-राम बहादुर गरंजा (एसकुमार)
यतिखेर हाम्रो देश नेपालमा बसन्त ऋतुसँगै चुनावी सारगर्मी बढेको छ । २०७९ बैशाख ३० गतेको लागि स्थानीय चुनावको मिति घोषणा भएसँगै चुनावी माहोल तातेको हो । एकातिर सत्ता गठबन्धन र अर्कोतिर विपक्षी गठबन्धनको चुनावी भिडन्त हुँदैन । अझ रोचक र रमाईलो कुरा त के छ भने दुई ठुला वामपन्थी दल एमाले राप्रपासँग र माओवादी केन्द्र कांग्रेससँग मिलेर चुनावमा जादैछन् । अर्कोतिर विप्लब नेतृत्वको नेकपा पनि स्वतन्त्रको नामबाट चुनावमा भाग लिदैछ । जसले यो व्यबस्थाको कडा विरोध गरेको थियो । त्यस्तैगरि संघीयताको विरोध गर्ने दल राष्ट्रिय जनमोर्चा र गणतन्त्रको विरोध गर्ने दल राप्रपा पनि चुनावमा होमिदैछन् ।
गाउँघरका पाखापखेरा, बनजङ्गल, कुवा पधेरा, चिया पसल देखि लिएर सपिङ मल र शहर बजारका गल्ली-गल्ली र चोक-चोकमा चुनावी गफहरु बढेका छन् । स्वभाविक रुपमा यो सकारात्मक पक्ष र खुशीको कुरा पनि हो । सबै राजनैतिक दलहरु निर्वाचनको लागि आ-आफ्ना धारणा, प्रतिवद्धता र घोषणापत्र लिएर जनताको घर आगनमा दौडधुप बढाएका छन् । यस निर्वाचनबाट आगामी ५ वर्षको लागि जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् ।
कैयौ नेता कार्यकर्ताहरु आफ्नै बाउको सम्पत्ति दिनेजस्तै गरि फेरि बाटो-घाटो, पुलपुलेसा, पार्टीपौवा, खानेपानी, बिजुली, युवा स्वरोजगार, कृषि, पशुपालन लगायतका गुलिया आश्वासन लिएर गाउँ घर टोल छिमेकमा ललिपप बाड्न व्यस्त देखिन्छन् । कैयौं नेताहरुको आफ्नो ब्यापार, व्यवसाय, ठेक्कापट्टाको लागि शहर केन्द्रित बसोवास छ । स्थानीय जनसरोकारका विषयमा भूमिकाविहिन व्यक्ति चुनावको बेलामा टिकट लिएर गाउँ घुम्दैछन् ।
कतिपय स्थानीय नेताहरु टिकट प्राप्त गर्नको लागि जिल्ला, प्रदेश हुँदै केन्द्रिय नेतृत्वसँग हार गुहार र विन्तिपत्र चढाउँदै छन् भने टिकट प्राप्तिमा प्रसेन्ट दिने र जितेपछी नेताको गुलाम बन्ने प्रतिवद्धता समेत गरेका छन् । एकाध पात्र बाहेक फेरिपनि नेताका आसेपासे, द्बारे, चम्चे, गणेश, चाप्लुसे, खुरापाती, चाकरी, ढोगी र लुटेराहरुले टिकट पाउदैछन् । पार्टीमा फरक विचार राख्ने, नेतृत्वको आलोचना गर्ने र सुझाव दिनेहरुले कही कतैपनि ठाउँ पाउँदैनन् ।
कस्तो विडम्वना ! पार्टीमा सिद्धान्त, संगठन, विचार, आस्था र अस्तित्व एउटाले बचाइदिनुपर्ने त्यसको फाइदा पैसावाला र अर्को दलबाट आएकालाई चाहिने । यतिसम्म कि नमस्कार, लालसलाम र जय नेपाल पनि राम्रोसँग गर्न नजान्ने, जनता त धेरै टाढाँको कुरा कार्यकर्ताले समेत नचिनेका मान्छे उम्मेदवार हुँदैछन् । कोहीलाई भने फाइदै फाइदा छ, जता गएपनि पदैपदको ओइरो छ । पार्टीको सबै तह तप्काको नेतृत्व पनि चाहिने, सत्तामा वडा सदस्य देखि लिएर अध्यक्ष हुँदै सांसद, मन्त्री मात्र नभएर राजनैतिक नियुक्तिमा सके आफू नसके आफ्ना परिवार र त्यो पनि नभए आफूले भनेको मान्छे हुनुपर्ने अवस्था छ । फेरिपनि चित्त नबुझेर पार्टी छाड्ने धम्की ? इमान्दारले सधै त्याग गर्नुपर्ने ? अनि तिनैले अवसर नपाएपछी पार्टी परिवर्तन गरिरहेका छन् । यसरी आफू अनुकुल फाइदाको लागि दल फेरबदल गर्ने संस्कार नै छ यहाँ । यसरी चुनावको बेलामा पार्टी परिवर्तन गर्नेले कहिल्यै जनताको पक्षमा काम गर्दैन ।
हुन त शुरुदेखि नै नेपाली राजनीतिमा कथित अभिजात्य वर्गको प्रभाव छ । नेपालको आधुनिक राजनीतिक इतिहास नै यस्तो समयबाट शुरु भयो, जतिबेला घरानियाहरु मात्र राजनीति गर्ने । राजनीतिको मुख्य धेय राज्यको चरित्र बदल्नु हो तर हाम्रो राजनीति राज्यको स्वरुपमा अल्झिएको छ । हाम्रो राजनीतिले इतिहासबाट पाएको बैचारिक जड्ता र सत्तामुखी चरित्र फेर्न सकेन । व्यबस्था फेरियो तर अवस्था फेरिएन । राजनीति फेरियो तर राजनीति संस्कृति फेरिएन । हरेक आन्दोलनले शासकहरु त फेर्यो तर देश र जनताको जीवन फेरिएन । हामी उही नबुझिने दर्शन, अन्तहिन बिद्रोह र फोस्रा नारामा जीवनको सुन्दरता र अनमोल क्षणहरु फगतमा गुमाइरहेका छौं ।
जीन्दगी आखिर सपनाहरुको बजार रहेछ मोल तिर्नेले सपना किन्यो, नतिर्ने गरिबका लागि सपना तिर्सना मात्र रहेछ । हाम्रो समस्या ! हामीसँग राष्ट्रबादी नेताहरु भएनन् । राजनीतिकका व्यापारीहरु मात्र भए । समय धेरै अगाडि बढ्यो तर हाम्रो चिन्तन र नियती उस्तै छ । उता चुनाव धेरै महङ्गो हुँदै गइरहेको छ । त्यसैले इमान्दार, सामाजिक चिन्तन भएका, पार्टीमा योगदान, क्रियाशिलता, मिशन र भिजन भएका, त्यागी र जनताको वास्तविक सिपाहीहरु मैदानमा भिड्नको लागि कल्पना गर्नसम्म नसकिने परिस्थिति सिर्जना हुनु खेदजनक छ । त्यही भएर पनि होला शायद वामपन्थी दलहरुले पनि सर्वहारा वर्ग, शोषित पिडित (हिजो जसको मुद्धा उठाएका थिए) भन्दा धेरै पैसा लगानी गर्नेहरु, ठेकेदार, दलाल, भूमाफिया, हुकुम्वासी, भ्रष्ट्राचारी, जिम्माल, प्रधानपञ्च र पूजिपती खोज्दैछन् ।
लाखौ रुपैयामा टिकट खरिद गरी चुनाव लडेका उम्मेदवारले जितेपछि विकासको मूल फुटाउने अपेक्षा गर्नु मूर्खता शिवाय अरु केही छैन । यिनीहरु विकास निर्माण होइन विनाशतिर भने पक्का लाग्नेछन् । चुनावको बेलामा मात्रै गाउँघर, दूरदराजका बस्ती र गरिबीको चपेटामा परेका नागरिकसँग भलाकुसारी गर्ने, सन्चो, विसन्चो र हालखबर सोध्ने, सयौं पटक नमस्कार गर्ने अनि लम्पसार पर्ने त्यतिमात्र होइन उनिहरुसँग सेल्फी खिचेर वाइघात कुरा लेखी सामाजिक सञ्जालमा अपलोड गरि नाटक गर्ने जस्ता क्रियाकलाप यो बेला धेरै हुनेछ यसको सशक्त प्रतिबाद गरौं । असामाजिक र अस्वस्थ प्रतिस्पर्धा गर्ने उम्मेदवारलाई पराजित गर्नुपर्छ ।
चुनाव आउदै गर्दा हिजोका हाम्रा जनप्रतिनिधिको पनि कार्यसम्पादन, मूल्याङकन र समिक्षा हुनुपर्छ । स्थानीय सरकारका जनप्रतिनिधिले पारिवारिक एवं अविभावकत्वको भूमिका बहन गर्नुपर्ने हुन्छ । त्यो जिम्मेवारी हिजो पुरा भएन त्यसैले सोच्नुपर्ने बेला आएको छ । देश, जनता र समाजको गुलाम बन्नुपर्छ नकी नेतृत्वको । वास्तवमा नेता तथा उम्मेदवार पार्टी सदस्य, कार्यकर्ता, भोटर र जनताप्रति उत्तरदायी प्रणाली आजको आवश्यकता हो । चुनावमा टुरिष्ट नेता, ठेकेदार नेता, दास नेता, धुन्धुकारी नेता, छेपारे नेता, एक्पायर नेता र भष्ट्रचारी नेतालाई देशभक्त र स्वाभिमानी जनताले छातीमा हात राखेर बहिस्कार गर्नुपर्छ ।
तर हामी कार्यकर्ता र मतदाताहरु फेरी एजेण्डाविहिन राजनैतिक स्वार्थले भरिपूर्ण पदलोलुपहरुको सामु नतमस्तक भई आफै जनप्रतिनिधी आफै ठेकेदार, भ्रष्ट्राचारी, दलाल माफियाहरुलाई जिताउने अभियानमा सरिक भयौ भने हामी र हाम्रो समाज रुपान्तरण हुँदैन । आपतविपतको कठिनाइमा जनताको सारथी हुने, सबै क्षेत्रको अपनत्व हुनेगरि योजना निर्माण र रकम बितरण गर्ने, तार्किक निर्णय गर्नेसक्ने, बौद्धिक, सामाजिक, दूरगामी भिजन भएका र निस्वार्थी व्यक्तिलाई जिताएर पठाउन सक्यौ भने निश्चित रुपमा हाम्रो गाउशहर नमूनाको रुपमा विकसित हुनेछ ।
र गाउँघरमा सिंहदरवारको सपना साकार भएको अनुभूत हुनेछ । पार्टी हेर्दा विचार, निति, योजना र एजेण्डा हेर्नुपर्छ र व्यक्ति हेर्दा नैतिकता नबेचेको, राम्रो र सक्षम हेरी आफ्नो अमूल्य मतदान गरौं । हामी कार्यकर्ता र जनता पनि बडो अचम्मका छौ । अरुबेला नेताहरुले काम गरेनन्, नेताले देश बिगारे भनेर गाली गर्छौं, सराप्छौं तर चुनाव आउँदा सबैभन्दा अगाडि मेरो पार्टी र तेरो पार्टी भन्दै लाग्छौं ।
एक छाक मासु र भात, एकदुई बोत्तल रक्सिमा किनबेच हुने, आफ्नो अस्तित्व बेच्ने, निशुल्क भोजभतेरमा रमाउने अनि सही र गलत के हो नबुझी नेताले भनेपछि तलुवा चाट्ने भयौं । स्वाभिमानी नेपालीहरुले यसरी गुन्द्रुकको भाउमा आफ्नो बहुमूल्य मतलाई बिक्रि बितरण गर्नु भनेको भावी सन्ततिको लागि भविश्यसँग खेलवाड गर्नु हो । सबै हन्ड्रेड प्रसेन्ट राम्रा र दुधले नुहाएका त छैनन् ।
तुलनात्मक हिसावले घटी र बढी हुन्छ त्यसैले सही तरिकाले मापन गरेर आफ्नो मत जाहेर गरौं । आफ्नोलाई भन्दा राम्रोलाई मत हालौ । उही पुरानै ढङ्गको पार्टी, नेतृत्वको गुलामी र चाकरी गर्ने, २/४ जना नेताका झोले उम्मेदवारलाई चिनौं । त्यस्ता कुनियत प्रबृति भएका व्यक्ति चाहे त्यो युवा, महिला र दलित उम्मेदवार नै किन नहोस्, उनिहरुबाट धेरै अपेक्षा नगरौं । फेरिपनि मेरो अनुरोध छ जसको विकास निर्माणको खाका र एजेण्डा छ, जुन दलका प्रतिनिधि असल छन्, जसले राम्रो काम गरेर जनताको मन जित्न सक्छन् तिनै पात्रलाई बिजय बनाएर नेतृत्वमा ल्याउँ । यसैमा हामी सबैको भलो र हित हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ १६:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय