पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,रनगुवामा पहिलो पटक बिजुली बत्ती बलेको छ । विगत लामो समय देखि बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीको रनगुवा गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीय खुशी भएका छन् । सामुदायिक बिद्धुतका लागि पैसा बुझाएको धेरै वर्ष हुँदा समेत बत्ती नपुग्दा निराश भएका स्थानीय जनता अहिले भने उत्साहित भएका हुन् । साविक अर्चले गाउँ बिकास समितिको अन्य वडाहरुमा यसअघि बिजुली बत्ती उपभोग गरेपनि यो वडा छुटेको थियो ।
जम्मा ३७ घरपरिवार रहेको उक्त ठाउँको उद्घाटन कार्यक्रममा बोल्नु हुँदै मुख्य पाहुना गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीयको मेहनत,साथ र सहयोगले बिजुली बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिनुभएको थियो । स्थानीय बासिन्दाको एकता भएमा बिकासका काममा सफलता मिल्ने भन्दै आफुले सधै सकारात्मक सुझाबको अपेक्षा राखेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले निस्दीलाई विद्धुतलाई प्राथमिकताका साथ कार्यक्रम सन्चालन गरिने योजना रहेको बताउनुभयो । यसैगरी वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष तथा प्रवक्ता मेख बहादुर सुनारीले निस्दीमा बिजुली बत्तीको बिस्तारमा भएको ढिलाई बारे सम्बन्धित निकाय प्रति ध्यानाकर्षण गरेको भन्दै ठेकेदारलाई जिम्मेवार बनाउन सबैको खबरदारी हुनुपर्ने बताउनुभयो ।
बिजुली बत्ती आएपछि विद्यार्थीहरुलाई पढ्न,रेडियो सुन्न र टिभी हेर्नका लागि सजिलो हुने र टुकीको भरमा बस्नु नपर्ने स्थानीय शिक्षक हेम बहादुर बयम्बुले बताउनु भएको छ । रनगुवा लोड सेन्टर उपभोक्ता समितिका अध्यक्ष लाल बहादुर बयम्बुको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन सचिब लिलाराम राईले गर्नुभएको हो ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९ १९:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय