Erani Mahal
यात्रा संस्मरण : लुम्बिनी प्रदेश राजधानी दाङसम्मकाे यात्रा !
Skumar.jpg
- रामबहादुर गरंजा (एसकुमार) हो हामीहरुको जीवन यात्रा अर्थात मानव जीवन एक नाटक जस्तै न हो । यहाँ कोही डाक्टर, पाइलट, इन्जिनियर, ड्राइभर, बैज्ञानिक छन् । कोही स्वयंसेवक, समाजसेवी, ब्यापारी, बुद्धिजीवी छन् । राजनीतिमा नेता, कार्यकर्ता, मतदातादेखि जनतासम्म छन् ।त्यस्तैगरी जागिरमा पिउनदेखि हाकिमसम्म छन् । भने अर्कोतिर गजडे, जँड्याहा, जुवाडे, लोफर, पागल, भिखारी छन् । यि सबै हामीले नाटकमा पाएको जिम्मेवारी वा भूमिका पूरा गरिरहेका छौं । भरिसके हामी सचेत र विवेकशिल प्राणी भएको नाताले राम्रो रोल निर्बाह गरौं । एकदिन नाटकको पर्दा बन्द हुन्छ अनि सदाको लागि जिन्दगीको यात्रा अर्थात जीवन समाप्त हुन्छ । त्यसैले मानव जीवन जिज्ञासु, सिर्जनशिल र सक्रिय हुनु पनि विज्ञानको नियम अनुसार सही छ । नत्र भने त मान्छे मूर्दा समान हुन्छ जसरी पृथ्वीमा ढुङ्‍गा, माटो लगायत अन्य निर्जिब प्राणी रहेका हुन्छन् । त्यसैले आमा र बाबा सबैभन्दा ठूला भगवान हुन् किनभने उनीहरुले जन्म दिएर हामीले यो संसार देख्‍न पायौ । पृथ्वी (ब्रमाण्ड) धर्तिमाता हुन् जसले गर्दा यस धर्तिमा खेल्न पायौ र संसार परिक्रमा गर्न पायौं । त्यसैले पनि हामी सबैभन्दा भाग्यमानी सजिब प्राणी हौं । कुरा २०७८ पुष १० गते शनिवारको हो । आज मलाई निकै हतार थियो किनकी लोकसेवाले दिएको जिम्मेवारी पूरा गरी दाङको घोराहीमा गृह मन्त्रालयको आयोजनामा हुने प्रदेश स्तरीय BIPAD Portal सम्बन्धि १ दिने कार्यशाला गोष्ठीमा सहभागी हुनको लागि जानु थियो । किनकी अर्को दिन हिँडेर कार्यक्रम भेटाउन सकिदैनथ्यो । वनरक्षकको परीक्षा सकेर छिटो-छिटो नास्ता खाइसक्दा समय दिनको ३:३० भएको थियो । १ सेट कपडा झोलामा प्याक गरी राखे अनि १ सेट लगाए । त्यसबाहिर रेनकोट सेट पनि लगाए । किन रेनकोट लगाएको होला भनेर यहाँहरुलाई जिज्ञाशा लाग्न सक्छ, यसको उत्तर दिदैछु । कारण १ जलबायु परिवर्तन: जलबायु परिवर्तनको कारणले जतिखेरपनि मौषम खराब हुनसक्छ अथवा परिवर्तन भैरहन्छ । त्यसैले पानीबाट जोगिन पनि रेनकोट लगाएँ । कारण २ नयाँ नेपालको खराब बाटो: हाम्रो नेपालमा बाटोको सास्ती नखेप्ने को होला र ? चुनावमा १२ हल गोरु नार्छन् हाम्रा मिशन र भिजन भएका योग्य अनि लोकप्रिय जनप्रतिनिधी तर कमिशनमा बिकासको दूर्गति छ यहाँ । त्यही माथि लोड ट्रक, ट्रिपर लगायत ठूला गाडीको अनियन्त्रित गुडाई के चाहियो र । ट्रिपरको आतंकले कोही बाकी रहेका छैनन्, बाटोको त झन के कुरा गरौ । कपडा लगाएर घरबाट निस्केको ५/१० मिनेटमा नै धुलो र फोहरले देखिसक्नु हुँदैन । त्यसैले पनि रेनकोट लगाए । कारण ३ चिसो र हावाबाट बच्न: चिसो र हावाबाट बच्न र सेफ्टीपनि हुने हुँदा रेनकोट लगाए । त्यसैले अहिले रेनकोट मेरो साथी र अनिवार्य आवश्यकता बनेको छ । शायद तपाईंहरुको लागि पनि होला । तयार भई हिड्ने बेलामा करिब ०३:४५ बजेको थियो । अरु साथी कोही थिएनन् त्यसैले बाइकमा म एक्लै यात्रा गर्दै थिए । बाटोको अवस्था हेर्दै ४०, ५०, ३०, ७०, ८०, ६० को स्पिडमा बाइकलाई गुडाउँदै थिए । समयको गतिसँगै बाइको गति बढाउँदै गर्दा रुपन्देही जिल्ला पार गर्दै कपिलवस्तुको पिपरा, गोरुसिंगे पुगेछु । बिस्तारै समयले नेटो काट्दै थियो, नेपथ्यमा मान्छेहरुको कोलाहल सुनिन्थ्यो र यता म एक्लै मनमा कुरा गुनगुनाउँदै बढ्दै थिए । यत्तिकैमा बाटाका डिल-डिलमा बसेर बाँदरहरुले चकचक गर्दै थिए भने कोही मानौं प्रथम हुनेलाई पुरस्कारको व्यवस्था छ भने जस्तैगरी हतारमा खानेकुरा टिप्दै खाँदै थिए । उनीहरुले खान त खै के खाएका थिए ? त्यो मैले ठम्याउन सकिन तर त्यो दृश्य चाहिँ मलाई एकदमै रमाइलो लागेको थियो । कपिलवस्तुको चन्द्रौटा पार गरेपछि दाङ जिल्ला प्रबेश गर्दै गर्दा गढवा गाउँपालिकामा पर्ने बनकसवासा र कालाकाटेको बिचमा एउटा यस्तो मनमोहक तस्बिर मेरो नजरमा पर्‍यो । वाह ! खुशिले गदगद भई रमाए । डुब्न लागेको घामको दृश्य अनि त्यसका किरणहरु जमिनमा ठोकिएर इन्द्रेणीको स्वरुपमा चउर र सडकमा परावर्तन भएको अवस्थाको कसरी ब्याख्या गरु मैले । त्यस्तैगरी जङ्गलमा बोटविरुवाको बिच-बिचबाट प्रतिस्पर्धामा घामको किरण छिरी खोलाको पानीमा ठोक्‍किई हिरा र सुनजस्तै टल्किएको अनि चम्किएको दृश्यले निकै मन लोभ्यायो । जसलाई देखेर म एकैछिन मन्त्रमुग्ध भए अनि अंगालो मारेर प्रकृतिमा हराए । त्यो खुशिको पल सयौं, हजारौ साथीहरुसँगै खित्का छोडेर हास्न र रमाउन मन लाग्यो तर यात्रामा म र मेरो बाइक शिवाय अरु कोही थिएन । तरपनि म खुशि नै थिए । भने अर्कोतिर यात्रा पार गर्दै गर्दा गधुलीको साँझसँगै गोठालेहरु गाइबाख्रा लिएर गोठतिरको यात्रा तय गर्दै थिए, चराचुरङ्गीको कोलाहलले बास बस्ने बेलाको संकेत गर्दै थिए र घाँस दाउराको भारी बोकेर लावालस्कर घरतिर प्रस्थान गर्दै थिए । त्यो क्षणमा देखिएको प्रकृतिको गहनालाई मनमा बोकी फेदीबाट उकालो हुँदै दाङको भालुवाङ अनि लमही पुगेको थाहै भएन । साझँको बेला खाल्टा-खुल्टी, धुलो र अप्फ्यारो बाटो पार गर्दै बल्ल-बल्ल लमहीबाट दाङ घोराही पुगिएछ । हुन त यो समस्या देशभर नै छ । के गर्ने नेता, ठेकदार र कर्मचारीको मिलि भगतमा ३६५ को अन्तिम दिन अर्थात असार मसान्तमा हुने गरेका गुणस्तरहिन विकास निर्माण यस्तै हुन्छ । अनि संझिए देशभक्त र स्वाभिमानीहरुको प्रगतिशिल भाषण । अनि संझिए बिकासप्रेमी नेताहरुको बिकासे भाषण । अर्कोदिन कार्यक्रमका सहभागीहरुले घोराहीदेखि तुल्सीपुरको बाटो अझै अप्फ्यारो छ भन्दै थिए । बल्लतल्ल ०७:३० बजे घोराहीको होटल माला इनमा आयोजकको सम्पर्कमा पुगेछु । त्यहाँ लुम्बिनी प्रदेशका बिकट र दुरिको हिसाबले टाढा पर्ने जिल्लाबाट केही साथीहरु आइपुग्नुभएको रहेछ । त्यसदिन अनौपचारिक परिचय, खाना खाने र बिश्राम गर्ने बाहेक अरु केही भएन । अर्को दिन ११ गते आइतवार बिहान मर्निङ वाक र हल्का ब्यायाम गरी नुहाए । अनि सबै साथीहरुसँग नास्ता खाई ०९:०० बजेदेखि हाम्रो औपचारिक कार्यक्रम शुरु भयो । शुरुमा बिपद पोर्टल भनेको के हो ? यसमा डाटा इन्ट्रि कसरी गर्ने ? सफ्टवेयर डेभलभका कुराहरु सिकियो । त्यसपछि Interduction using microsoft's jamboard प्रयोग गर्ने तरिकाको बारेमा अध्ययन गरियो जसमा प्रविधिको तिब्र बिकास अनि गतिमा समयको सदुपयोग कसरी गर्ने भन्ने थियो । जसमा परिचय दिने नयाँ तरिका बारे जानकारी पाइयो । प्रशिक्षक सरहरु शैलेश मान सिंह र अचुत पौडेल IT का जानकार र सफ्टवयर मेकर पनि हुनुहुँदोरहेछ । राम्रा, फरासिला र असल पनि उत्तिकै । उहाँहरुले सरल तरिकाले हामीलाई BIPAD Portal मा विशेषगरि Epidenics (दूर्घटना), Health (स्वास्थ्य) र COVID-19 (कोभिड-१९) सम्बन्धि तालिम दिनुभयो । त्यसलाई अपडेट कसरी गर्ने भन्ने बिषयमा छलफल र प्राक्टिकल पनि भए । यसको लागि विपद, सूचना व्यवस्थापन प्रणाली (BIPAD Portal) लाई थप परिष्कृत गर्ने क्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपतकालिन कार्य सञ्‍चालन केन्द्र तथा गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सँगको सहकार्यमा कोभिड-१९ र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण पूर्वाधारहरुको तथ्याङक समावेश गर्ने कार्य भैरहेको छ । स्वास्थ्य सम्बन्धि आपतकालिन तथ्याङक समावेश तथा तथ्याङकमा आधारित निर्णय प्रक्रियाको अधिकतम प्रयोगमा प्रदेश, जिल्ला र स्थानीय तहको महत्वपूर्ण भूमिका रहन्छ । जस्तै: घटनाहरु बाढी, पहिरो, आत्महत्या, दूर्घटना लगायत सफ्टवयरमा अपलोड गर्ने कुरा निकै उपयोगी र व्यवहारिक थिए । हुन त एकै दिनमा सबै कुरा कहाँ सिकिन्छ र ? त्यहिपनि हामीले केही कुरा सिक्ने अवसर प्राप्त गर्‍यौ । एक प्राबिधिक कारणले सिकाएका सबै कुरा मेमरीमा सेफ गर्न सकेनौ अर्को समय हाम्रो लागि निकै कम थियो । विषय निकै महत्वपूर्ण रहेको कुरा सबैले आत्मसात गर्‍यौ र अर्कोपटक यस्ता कार्यक्रमहरुको लागि पहल गर्ने अनि त्यसमा भेट हुने प्रतिबद्धताका साथ १ दिने प्रशिक्षण कार्यशाला गोष्ठी समापन भयो । अर्कोदिन पुन: उसैगरि दाङ घोराहीबाट बुटवलको यात्रा सकुशल अवतरण गरियो । लेखक हाल आन्तरिक मामिला तथा संचार मन्त्रालय बुटवलमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update