँ अनि भञ्ज्याङमा कोहोल हुन्थ्यो । तोरी त त्यहीँ हो, चिउरीको बियाँ पेलेर तेल निकाल्ने गरेकोसम्म अहिलेका सन्ततिले देख्न पाएका छन । तर यो पनि बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । विकासको नाममा भौतिक संरचना निर्माण गर्दा धेरै कोहोल हटाएको देखिन्छ । सडक, विद्यालय भवन, खेल मैदान जस्ता भौतिक निर्माणको स्थापितले धेरै ठाउँको कोहोल विस्थापित भएको छ । कोहोल निर्माणको लागि धेरै ठुलो अनि बूढो रुख चाहिन्छ । रुखको मुढालाई गोलो आकारमा कुँदेर कोहोलको मुल भाग तयार परिन्छ । अन्य उपकरण तथा भागहरु पनि सबै काठबाटै तयार गरिन्छ । निस्दी गाउँपालिका - ४ , मित्यालको कोहोल भञ्ज्याङमा सबै गाउँलेहरु मिलेर निर्माण गरेको कोहोल , गाउँको विद्यालयमा नयाँ भवन निर्माण गर्दा हटाइएको स्थानीय डिल बहादुर रासले बताउनुभएको छ । हामी बच्चा हुँदा त्यस्तै देखेको कोहोलमा तोरी पेलेको सुनाउनु हुँदै रासले यस्ता पुराना - पुराना थुप्रै संस्कृति र परम्परा हराउँदै गएको बताउनुभएको छ । हामी त्यहीँ कोहोलमा पेलेको तोरीको तेल खाएरै हुर्केको हौँ , अहिलेका केटाकेटीलाई सुनाउदा लोककथा सुनाए झै लाग्छ होला । पहिला - पहिला अहिलेको जस्तो मिल थिएन तेल खाने हो भने कोहोलमै पेल्नु पर्थ्यो रासले बताउनुभएको छ । यस्ता पुराना संस्कृति र परम्पराले हाम्रो मौलिक पहिचान झल्काउने गरिन्छ । यिनीहरूको संरक्षण तथा सम्बर्द्धन गर्नु हाम्रो कर्तव्य हो । यो हाम्रो संस्कृति हो , सम्पत्ति हो , यसले हाम्रो अस्तित्व जोगाउने गर्छ । यहीँ परम्परा र संस्कृति टिकाउको लागि अहिलेसम्म आफ्नो गाउँको कोहोललाई जोगाइराखेको झिरुबासका प्रेम कुमार सोतीले बताउनुभएको छ । हिजोआज धेरै ठाउँबाट चिउरी पेल्नको लागि यहाँ आउने गर्दछन , सोतीले भन्नुभएको छ । हामीले हाम्रो गाउँको लागि मात्रै नभएर सबैले फाइदा लिओस भनेर राखेको हो । बेला मौकामा कोहोल घुमाएको देख्दा भित्री मनबाटै खुसी लागेर आउँछ सोतीले भन्नुभएको छ । कोहोलमा चिउरीको बियाँ पेलेर टेल निकाल्ने गरिन्छ । साउन , भदौ महिनामा आफ्नो निजी बन तथा जंगलमा झरेको चिउरीको बियाँ खोज्ने गरिन्छ । बियाँलाई तीन चार दिन राम्रोसँग घाममा सुकाउनु पर्दछ । सुकेको बियाँलाई ढिकीमा कुटेर मसिनो गरि फुलो बनाएपछि पेल्नको लागि कोहोलमा लिएर जाने गर्दछ । गाउँका चार पाँच घर मिलेर घाम लागेको बेला कोहोलमा जाने चलन रहेको देखिन्छ । आइमाई मान्छेले फुलोलाई माटोको भाँडामा उसिन्ने गर्दछ , उसिनेको फुलोलाई कोहोलमा राखेपछि केहीबेर पाँच , छ जनाले घुमाएर तेल निकाल्ने गरिन्छ । यसरी तयार भएको चिउरीको तेल ( घिउ ) रोटी पोल्न , मकै भटमास भुटन र कोही कसैले तरकारी पकाउदा समेत प्रयोग गरिन्छ । तेल निकालेपछिको पिना कृषकले बारीमा मलको रूपमा प्रयोग गर्नुका साथै चुलोमा आगो बाल्न समेत प्रयोग गरिन्छ । साथै खोलामा माछा मर्नको लागि पनि प्रयोग गरेको देखिन्छ । चिउरीको बोट बाहुउपयोगी विरुवा हो । चिउरीको घाँस गाईबस्तुलाई धेरै पोसिलो मानिन्छ । गाउँघरमा विभिन्न भोजभतेर तथा बिबाहमा चिउरीको पाटबाट दुना टपरी बनाएर प्रयोग गर्ने गर्दछ । चिउरीले विशेषगरी तेल , घाँसपात र भूसंरक्षण गर्ने निस्दी सव डिभिजन वन कार्यालयका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभएको छ । यसको विस्तार र संरक्षण गर्न विभिन्न सामुदायिक वनमार्फत चिउरीको बिरुवा लगाउदै आएको अधिकारीले बताउनुभएको छ । नेपाल कला र संस्कृतिमा धनी मुलुक हो । पुराना परम्परागत संस्कृति शहरको तुलनामा गाउँमा अलि भिन्न देखिन्छ । कोहोल लोप हुनु एउटा उदाहरण मात्रै हो । पछिल्लो समय यि र यस्ता थुप्रै संस्कृति हराउँदै गएको छ । यस्ता संस्कृति बुढापाकाबाट नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । मुलुकमा संघीयता लागू भएपछि गाउँ - गाउँमा प्रशस्त मात्रामा बजेट आउने गर्दछ । तर यस्तो खालको क्षेत्रमा बजेटले कम प्राथमिकता पाएको अनुभूति महसुस गर्न सकिन्छ । पुराना कला र संस्कृतिको संरक्षण तथा सम्बर्द्धनको लागि हरेक निकायको ध्यान जान जरुरी देखिन्छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update