पाल्पा - जीवन ज्योति आधारभूत विद्यालय निस्दी - ४ , मित्याल , लामेदमार ,पाल्पाको ३८ औं वार्षिकोत्सब सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सोतीको अध्यक्षतामा भएको वार्षिकोत्सबको उद्घाटन निस्दी गाउँ कार्यपालिका सदस्य हेम कुमारी सुनारीले गर्नुभएको हो ।
शिक्षिका पवि सरा थापा सोतीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रधानाध्यापक चित्र सिंह आलेले विद्यालयको प्रतिवेदन पेश गर्नुभएको छ । साथै प्रधानाध्यापक आलेले आर्थिक वर्ष २०७७/०७८ को ४८ लाख ५२ हजार ९ सय ८८ रुपैयाँ बराबरको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सुनारी , विद्यालयका संस्थापक अध्यक्ष सहविर सुनारी , जलदेवी आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक लाल बहादुर सोती , समाजसेवी मीन बहादुर सुनारी , पुर्व अध्यक्ष दिरन सिं रास , समाजसेवी भिम बहादुर सारु लगायतले बोल्नुहुँदै विद्यालयको प्रगतिको कामना गर्नुभएको छ । कार्यक्रममा विद्यार्थीको छनौट र मनपर्ने उत्कृष्ट शिक्षक लिल बहादुर रासलाई सम्मान गरेको छ ।
वार्षिकोत्सबको अवसरमा कुण्डले डाँडा सामुदायिक वनका अध्यक्ष मीन बहादुर सुनारीले १५ हजार रुपैयाँको जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । सोही अवसरमा गत शैक्षिकसत्रमा पुरस्कृत विद्यार्थी तथा अतिरिक्त क्रियाकलापमा विजेतालाई पुरस्कार वितरण गरेको छ ।
साथै विभिन्न अक्षयकोषको छात्रवृत्ति समेत वितरण गरेको छ । विद्यार्थीहरुद्वारा सांस्कृतिक प्रस्तुती रहेको कार्यक्रमको संचालन शिक्षक खेम बहादुर सोतीले गर्नुभएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ १७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय