रानीमहल पाल्पा, २ जेठ । ढाका तथा करुवा पाल्पाको पहिचान हो । तर पाल्पामा पछिल्लो समय ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ ।
पाल्पाको तानसेन नगरपालिका–६ कि पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताउनुभयाे ।
०१५ देखि ढाकाका कपडा बुन्न आफूले शुरुआत गरेको पेशा पछिल्लो समय छिमेकी देश भारतबाट आउने कपडाले पहिचान मेटाउन थालेको उनले गुनासो गर्नुभयाे । श्रीमानको जागिर भारतमा हुँदा त्यही बसेर दुई वर्षसम्म चर्खा बेर्ने र हातले तान बुन्ने सीप सिकेकी पूर्णमायाले पाल्पामा आएर सबैलाई सीप सिकाउनुभयाे ।
कुनै बेला पाल्पामा एक हजार ५०० बढी कामदारलाई रोजगारी दिनुभएकी महर्जनलाई अहिले भने आफ्नो कारखाना नै शून्य लाग्छ । पहिले–पहिले बिहेको लगन आउने बित्तिकै चोलो पछ्यौरा तथा टोपी किन्नेको पसलमा घुइँचो लाग्ने गरेको उहाँले स्मरण गर्नुभयाे । पाल्पाको तानसेनमा स्वदेशी वस्त्रालय पाल्पाली ढाका कपडा उद्योग सञ्चालन गरेर विगत छ दशकदेखि सेवा दिएको स्मरण गर्दै उहाँले भन्नुभयाे, ‘अहिलेका व्यापारीले बाहिरबाट ल्याएको ढाकालाई पाल्पाली भनेर बेचेको देख्दा दुःख लाग्छ ।’ उहाँले पाल्पाली ढाकाजस्तो असली ढाका बाहिरबाट ल्याएका ढाका नहुने बताउनुभयाे ।
पाल्पाली ढाकाजस्तै पाल्पाको छुट्टै पहिचान दिने पाल्पाली करुवा पनि लोपोन्मुख अवस्थामा छ । पहिले तानसेन टक्सारटोलमा २५ घरपरिवारले व्यावसायिकरूपमा सञ्चालन गरेको करुवा तयार पार्ने व्यवसाय अहिले तीन घरमा सीमित बनेको छ ।
करुवा बनाउने तालिम र कामसमेत दिने भने पनि यसतर्फ कसैको ध्यान नगएको करुवा उद्योगका सञ्चालक उत्तमकुमार बज्राचार्यले गुनासो गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘करुवा बनाउन चाहिने कोइला र काँचको अभाव त छ तर अभावका बीच व्यवसायमा काम दिन्छु भन्दा पनि कसैले चासो दिँदैनन् ।’
घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले भने पाल्पाली ढाका तथा करुवाको संरक्षणमा कार्यालयले निकै चासो दिएको जनाएको छ । कार्यालयका उद्योग अधिकृत बालकृष्ण गैरेले ढाका तथा करुवाको माग बढी भए पनि आधुनिक तवरबाट सीप हस्तान्तरणको आवश्यकता रहेकोमा जोड दिनुभयाे ।
‘पटकपटक व्यवसाय संरक्षणमा पहल गरिरहेका छौँ, तर सफल हुनसकेका छैनौं’, अधिकृत गैरेले भन्नुभयाे ।
पाल्पालाई चिनाउने ढाकाको चोली, टोपी पाल्पा आउने पाहुनालाई उपहारका रुपमा दिने अहिले पनि चलन छ । कतिपय बाहिरी जिल्ला तथा विदेशी पर्यटकले समेत पाल्पा आउँदा पाल्पाली ढाका र करुवा चिनोको रूपमा लैजाने गर्दछन् । यसको संरक्षणमा सम्बन्धित पक्षले ध्यान पुर्याउन नसके लोप हुने स्थानीयवासी चिन्ता व्यक्त गर्छन् । रासस