धनबहादुर ठाडा,पाल्पा - निस्दी गाउँपालिका - ४ , मित्यालको , लामेदमारमा पैसा बुझाएको १५ वर्षपछि बिजुली बलेको छ । लामेदमार ट्रान्समिटर अन्तर्गत सोमबार यहाँको ५५ घरमा बत्ती बलेको हो ।
बिजुली बल्न भनेर यहाँका स्थानीय बासिन्दाले आजभन्दा करिब १५ वर्ष अगाडि पैसा बुझाएको थियोे । अब त बत्ती बलेको देख्ने आश मरिसकेको थिएँ , तर अहिले सपना झै लागेको छ स्थानीय लिल बहादुर आलेले भन्नुभएको छ । लामो समयको पर्खाइमा बत्ती बल्न पाएपछि धेरै ठूलो राहत महशुस गर्नुका साथै स्थानीयहरु खुशी भएको जीवन ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र सिंह आलेले बताउनुभएको छ । लामेदमार ट्रान्समिटर अन्तर्गत यहाँको लामेदमार , बेलखरक , गोठडाँडा , खोर्मोक , रिपाहा , पोखरादहर , थोक्सिबास गाउँका करिब १ सय घरमा बत्ती बल्नुपर्नेमा केही टोलमा वयरिङको काम नसकेकोले एकै चरणमा बत्ती बल्न नपाएको कार्यपालिका सदस्य हेम कुमारी सुनारीले बताउनुभएको छ ।
सामुदायिक विधुतिकरण लामेदमार ट्रान्समिटरको उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बत्ती बल्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिनुभएको छ । साथै सारुले निस्दीमा विद्युतको काम कछुवाको गतिमा भएको स्वीकार्नु हुँदै सबैको सहयोग र सहकार्यको निरन्तर खाँचो रहने बताउनुभएको छ ।
निस्दीमा सामुदायिक विद्युतीकरणको काम ढिलो भएकोमा यहाँका युवाहरूले सामाजिक सञ्जाल मार्फत व्यापक खबरदारी गरेको देखिन्छ । तर निस्दीका जनताहरु भने अझैसम्म टुकीकै सहारामा कष्टकर जीवन बिताउन बाध्य छन ।
यहाँको ५ वटा वडामा विद्युत बल्ने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्था गल्धाले लिएको छ । निस्दीको कतिपय ठाउँमा आजभन्दा ४ वर्ष अगाडि बत्ती बलिसकेको छ । भने कति ठाउँमा लाइन त धेरै परको कुरा रह्यो खम्बा समेत पुर्याउन सकेको छैन । निस्दीको ७ वटा वडामध्ये १ र २ मा सामुदायिक विद्युतीकरणले नसमेटिएको र बाँकी ५ वटा वडामा यसको काम भइरहेको सहकारी संस्थाका अध्यक्ष दुर्गा बहादुर सोमईले बताउनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९ १०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय