स्टेफिन हकिङको जन्म सन् १९४२ जनवरी ८ मा बेलायतको अक्सफोर्डमा भएको थियो। पढाइमा अब्बल भए पनि असाधारण चाहिँ थिएनन्। उनका पिता फ्र्याङ्क हकिङ पनि जीवविज्ञानका अन्वेषक थिए। माता इसोबेलले अर्थशास्त्र पढेकी थिइन्। विद्यालयको पहिलो वर्षका पढाइमा उनी कक्षामा अन्तिमबाट तेस्रो भएका थिए। त्यतिबेला उनको विशेष रुचि बोर्ड गेममा थियो। हकिङ र उनका केही मिल्ने साथीहरूले मिलेर नयाँ गेमको सिर्जना गरेका थिए। किशोरावस्थामै उनले अवधारणात्मक गणितीय समीकरणका लागि साथीभाइसँग मिलेर थोत्रा पार्टबाट कम्प्युटरसमेत बनाएका थिए।
१७ वर्षको हुँदा हकिङ अक्सफोर्ड विश्वविद्यालयको युनिभर्सिटी कलेज गए। उनको विशेष रुचि गणितमा थियो। विश्वविद्यालयले उक्त विषयमा डिग्री नदिने भएपछि भौतिकशास्त्र विशेषगरी खगोल विज्ञान पढ्न थाले। कक्षाकोठाको पढाइप्रति हकिङको धेरै रुचि थिएन। विद्यालय जाने उमेरमा दैनिक औसत १ घण्टा पनि पढाइमा ध्यान नदिएको भनेर हकिङ आफैंले हिसाब निकालेका थिए।
बाल्यकालमा हकिङ
स्टेफिनको आमाबाबुको घर उत्तरी बेलायत थियो। तर, दोस्रो विश्वयुद्धको समयमा अक्स्फोर्ड सुरक्षित स्थान मानिएकोले बच्चाहरूसँग त्यहाँ गए। उनी आठ वर्ष हुँदा उनको परिवार लन्डनमा २० किलोमिटर उत्तरमा रहेको शहर अल्बान्टमा गए। एघार वर्षको उमेरमा सेन्ट अल्बान स्कूल गए। उनको बुबाको पुरानो कलेज, अक्स्फोर्डमा स्टिफन गणित अध्ययन गर्न चाहन्थे, यद्यपि उनको बुबाले उनलाई चिकित्सा शास्त्र पढाउन चाहन्थे। अक्स्फोर्ड विश्वविद्यालयमा गणित उपलब्ध थिएन, त्यसैले यसको सट्टा भौतिक विज्ञान अध्ययन गर्नतिर लागे। तीन वर्षपछि उनलाई प्राकृतिक विज्ञानमा पहिलो कक्षाको सम्मान डिग्री प्रदान गरिएको थियो।
उनले सन् १९६५ मा जेन वाइल्डसँग विवाह गरे। सन् १९९१ मा उनको छोडपत्रपछि एलेन मेसनसँग सन् १९९५ मा विवाह गरेका थिए। उनका तीन जना बच्चाहरू रबर्ट, लुसी र तिमोथी छन्। सन् १९७३ मा खगोल विज्ञानको संस्थान छोडेर स्टेफनले विभागको एप्लाइड गणित र सैद्धान्तिक भौतिक विज्ञानमा आए। १९७१ देखि २००९ सम्म गणितको लुकासियन प्रोफेसरको पदमा राखे। कुर्सीको स्थापना १६६३ मा भएको थियो। रेवरेन्ड हेनरी लुकास जसले विश्वविद्यालयका लागि संसदका सदस्य थिए।
प्रोफेसर हकिङगले बाह्र विषयमा औपचारिक डिग्री हासिल गरेका थिए। उनलाई १९८१ मा सिबिई प्रदान गरियो, १९८९ मा क्यम्पिओन अफ अनरले सम्मानित गरिएको थियो। उनी धेरै पुरस्कारहरू, पदकहरू र पुरस्कार प्राप्तकर्ता हुन्। उनी रोयल सोसाइटीको फेलो र अमेरिकाको नेसनल अकाडमी अफ साइन्सका सदस्य पनि हुन्।
कष्टसाध्य जीवन
सन् १९६३ मा उनी २१ वर्षका थिए। त्यतिबेला उनलाई अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस लागेको थाहा भयो। त्यति बेला डाक्टरहरूले उनी २ वर्षभन्दा बढी बाँच्दैनन् भन्ने घोषणा नै गरे। त्यतिबेला विद्यावारिधि नै पूरा नगरी हकिङ मर्छन् भन्ने धेरैलाई लागेको थियो। तर, उनले विद्यावारिधिमात्र पूरा गरेनन्, जीवन नै ब्रह्माण्डको अध्ययनमा बिताए। उनको रोग डाक्टरहरूले भनेअनुरूप बढेन। यसले बिस्तारै उनको स्नायु प्रणालीलाई भने क्षीण बनाउँदै गयो। बिस्तारै शरीरका अङ्गहरू चल्न छाडे। दिमागबाहेक शरीरका कुनै पनि भाग नचल्ने भए र अन्ततः हकिङ ह्विलचेयरमा बाँधिए। उनी ‘भ्वाइस सिन्थोसाइजर’को सहाराले मात्र बोल्न सक्दथे।
त्यतिबेलासम्म उनी हिँडडुल गर्न नसके पनि बोल्न त सक्थे। तर, सन् १९८५ मा श्वासनलीको आकस्मिक शल्यक्रियापछि उनको बोली पनि हरायो। त्यसपछि अमेरिकी कम्पनी वड्र्ज प्लसले उनका लागि हातले थिचेर शब्द चयन गर्न सकिने प्रोग्रामको विकास गरिदियो। पछि यो उपकरणलाई स्पिच सिन्थेसाइजरसँग जोडेर हकिङले छानेको शब्द बोलीचालीको भाषामा रूपान्तरण गरियो। आजीवन हकिङले यस्तै उपकरणको सहायताले बोले। पटकपटक यसको अपग्रेड चाहिँ भयो।
अनुसन्धानमा हकिङ
हकिङले पारमाणविक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौती थपिरहेको बताउने गरेका थिए। ‘मानव जातिलाई यसबाट जोगाउने एकमात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो’ भन्ने उनको मान्यता थियो। उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ। हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं।’
स्टेफन हकिङ बेलायती भौतिकशास्त्री हुन्। अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयका भौतिक शास्त्री हकिङलाई ब्रह्माण्डको उत्पत्ति र संरचना विषयक अध्ययनबारे दिएको योगदानका लागि सधैं सबैले चिन्नेछन्। बिग ब्याङ थ्योरी, ब्ल्याक होल्स र सापेक्षता हकिङका चर्चित सिद्धान्त हुन्। विज्ञानमा योगदान दिने अल्बर्ट आइन्स्टाइनपछिका ठूला वैज्ञानिक मानिन्छन् हकिङ। आइन्स्टाइनले व्याख्या गर्न नसकेका भौतिक शास्त्रका विभिन्न विषयको व्याख्या हकिङले गरेका छन्। भौतिकशास्त्र र ब्रह्माण्ड/खगोल शास्त्रबारे लेखेका पुस्तकहरूले ब्रह्माण्ड र विज्ञानबारे बुझ्न एवं धारणा बनाउन आम मानिसलाई मद्दत गरेको छ।
१४ मार्च २०४१ मानव सभ्यताकै अपूर्व दिन रह्यो। पहिलो पटक पृथ्वीवासीले आफ्नो सौर्यमण्डल बाहिरस्थित अर्को सौर्यमण्डल ‘प्रोक्सिमा सेन्टुरी’तर्फ ‘नैनो’ अन्तरीक्ष यान पठाइयो। पृथ्वीबाट झण्डै ४.२५ प्रकाश वर्ष टाढा ‘प्रोक्सिमा सेन्टुरी’ पुग्न यस यानले ४०२०८००००००००० किमीको यात्रा गर्नुपर्ने हुन्थ्यो। यस उडानभन्दा पहिला मानवले सबै ग्रह, उपग्रह र त्योभन्दा पारिको ‘कुपियर क्षेत्र’ र ‘कुपियर क्षेत्र’ पारीको ‘उर्ट बादल क्षेत्र’सम्म यान पठाइसकेका थिए। यहाँसम्म पठाइएका यानको अधिकतम गति ३० किमि प्रतिसेकेण्ड अथवा १०८००० किमि प्रतिघण्टा रहेको थियो।
तर, यो ‘नैनो’ अन्तरिक्षयानले गतिमा अभूतपूर्व फड्को हासिल गरेको थियो। यसको गति ६०००० किमि प्रतिसेकेण्ड अथवा २१६०००००० किमि प्रतिघण्टा थियो। यानको एउटा ‘डिस्कमा प्लेटेनियम अक्षरमा’ लेखिएको थियो, ‘यानका परिकल्पनाकार पृथ्वी निवासी फ्रेंक र इसावेलका छोरा, जेन वाइल्ड र इलेने मसुनका पति, लुसी, रोवर्ट र टिमोथीका पिता, कैम्व्रिजका प्रोफेसर एक शिक्षक, वैज्ञानिक र एक अति आत्मविश्वासी व्यक्ति स्टिफन हकिङ ८ जनवरी १९४२–१४ मार्च २०१८।’
हकिङको सिद्धान्त
विद्यावारिधि गरेर हकिङले क्याम्ब्रिजमा अनुसन्धान फेलोको रूपमा काम थाले। सन् १९७४ मा उनी रोयल सोसाइटी अर्थात् विश्वभरका वैज्ञानिकहरूको सभामा सामेल भए। अनि, त्यसको ५ वर्षपछि उनी क्याम्ब्रिजमा गणितका ‘लुकासियन प्रोफेशर’ नियुक्त भए। यस क्रममा उनले ब्रह्माण्डसम्बन्धी आधारभूत नियमहरू पढे। अनि, जसरी ब्रह्माण्ड बिग ब्याङका साथ शुरू भयो, त्यसरी नै अन्त्य हुन्छ भन्ने प्रस्ताव पनि गरे। फेलो ब्रह्माण्डशास्त्री रोजर पेनरोजसँग मिलेर हकिङले अल्बर्ट आइन्सटाइनको ‘सामान्य सापेक्षताको सिद्धान्तबारे नयाँ प्रयोग गरे।
यसपछि उनले ब्ल्याक होलबारे अनुसन्धान गरे। यही क्रममा उनले अन्तरिक्ष र समय ब्रह्माण्डको जन्मसँगै शुरू भएको र ब्ल्याक होल अन्तमा विलीन हुने निष्कर्ष निकाले। यसको अर्थ आइन्सटाइनको सापेक्षता सिद्धान्त र क्वाण्टम सिद्धान्त जोडिनैपर्छ भन्ने थियो। सापेक्षताको सिद्धान्तले गुरुत्वाकर्षण र ब्रह्माण्डमा हुने ठूला घटनाचक्रको व्याख्या गर्छ। क्वाण्टम सिद्धान्तले चाहिँ उपपरमाणुले कसरी काम गर्छ भन्ने व्याख्या गर्छ। ब्रह्माण्डको व्याख्यामा यी दुवै सिद्धान्तलाई जोड्ने उनी पहिलो वैज्ञानिक हुन्। यस क्रममा हकिङले ब्ल्याक होल पूर्णतः शान्त हुँदैन, बरू यसले विकिरण प्रवाह गर्छ भन्ने पत्ता लगाए। हकिङकै नाममा यस विकिरणको नाम पनि ‘हकिङ रे’ राखियो।
बिग ब्याङपछि प्रोटोनभन्दा सूक्ष्म ब्ल्याक होल सृजना भयो भन्ने प्रक्षेपण पनि उनले गरे। तर, सन् २०१४ मा भने उनले यो सिद्धान्तको संशोधन गरे। स्वीडेनमा आयोजित एक सम्मेलनमा उनले पहिले दिँदै आएको अभिव्यक्तिलाई उल्ट्याएर यसअघि खगोलशास्त्रीहरूले परम्परागत ढङ्गले सोच्ने गरेजस्तो ब्ल्याक होल नै नभएको बताए। उनले ‘इभेण्ट होरिजन’को अस्तित्व हटाए र ‘अपारेण्ट होरिजन’ प्रस्ताव गरे। ब्ल्याक होलमा सबै चीज विलय नहुने बरू ब्ल्याक होल विष्फोट हुँदा पहिला यसभित्र छिरेका सबै वस्तुहरू बाहिर आउने बताए। यद्यपि, उनको यो सिद्धान्त अझै पनि विवादास्पद नै छ। उनले पृथ्वीको सीमा नभएजस्तै गरी ब्रह्माण्डको सीमा नभएको बताए। हाम्रो ग्रह निश्चित भए पनि ब्रह्माण्डमार्फत् यसको वरिपरि अनन्त रूपले यात्रा गर्न सकिने र अन्त्य भन्ने शब्द नै नभएको बताए।
हकिङले लेखेका पुस्तक
ए ब्रिफ हिष्ट्री अफ टाइम : ब्रह्माण्डको रचनालाई स्वतःस्फूर्त घटना मान्थे हकिङ। गुरुत्वाकर्षणजस्ता शक्तिकै कारण ब्रह्माण्डमा नयाँ रचना हुन सक्छ। यसका लागि भगवान्को सहयोग चाहिन्न भन्ने उनको धारणा थियो। सन् १९८८ मा लेखिएको ए ब्रिफ हिष्ट्री अफ टाइम पुस्तकमा हकिङले ब्रह्माण्डको संरचना, उत्पत्ति, विकास र यसको भविष्यबारे आम मानिसले बुझ्ने भाषामा व्याख्या गरेका छन्। यसमा उनले अन्तरिक्ष र समयजस्ता आधारभूत तत्वको कुरा गरेका छन्। बिग ब्याङ, ब्ल्याक होल्स, लाइटकोनजस्ता खगोलशास्त्रका विविध विषयबारे प्रकाश पारेका छन्।
पुस्तकको सन् १९९६ यताका संस्करणमा हकिङले टाइम मेशिनको सहायताले एउटा समयबाट अर्को समयमा यात्रा, वर्महोल अर्थात् ब्रह्माण्डमा लामो दूरीको यात्रा गर्र्न मिल्ने सैद्धान्तिक बाटो र अन्वेषणको सम्भाव्यताबारे छलफल गरेका छन्। यस पुस्तकका विभिन्न संस्करणसमेत सार्वजनिक भएका छन्। २० वर्षमा १ करोडभन्दा धेरै प्रति बिक्री भएको यो किताब उनको सर्वाधिक बिक्री भएको किताब हो। यो किताब ४० भन्दा बढी भाषामा अनुवाद भएको छ।
युनिभर्स इन नटशेल : यस पुस्तकमा हकिङले गोडेलको अपूर्णताको सिद्धान्त र पीब्रेन्स अर्थात् क्वाण्टम सिद्धान्तमा सुपरस्ट्रिङ सिद्धान्तको भागलगायत विभिन्न विषयको व्याख्या गरेका छन्। यसमा उनले आधुनिक भौतिक शास्त्रको इतिहास र सिद्धान्तबारे पनि बताएका छन्। यस पुस्तकमा ब्रह्माण्डमा केके भयो भन्ने कुराको व्याख्या गर्न हकिङले आइन्स्टाइनको सापेक्षताको सामान्य सिद्धान्त र रिचार्ड फेयनम्यानको बहुइतिहासको अवधारणालाई एउटा सम्पूर्ण एकीकृत सिद्धान्तमा जोड्ने प्रयास गरेका छन्।
ब्रिफर हिष्ट्री अफ टाइम : सन २००५ मा हकिङले समयको झनै छोटो इतिहास बताउने प्रयास गरे ब्रिफर हिष्ट्री अफ टाइममार्फत्। यसलाई ए ब्रिफ हिष्ट्री अफ टाइमको समीक्षा भने पनि हुन्छ। यस पुस्तकमा हकिङ र अमेरिकी भौतिकशास्त्री लिओनार्द मलोटिनाउले क्वाण्टम मेकानिक्स, स्ट्रिङ थ्योरी, बिग ब्याङ थ्योरी र अन्य विषयलाई थप सरल भाषामा लेखेका छन्। यस पुस्तकलाई नयाँ तथ्यका आधारमा अपडेट गरिएको छ। यसमा स्ट्रिङ थ्योरीमा भएका विकास क्रमबारे पनि लेखिएको छ।
मानवको भविष्य : सन् २००६ मा हकिङले इण्टरनेटमा एउटा खुला प्रश्न गरेका थिए, ‘राजनीतिक, सामाजिक र वातावरणीय रूपमा अस्तव्यस्त र अराजक विश्वमा आउँदो १ सय वर्षसम्म मानव जाति कसरी बाँच्न सक्छ ? यस प्रश्नमा उनले अचानक देखिएको परमाणु युद्ध, जेनेटिकल्ली तयार पारिएका भाइरस, विश्वव्यापी तापक्रम वृद्धि र मानिसले अहिलेसम्म सोच्दै नसोचेका अन्य खतराका कारण पृथ्वीमा मानव जीवन खतरामा परेको चिन्ता व्यक्त गरेका थिए। यस्ता खतराहरूले गर्दा सारा पृथ्वी नै विनाशको क्रममा रहेको, यस्तो खतरा बढेर मानव जाति लोप हुनुअगाडि नै अन्य ग्रहमा बस्ती बसाल्नुपर्ने धारणा राखेका थिए।
मानवको भविष्यका लागि अन्तरिक्षमा उपनिवेश शुरू गर्नुपर्छ भन्ने धारणा हकिङले दिएका थिए। ब्रह्माण्डको विशालतालाई दृष्टिगत गर्दा एलियनहरूको अस्तित्वको सम्भावना रहे पनि तिनीहरूसँग सम्पर्क गर्ने प्रयास भने गर्नु हुँदैन भन्थे हकिङ। ‘एलियनहरू पृथ्वीमा आए भने यसको नतीजा कोलम्बस अमेरिकामा आएजस्तै हुन्छ,’ यो पृथ्वीवासीका लागि राम्रो नहुने भन्दै सन् २०१० मा उनले भनेका थिए। त्यसैगरी, मानिसको भविष्य निर्धारणमा कृत्रिम बौद्धिकता पनि निकै महत्त्वपूर्ण रहेको उनले बताएका थिए।
‘यसका सम्भावित लाभहरू निकै धेरै छन्। कृतिम बौद्धिकता सिर्जना गर्नु मानव इतिहासको सबैभन्दा ठूलो घटना होला। तर, यसबाट उत्पन्न जोखीम कसरी टार्ने भन्ने सिक्न सकेनौं भने यो अन्तिम पनि हुन सक्छ,’ हकिङले भनेका छन्। त्यसैगरि, कम्प्युटर भाइरसलाई जीवनको नयाँ स्वरूपका रूपमा लिनुपर्ने तर्क पनि उनले दिएका छन्। यसले मानवको प्रकृतिबारे केही कुरा बताए पनि यो हामीले अहिलेसम्म सिर्जना गरेको पूर्णतः विनाशकारी जीवनको एक स्वरूप भएको उनको भनाइ छ।
नोबेल पुरस्कार पाएनन्
विज्ञानमा उनले दिएको योगदानका लागि हकिङले झण्डै २ दर्जन ख्यातिप्राप्त पुरस्कार र उपाधि जितेका छन्। ब्ल्याक होल लगभग अमर हुन्छ भन्ने सोच्थे हकिङ। ब्ल्याक होल जीवित छ भन्ने प्रस्ताव राखेर खगोलशास्त्रको पुनः परिभाषा गर्ने हकिङले नोबेल पुरस्कार भने कहिल्यै पाएनन्। उनको यस सिद्धान्तलाई अहिले सैद्धान्तिक भौतिक शास्त्रले स्वीकार गरेको थियो। तर, यसलाई पुष्टि गर्ने कुनै तरीका नै छैन। यसको पुष्टि केही वर्ष दशक वा शताब्दीमा गर्न सकिन्न। त्यसैले उनले नोबेल पुरस्कार पाएनन्।
हकिङको निधन
हकिङ अल्वर्ट आइन्स्टाइनपछिका सबैभन्दा विख्यात वैज्ञानिक मानिन्छन्। शारीरिक रुपमा अशक्त भएर पनि हकिङ जीवनपर्यन्त मानव जातिको हित र वैज्ञानिक खोजमा लागिरहे। एकदिन उनले प्रतिपादन गरेको सिद्धान्त प्रमाणित हुने नै छ। तिनै महान् वैज्ञानिक स्टेफिन हकिङको १४ मार्च २०१८ मा ७६ वर्षको उमेरमा निधन भयो।