शुशिल नेपालकाठमाडौं – सानैदेखि नेपाली चलचित्रको राम्रो दर्शक थिए प्रदिप भट्टराई (३५) । स्कूले जीवनमा उनी प्रदर्शनमा आएका प्रायः चलचित्र छुट्टाउँदैन्थे ।
पानी पर्दा निथ्रुक्क भिजेको शरीर लिएर काप्दै चलचित्र हल पुग्थे । पैसा नहुँदा हल बाहिरै बसेर आवाज मात्रै सुनेर पनि चलचित्र हेरेको महशुस गर्थे ।
चलचित्र हेर्ने लत भएपनि पढाइमा कहिल्यै पछाडि परेनन् । स्कूलमा १० कक्षासम्म सधै प्रथम भए । एसएलसीमा राम्रो अंक ल्याए । पढाइमा अब्बल प्रदिप कथा, कविता लेखनमा पनि अग्रसरता देखाउँथे ।
नेपाली चलचित्र नियमित हेर्ने प्रदिपलाई एसएलसी दिँदासम्म पनि कहिल्यै लागेन कि भविष्यमा चलचित्र क्षेत्रमा काम गर्छु । न उनको रहरको क्षेत्र नै थियो चलचित्र ।
‘न मलाई कहिल्यै हिरो बन्ने रहर पलायो । न चलचित्र क्षेत्रमा लाग्छु भन्ने सोच्थे,’ प्रदिप भन्छन् । उनले सोँच्थे, ‘राम्रो पढेर बैंकर बन्छु वा अन्य राम्रो जागिर खान्छु ।’
त्यही सोचले नै उनी सर्लाहीको हरिवनबाट सपनाको शहर काठमाडौं आएका थिए । यो कुरा झण्डै २ दशक अगाडिको हो । तर आज उनको भविष्य जागिर होइन, चलचित्रमा टिकेको छ ।
हिजो नेपाली चलचित्रको राम्रो दर्शक आज राम्रो निर्देशकका रुपमा परिचित छन् । संख्याको हिसाबले उनले थोरै चलचित्र गरेका छन् तर ती चलचित्र सफल छन् ।
उनको निर्देशनमा २०७३ सालमा ‘जात्रा’ चलचित्र प्रदर्शनमा आयो । २०७४ सालमा ‘शत्रुगते’ प्रदर्शनमा आयो । यी दुवै चलचित्र ‘सुपर हिट’ भए ।
उनी निर्देशित तेस्रो चलचित्र ‘जात्रै जात्रा’ भने आउँदो जेठ ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । यो चलचित्रको सफलतासँगै निर्देशनमा सफल ह्याट्रिक गर्ने दाउमा छन् प्रदिप ।
चलचित्र निर्देशनमा आउनुअघि उनले महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) सँग झण्डै डेढ दशक सहकार्य गरे । जुन सहकार्य अहिले पनि निरन्तर छ ।
पढेर राम्रो जागिर खाने सपना बोकेर काठमाडौं छिरेका प्रदिप कसरी निर्देशक भए ?
राम्रो कलेज छान्न नसक्दा ...
काठमाडौं धेरैको सपनाको शहर हो । मानिस अनेकौं सपना बोकेर काठमाडौं छिर्छन् । तर काठमाडौं धेरैको लागि बिरानो शहर पनि हो ।
एसएलसीपश्चात् काठमाडौं आउँदा प्रदिपका लागि काठमाडौं शहर बिरानो थियो । आफन्त, अभिभावकत्व र राम्रो सल्लाह सुझाव दिने व्यक्ति कोही थिएनन् ।
त्यसैले उनी कलेज छनोटमा चुके । कुन कलेज राम्रो, कुन नराम्रो ? उनले छुट्याउन सकेनन् । अन्नतः राजनीति गर्ने विद्यार्थीमार्फत भर्ना भए सरस्वती क्याम्पस ठमेलमा ।
‘पढ्न गयो, आज त कलेजमा झगडा पर्यो रे ! अर्को दिन मारकाट भयो रे !’ कलेजको पढाइबारे उनी भन्छन्, ‘त्यसपछि राम्रो कलेज छनोट गर्न सकिनँ भन्ने महशुस भयो ।’ २ जना साथी भएर पुल्चोक बस्थे उनी । फाल्तु खर्च गर्न पैसाको समस्या थियो ।
‘पढ्न हिँडेर कलेज पुग्यो, पढाइ नहुने । प्रायः दिन कलेजमा पढाइ नभएपछि पढाइप्रति क्रमशः मन मर्दै गयो,’ कलेजमा हुने राजनीतिले आफूमा पारेको प्रभाव सुनाउँछन् उनी ।
वर्षभरि ३–४ दिन मात्रै कलेजमा पढे होलान् उनले । ‘पढाइमा राम्रो जग भएकाले ‘प्लस टू’ पास गरें,’ प्रदिप भन्छन् । तर ‘प्लस टू’ पास गर्दासम्म प्रदिप पढाइप्रति मन मोर्दै गइसकेका थिए भने उनी चलचित्र क्षेत्रमा छिरिसकेका थिए ।
उनी भन्छन्, ‘म सानैदेखि राम्रो पढ्ने मानिस । कसैले पढ्नका लागि राम्रो कलेज बताइदिएको भए सायद म चलचित्र क्षेत्रमा हुँदैन्थें ।’
पत्रिकामा छापिएको फोन नम्बर
प्रदिपका लागि बिहानीले दिनको संकेत गर्छ भनेजस्तै भयो । सानैदेखि कथा र कविता लेखनमा रुचि राख्ने प्रदिपले एउटा कथा लेखेका थिए ।
एकदिन गुण चलचित्र हलको वार्षिकोत्सवको अवसरमा चलचित्र ब्यानर, वितरक, निर्माता कम्पनीले पत्रिकामा शुभकामना दिएको फेला पारे । त्यसमध्ये एक निर्माता तथा कलाकार थिए तैयव शाह ।
पत्रिकामा फोन नम्बर थियो प्रदिपले फोन गरे । आफ्नो परिचय दिएपछि भने, ‘म नेपाली चलचित्र हेर्छु । मसँग एउटा कथा छ ।’ उनले आफूसँग भएको कथालाई लिएर निरन्तर फोन गर्न थाले । एकदिन भेट्न गए, कथा सुनाए ।
त्यो कथा काम लागेन तर प्रदिपले ‘बेइमानी’ नामक चलचित्रमा सहायक निर्देशक भएर काम गर्ने मौका पाए । केही चलचित्रमा सहायक निर्देशक भएर काम गरे । त्यसपश्चात उनी टेलिशृंखलातिर लागे ।
मह जोडीसँगको सहकार्य
कान्तिपुर टेलिभिजनमा ‘चाहना मनको’ भन्ने टेलिशृंखलामा काम गर्न थाले उनी । त्यसपश्चात् ‘नारी’ टेलिशृंखलामा काम गरे उनले । जुन गौरीशंकर धुजुले बनाउँथे । उनी मह जोडीको शृंखलाको ‘क्यामेरा मेन’ थिए । त्यहीबाट भएको हो प्रदिप र मह जोडीको सहकार्य ।
२०६३ सालमा ‘टिकेको तीन मन्त्र’ टेलिशृंखलामार्फत प्रदिप मह जोडीसँग जोडिए । त्यसपछि प्रदिपले मह जोडीको मन जिते । महजोडी पनि प्रदिपको कामबाट खुशी भए । प्रदिप सम्झन्छन्, ‘मैले उहाँहरूको कामलाई बढी समय दिन थाले । उहाँहरू पनि मेरो कामबाट सन्तुष्ट हुँदै जानुभयो ।’
त्यसपछि मह जोडीका अधिकांश काम प्रदिपले जिम्मा पाए । निर्देशन त भइहाल्यो, कति टेलिशृंखलाको कथा लेखे, कतिको गीत लेखे उनले ।
यही त जात्रा हो
यो बीचमा मह जोडीले चलचित्र निर्माण गरेको थिएन । कुरा हुन्थ्यो – प्रदिप अब हामी चलचित्र बनाउनुपर्यो, निर्देशन तिमीले गर्ने । तर प्रदिपले मह सञ्चारको चलचित्रभन्दा अगाडि ‘जात्रा’ निर्देशन गरे ।
मह सञ्चारको टीमभित्र एक जना थिए सिंगे लामा । उनले नै प्रदिपलाई चलचित्र बनाउने प्रस्ताव राखेका थिए ।
सानो बजेटमा चलचित्र बनाउने उनको प्रस्ताव थियो । प्रदिपले सोचे – पहिलो चलचित्र यसरी सानो बजेटमा गर्नुभन्दा टीम बढाएर अलि बजेटमा राम्रो बनाउने ।
यादव पौडेल टीमभित्र थपिए । उनलाई लाग्यो – अब त चलचित्र बन्छ । केही गरी रोकियो भने मदन दाइ, हरि दाइ नि हुनुहुन्छ ।
प्रदिपसँग स्क्रिप्ट थियो, टीममा सुनाए । कलाकारको खोजी भयो । विपिन कार्की, रविन्द्रसिंह बानियाँ लगायतका कलाकार छनोट भए । रविन्द्रले कथा मन परेर निर्माता पनि बन्ने आग्रह गरे ।
प्रदिपका अनुसार शुरुवातमा ‘जात्रा’मा ५ जना हिरोको कथा थियो । त्यो कथा प्रदिपले निर्देशक मनोज पण्डितलाई सुनाए । ‘तर उहाँले पहिलो चलचित्र त्यो कथामा नगर्न सल्लाह दिनुभयो,’ प्रदिप सुनाउँछन्, ‘जात्रा भनेपछि जात्रै हुने खालको केही गरौं न भन्नुभएको थियो ।’
प्रदिपले सोच्न थाले केमा जात्रा हुन्छ त ? उनले केही दिन बिराउँदै मनोजलाई कथा सुनाउन थाले । तर मनोजले कथा रुचाएनन् ।
छायांकनस्थल टुंगो लागिसकेको थियो । गीत रेकर्ड भइसकेको थियो । चलचित्र छायांकनमा जान लागिसकेको थियो । उनी चिन्तित भए ।
‘तत्कालका लागि चलचित्र नगर्ने सोचमा पुगिसकेका थियौं । कलाकारहरूलाई म्यासेज गरिसकेका थियौं,’ प्रदिप सुनाउँछन् । पछि उनले आफूसँग भएको ३ पात्रको कथा मनोजलाई सुनाए ।
‘यही त जात्रा हो । पैसा चिम्लेर काम शुरू गरे हुन्छ,’ कथा सुनेर मनोजले भने । यही कथामा चलचित्र ‘जात्रा’ बन्यो । दर्शक–समीक्षकले रुचाए । चलचित्रले लगानी उठाएर केही रुपैयाँ नाफा दिलायो ।
मह सञ्चारले २ वर्षपछि चलचित्र ‘शत्रुगते’ बनायो । प्रदिपले निर्देशन गरे । चलचित्र ‘सुपर हिट’ भयो । त्यसपछि ‘जात्रा’को अर्काे भाग ‘जात्रै जात्रा’ निर्देशन गरे । यो चलचित्रप्रति पनि प्रदिपलाई ठूलो आशा छ ।
‘मह जोडी : एक विश्वविद्यालय’
प्रदिपले ७ वर्षअघि विवाह गरेका हुन् । उनका ५ वर्षीय छोरा छन् । जीवनको यो क्षणसम्म आउँदा पाएको सफलताबाट खुशी छन् प्रदिप ।
हिजो कलेज छनोट गर्न नसक्दा वा काठमाडौं आएपछि राम्रो सल्लाह दिने नजिकको मानिस नहुँदा केही वर्ष उनलाई खुबै पश्चाताप लाग्यो । तर आज उनी पश्चाताप मान्दैनन् ।
‘जब मदन दाइ, हरि दाइसँग जोडिए । टेलिशृंखला, चलचित्र निर्माणका कुरा मात्र होइन, जीवन दर्शनका कुरा पनि सिक्ने अवसर पाए,’ प्रदिप भन्छन्, ‘राम्रो कलेज पढेको भए आज बैंकर हुन्थे वा कुनै क्षेत्रमा जागिरे हुन्थे होला तर यो क्षेत्रमा लागेर मैले कलेजभन्दा ठूलो मह विश्वविद्यालयमा पढ्ने अवसर पाएँ ।’ लाेकान्तरबाट