पाल्पा - निस्दीको सहलकोटमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना र जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड सहलकोटको सहआयोजनामा शिविर सन्चालन भएको हो ।
निस्दी गाउँपालिका वडा नम्बर २ सहलकोटका वडा अध्यक्ष पुर्ण बहादुर थापा बाकाबल अध्यक्षता रहेकोे शिविरको प्रमुख अतिथि पाल्पा जिल्ला समन्वय समिति सदस्य खर्गती राना रहनुभएको हो । रानाले शिविरबाट वितरण गरिएका औषधिहरु पुर्ण रुपमा प्रयोग गरि अधिकतम फाइदा लिन अनुरोध गर्नुभयो ।
वरिष्ठ पशु विकास अधिकृत ,भेटनरी अस्पताल तथा विशेषज्ञ केन्द्रका डाक्टर चन्द्रबहादुर रानाले शिविर बाट निशुल्क प्राप्त गरेका औषधिहरु प्रयोग गरि पशुको स्वास्थ्य सुधार गर्न सक्नुपर्छ भन्नु भयो। डा. रानाले पशु स्वास्थ्य र मानव स्वास्थ्य विच अन्तर सम्बन्ध रहेकोेले मानिस स्वस्थ रहन पशु स्वस्थ रहनुपर्ने भन्दै पशुको स्वास्थ प्रति हेलचेक्र्याइ नगर्न अनुरोध गर्नुभयो ।
निस्दी गाउँपालिका पशु शाखा संयोजक ओम मश्राङ्गीका अनुसार शिविरमा १ सय ६० घरपरिवारका ४ हजार २ सय १७ पशुको उपचार गरेको छ। साथै ५८ वटा पशुको गोबर परिक्षण ,क्यास्टेशन ७ वटा चिरफार गरेको छ ।
जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड सहलकोटका अध्यक्ष राममाया लामिछानेको स्वागतबाट अगाडि बढेको कार्यक्रमको संचालन पशु शाखा संयोजक ओम मश्राङ्गीले गर्नुभएको हो।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८ १९:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय