पाल्पा – ‘सबैले सक्दो सहयोग गरिदिए ज्यान बाँच्छ की भन्ने आशा छ’ यति भन्दाभन्दै लक्ष्मी विश्वकर्मा भक्कानिन थाल्नुभयो । ‘मेरो छोरी सानै छिन् । रुँदै किन यस्तो भयो ममी भन्छिन् । मलाई यही छोरीको बढी पीर छ ’– भक्कानिँदै यति बोलेपछि ५ वर्षीय छोरीतर्फ हेर्दै सम्हालिन खोज्नुभयो ।
मुखबाट कापेको स्वर निकाल्दै सकिनसकी फेरि बोल्नुभयो, ‘मलाई सास फेर्न गाह्रो हुन्छ, पेट फुल्छ, छाती दुख्छ । दुई पाईला पनि हिँड्न सक्दिन । ट्वाइलेट पनि बोकेर लैजानुपर्छ ।’ लक्ष्मी बोलिरहँदा उहाँका श्रीमान हिरालाल घरअगाडि अर्कोपट्टी फर्किएर पारीपारी हेर्दै हिक्क...हिक्क...गर्दै हुनुहुन्थ्यो। सायद, श्रीमतीको सकस सुनेर उहाँमा हिक्का छुट्ेको हुनुपर्छ !
यो पाल्पाको बगनासकाली गाउँपालिका ,–२ पोखराथोक ढड्यानको एक परिवारमा देखिएको दृश्य हो । परिवारकी ३६ वर्षीय लक्ष्मी मिर्गौलाको बिरामी हुनुहुन्छ । उहाँको दुवै मिर्गौलाले काम गर्न छोडेको झण्डै डेढ वर्ष भईसकेको छ । हप्ताको तीनपटक डायलासिस गराउनुपर्छ, त्यसका लागि तानसेनको बन्दीपोखरामा रहेको डायलासिस सेन्टर धाउनुपर्छ ।
लक्ष्मीको उपचार र रेखदेखमा श्रीमान ४१ वर्षीय हिरालाल रातदिन लाग्नुभएको छ । गुल्मी शान्तीपुरमा सुनको काम गर्ने हिरालाल श्रीमती बिरामी भएपछि घर फर्किनुभयो । त्यसयता परिवारकै आयस्रोत सुक्यो, श्रीमतीको उपचारका लागि भएको पैसा सकिँदै गयो । भएका गरगहना सकियो । हुँदा हुँदा केही भाँडाकुँडासमेत बिक्री गनुभयो । ‘हालसम्म १५ लाख रुपैयाँ बढी खर्च भएको छ । श्रीमती बिरामी भएपछि म काम गर्न जान पाउँदैन, श्रीमतीलाई हेरचाह गरेर बस्नुपर्यो । सहयोग माग्ने ठाउँ पनि छैन् । श्रीमतीको अवस्था दिनदिनै बिग्रिरहेको छ’ हिरालालले हात जोडदै भन्नुभयो, –‘आजसम्म जेनतन गरेर औषधी गरेँ । अहिले डायलासिस गराउन लैजाने गाडीभाडा समेत छैन् । सक्नेले सहयोग गर्नुभयो भने मेरी श्रीमती बाँच्ने थिइन् ।’
लक्ष्मीलाई रोगले च्यापेको भने पाँच वर्ष भयो । एकदिन बारीमा काम गर्दागर्दै त्यही लड्नुभयो । तानसेनस्थित मिशन अस्पताल पुर्याइयो, डाक्टरले टाउकोको नशामा समस्या रहेको बताए । तीन महिनाका लागि औषधी दिईयो । त्यतिबेला श्रीमान कपिलवस्तुको कृष्णनगरमा बसेर सुनको काम गर्नुहुन्थ्यो । श्रीमान बिदा लिएर घर आएर श्रीमतीको रेखदेखमा लाग्नुभयो । दैनिक चारपटक औषधी खुवाउनुपथ्र्यो । तीन महिना काम नगरी श्रीमतीको रेखदेखमा लागेपछि अब त ठिक भयो भनेर श्रीमान काममा फर्किनुभयो ।
पछि फेरि, लक्ष्मी बारीमा लडेर अस्पताल भर्ना हुनुभयो । आँखा, खुट्टा, शरिर सुन्निएको थियो । अस्पतालमा जब डाक्टरबाट दुवै मिर्गौलाले काम गर्न छाडेको सुन्नुभयो, उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । श्रीमानलाई खबर भयो, अनि श्रीमान काम छाडेर फर्किनुभयो । श्रीमतीको उपचारका लागि निरन्तर लाग्नुभयो । रुपन्देही लैजानुभयो । चार पटक काठमाडौंका अस्पतालमा लगेर उपचार गराउनुभयो ।
लक्ष्मी भन्नुहुन्छ, –‘श्रीमानले सक्नेजति सबै गर्नुभएको छ । मेरो उपचारका लागि भनेर अहिले भाँडाकुँडा समेत बिक्री गर्न थाल्नुभएको छ । पहिले त बाँच्छु की भन्ने आशा थियो । अहिले त्यो पनि हराउँदै गएको छ ।’
[caption id="attachment_15589" align="alignnone" width="768"] –५ वर्षीय छोरीका साथ मिर्गौला रोगी लक्ष्मी र श्रीमान हिरालाल विश्वकर्मा ।[/caption]
हिरालाल–लक्ष्मीका दुई छोरी र एक छोरा हुनुहुन्छ । आमा बिरामी भएपछि जेठी छोरी आफै विवाह गरेर गएको हिरालालले बताउनुभयो । घरमा समस्या देखेर १५ वर्षीय छोरालाई फुपूले कृष्णनगर लगेर राख्नुभएको छ । साथमा ५ वर्षकी छोरी हुनुहुन्छ । ‘सक्दो गरेकैँ हुँ, अहिले हप्तामा तीनपटक गराउनुपर्ने डायलासिस दुईपटक गराउँदै आएको छु । त्यहाँसम्म लैजाने भाडासमेत नभएपछि हजुरहरुलाई गुहारेको हुँ’– हिरालालले सञ्चारकर्मीसंग छुट्टिने बेला पनि पुनः हात जोड्दै भन्नुभयो ।
लक्ष्मीको उपचारमा आर्थिक सहयोग गर्न चाहानेले श्रीमान हिरालाल विश्वकर्माको नाममा रहेको नेपाल बैंक लिमिटेडको खाता नं.०१७११३०६७६८६४५०००००१ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७ १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय