Erani Mahal
बालापनकाे उमेर..........
s kumar
रामबहादुर गरंजा- यहाँ म नाङ्गै शरीर र खाली खुट्टा हिँड्दाको बिपनाको कुरा गर्दैछु । शायद कतिपयलाई लाग्न सक्छ, सपनाको कुरा । यो मान्छेको मन, बेलुन त होइन तर कहिलेकाँही बेलुन बन्न मन लाग्ने त्यस्तैगरि कहिले काँही चिल बनी उडौं-उडौं जस्तो लाग्ने रहेछ । यस्तै एउटा जिन्दगीको यात्राको कुरा गर्दैछु र कलम चलाउने जमर्को गरेको छु । यहाँ बिशेषगरी मैले मेरो जीवनमा बालापनको भोगाईका तिता-मिठा अनुभव र अनुभूतिहरुलाई संक्षिप्त रुपमा जस्ताको-तस्तै पस्कने जमर्को गरेको छु । आजको दिन मलाई जन्म दिने मेरो भगवान आमा-बाबा, मलाई बाल्यकालमा र बिद्यार्थीकालमा दिशा-निर्देश गरिरहने र मलाई कहिल्यै गलत बाटोमा हिड्न नदिने मेरो गुरु हजूरआमा, आफू अभावमा बाँचेर पनि सधै मलाई अगाडि बढ्न हौसला र सहयोग प्रदान गर्ने जीवन संगिनी र जीवनको यात्रामा आजसम्म मलाई सकारात्मक सुझाव र सल्लाह दिँदै आत्मबललाई दरिलो बनाईदिने मेरा आदारणिय अग्रज र साथीहरुलाई यो क्षणमा संझन चाहन्छु साथै उच्च सम्मान पनि टक्य्राउन चाहन्छु । म उहाँहरुप्रति आभारी र ऋणी पनि छु । जसले गर्दा मैले यो संसार देख्न पाए, यो पृथ्वी भ्रमण गर्न पाए र केही गरेर देखाउनुपर्छ भन्ने शिक्षा पाए । यो नै मेरो जीवनको सबैभन्दा ठुलो सम्पत्ती मानेको छु र यसलाई मेरो सफलता ठानेको छु । किनकी उहाँहरु नभएको भए र मलाई गन्तव्य निर्देशन नगरेको भए आज म यस्तो अवस्थामा हुने थिएन । उही पुरानो अन्धविश्वास र रुढीबादी संसारमा रमेको हुन्थे यात एक छाक भोजनको लागि पागलसरी डंगुरमा डुलिरहेको हुन्थे होला । आफू सानैदेखि जुन वातावरणमा घुलमेल भइयो वा जुन वातावरणमा जीवनयापन गरियो त्यही वातावरणमा पूनर्मिलन हुने मन जुनैपनि सजिब प्राणीहरुलाई लाग्दोरहेछ । त्यसैले रामले भनेका रहेछन्-"जननी जन्म भूमिश्च स्वर्गादपी गरायसी ।" यसको मुख्य सार भनेको आमा र जन्मभूमी स्वर्गभन्दा पनि प्यारो र माया हुन्छ । त्यसैले मेरो जन्मभूमिमा बिताएका बालापनका पलहरुको बारेमा केही चर्चा गर्न सान्दर्भिक ठान्छु । मेरो जन्म पश्चिम पाल्पाको कम्युनिष्टहरुको आधारकिल्ला मानिने सिद्बेश्वर १ भुटुक्दी हाल रैनादेवी छहरा १ सिद्बेश्वर भन्ने सुन्दर गाउँमा बाबा भुवान सिंह गरंजा र आमा शोभाकला गरंजाको कोखबाट २०४१ साल भदौ ५ गतेका दिन अभाव, गरिबी र नेपाल सरकारको ऋणी बन्दै जेठा छोराको रुपमा भएको थियो । म बिस्तारै वाएँ खराउँदै, ताते-ताते गर्दै हिँडडुल गर्न थाले क्रमशः मेरो बहिनी रुपा र २ भाईहरु तुलाराम र कमलको पनि जन्म भयो नेपाल सरकारको ऋण बोकेर । हाम्रो परिवारमा आम्दानीको कुनै श्रोत नभएकाले आर्थिक समस्याले सताई मेरो बाबा हामीलाई पाल्न र पढाउनको लागि भारततिर जाने-आउने गर्नुहुन्थ्यो । भने आमाले बाख्रा, कुखुरा पालेर घर व्यबहार चलाउने गर्नुहुन्थ्यो । यसरी नै हाम्रो परिवारको गुजारा चलेको थियो । यसै बिचबाट मेरो बाल्यकाल पनि अघि बढ्दै थियो । मेरो हजूरआमा देबीकला पनि साह्रै मिहेनती र परिश्रमी हुनुहुन्थ्यो । के गर्ने हजूरबुवाले आधा बाटोमै छोडेर जानुभयो, त्यसैले उहाँ अभाव र दुःखसँग राम्रोसँग खेल्न जान्नुभएको थियो । मेरो हजूरआमाका दुइभाई छोराहरु भुवान सिंह गरंजा र दल बहादुर गरंजा जसमा म जेठा छोराको पहिलो नाति थिए । हजूरआमाले मलाई सानैदेखि एकदमै माया गर्नुहुन्थ्यो, शायद पहिलो सन्तान भएर होला । मैलेपनि उहाँलाई औधी माया र आदर गर्थे । मेरो धेरैजसो साथ हजूरआमासँग हुन्थ्यो । कैयौं रात उखान, टुक्का र कथा सुनाई उहाँ र रास्कोटी बुवै (हजूरआमाको आमाजू) सँग बिताएका पलहरु आजैजस्ता लाग्छन् । आफू जहाँ जाँदापनि सँगै लिएर जाने आदत जस्तै बनेको थियो । किनकी उहाँलाई पनि त सहारा चाहिएको थियो । बेला-बेलामा मेरो हजूरआमासँग दुःख-सुखका कुरा हुन्थे, उहाँले सधै मलाई ठूलो भएर आफ्नो नाम रोषनी गरेस बाबु भनेर आशिर्बाद दिनुहुन्थ्यो । चाडपर्ब आउँदा चेलीबेटीलाई निम्ता गर्न हामी (म र किसन) लाई पठाउनुहुन्थ्यो, गएबापत बाटोखर्च पनि मिल्थ्यो र हामी धेरै खुसी हुन्थ्यौं । मेरो कान्छी फुपुको घर हाम्रो घरदेखि माथी साउनेको लेकमा पर्दथ्यो । फुपुलाई लिन र छोड्न जाँदा साँझको बेला लेकमा त्यो डुब्न लागिरहेको घामको दृश्य र चराचुरङ्गीको बास बस्ने बेला कोलाहलको रमाइलो क्षण मेरो लागि निकै महत्वपूर्ण बन्यो । त्यस्तैगरि सोमादी १, भगानी (सालघारी) माइली फुपुको घरमा जाँदा कहिले बाटामा धैरीको फूल र ऐसेलु खाएर भूलेका पल त कहिले गुदेली लिएर चराचुरङ्गीसँग हराएका क्षण पनि निकै रमाइलो रह्यो । उपल्लो गाउँका साथीहरुसँग बेलडाडामा स्वामीको रुखमा चढी बिभिन्न प्रकारका खेल खेलिन्थ्यो, जो हाम्रो साथी बनी साथ दिन्थ्यो उ पनि अहिले निकै बुढो भएछ । तिजमा बेलडाडामा साथीसँग चर्के पिङ खेल्दा डराएर सातो खाएका क्षण भनौ त कहिले दशैको बेला म र किसन मामाघर गई फर्कदा बाटोमा कस्को पैसा धेरै भयो ? भनि गनेका कुरा निकै संझनयोग्य छन् । एकचोटी मलाई घरमा आमाले बहिनी रुवाएको भनेर पिट्न खोज्दा आमालाई गाली गरी हजूरआमाले मलाई जोगाएको कुरा निकै स्मरणीय छ । अनि हाम्रो हजूरआमाले पाल्नुभएका १ जोडा गोरु (काले र तारे) थिए । एकदिन म र किसन घरदेखि तल जंगलमा गोरु चराउन गयौं, म वारीपट्टी अनि किसन पारीपट्टी भएर माहारा गर्दै थियौं । गोरुले दुःख दिँदा मैले वारीबाट हानेको ढुङ्गाले किसनको टाउकोमा लागि रगत बगेको पल म निकै अत्तालिए अनि डराए । तर परिवारले गाली बाहेक अरु केही गरेनन् । माहारा जाँदा तल्लो गाउँका साथीभाईसँग झेर्दीमा खल्लुक (तिजु) को काँचो दाना टिपी धोएर सेतो बनाई खाँएको, कहिले पाकेको दाना धेरै खाँएर रिंगटा लागेको र कहिले झेर्दीको चौपारीमा बरको बोटमा लुकामारी खेल्दा गोरु हराएको र पछि खोज्दै जाँदा अरुको बालीमा पसेको कारणले हजूरआमाले रामधुलाई गर्नुभएको क्षणपनि निकै अचम्म थिए । तर दुर्भाग्य मेरो हजूरआमा अहिले हामीमाझ हुनुहुँदैन । त्यो पल म धेरै दुःखी भए जुन २०७१ साल मंसिर ६ गते शनिवारको दिन थियो । पार्टीको कामको शिलशिलामा जाँदा म उहाँलाई जिबीतै भेट्न सकिन अनि एक थोपा पानी समेत पिलाउन पाइन । शायद केही कुराहरु मसँग शेयर गर्न चाहनुहुन्थ्योहोला त्यो पनि पाउनुभएन । त्यो कुरा अहिले पनि मेरो लागि अपसोंचको बिषय बनेको छ । सानैदेखि पढाईमा अलि मिहेनत गर्ने हुनाले मेरो नतिजा राम्रो थियो । श्री भवानी प्राथमिक बिद्यालय जहाँ मलाई घरबाट पुग्न करिब २० मिनेट जति समय लाग्थ्यो । मैले शिक्षा लिने ठाउँ (बिद्यालय) जंगलको बिच र सुन्दर मनोरम वातावरणमा अवस्थित थियो । पढाइमा कुनैपनि वातावरणले समस्या पार्दैनथ्यो । कक्षा १-५ सम्म मैले राम्रै नतिजा लिएर पढे । लगभग २०४९-०५० साल तिरको कुरा हो, कक्षा १ बाट २ मा जाँदा म दोस्रो भएको थिए । त्यतिखेर मेरा साथीहरु नर बहादुर घर्ति, कमल दर्लामी, तुलाराम ताङ्नामी, सुमी गरंजा, नारायण कुमाल, प्रेम बुढा, खिमा गरंजा, सुरेश गाहा, गिर बहादुर गरंजा, शिव, हुमा बुढा, किसन गरंजा, मुक्त बहादुर बुढा, रुमा गरंजा लगायत थिए । म उनीहरुलाई जहिले पनि संझिरहन्छु, किनकी तिनीहरु मेरा १ कक्षा देखिका साथीहरु थिए । कक्षा २ बाट ३ मा जाँदा स्कुल द्बितिय हुनुका साथै म कक्षा प्रथम भएको थिए भने कमला गरंजा दोस्रो र किसन गरंजा तेस्रो भएका थिए । पढाइमा मेरो नर बहादुर, कमला र किसनसँग निकै प्रतिस्पर्धा हुने गर्थ्यो । मेरो सबैभन्दा खुसीको क्षण कक्षा ३ बाट ४ मा जाँदा थियो, जुन बेला म स्कुल प्रथम भएको थिए । स्कुलका गुरुहरु, बिद्यार्थी साथीहरु र घरपरिवार सबैले बधाई दिदा म धेरै प्रसन्न भए । परिश्रम गरे सफल भइन्छ भन्ने कुरा बल्ल थाहा पाए । उक्त स्थानमा पुर्‍याउन मलाई सहयोग गर्नुहुने मेरा हेड शर राम प्रसाद अर्याल, गुरुहरु श्याम बहादुर गरंजा, शेषनारायण ज्ञवाली र तुलाराम गरंजा लगायत सबैमा बिशेष आभार प्रकट गर्न चाहन्छु । अहिले पनि भवानी प्राबिमा साथीहरुसँग कपड्डी, कुस्ती, भलिबल, घैटोफोर, रुमाल लुकाउने जस्ता खेलहरु खेलेको कुरा यादगार बनेको छ । एक दिनको कुरा हो हामीहरु खोलामा पौडी खेल्न जाने पूर्व सल्लाह मुताविक गयौं । बाटामा जाँदा अरुका बारीमा आरु र बेलौटी चोरेर खाँदै-खेल्दै खोलामा पुग्यौ । त्यसपछि सबै साथीहरु आ-आफ्ना कपडा उतारी पौडी खेल्न शुरु गरे, म पनि त्यती पौडी खेल्न नजान्ने हुनाले छेउ-छाउमा खेल्दै थिएँ । खेल्दै जाने क्रममा एक्कासी गहिरो ठाउँमा डुब्न पो पुगेछु । म साह्रै अत्तालिए र धेरै पानी पनि पिएछु । म डुबेको केही समय त कसैले पनि थाहाँ पाएनन् । पछि मेरो अंकलको छोरा (भुपाल भाई) आएर मलाई बचायो । खोला नजिकै घर भएकाले उ पौडी खेल्न माहिर थियो । जसले मलाई खोला बाहिर ल्याई पेटभित्रको पानी निकाली बचाएको पल पनि मेरो लागि अविष्मरणीय रह्यो । ति स्कुले जिबनमा साथीभाईसँग पोलेका मकै, काक्रा र रोटी बाडेर खाँएका कुराले आजपनि मलाई झझल्को दिने गर्छ । त्यस्तैगरि साथीहरुसँग स्कुलबाट घर फर्कदा बाटोमा किम्मु र जामुन खाएर लडेका पल अनि स्कुल बिदा भएको दिन गाउँमा मल फाल्न जाँदा ओथारो छाङ खाएर मातिएका क्षण निकै रमाइला थिए । त्यतिमात्र होइन चैते दशैमा चौपारी डाडाको मन्दिरमा सराए खेलेको, बडा दशैको उपलक्ष्यमा जनकल्याण युवा क्लबको आयोजनामा गाउँमा सांस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिता भएको र तिहारमा साथीभाइ मिली देउसी भैलो खेली रमाइलो गरेको जस्ता कुराहरु अझैपनि मेरो संझनाका पानाहरुमा ताजै छन् । त्यस्तैगरि रिडी बजार गएर फर्कदा होस या सातमुरेबाट उकालो चढ्दा होस्, थकाई अनि भोक झेर्दीको चिसो पानीले मेटाइदिन्थ्यो र धेरै आनन्द लाग्थ्यो । लाग्छ, अब त्यो जीवन जतिसुकै सङ्घर्ष गरेपनि पाइदैन । आहा ! कति रमाईला थिए ति दिन, ति उमेर, ति बालापन र ति मित्रता । अहिले सम्झिदा पनि हिजो जस्तो लाग्छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update