पाल्पा– सांसद् एवं पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले तानसेनस्थित ‘कोभिड १९ परीक्षण प्रयोगशाला’को लागि पीसीआर परीक्षण किट हस्तान्तरण गर्नुभएको छ । बुधवार तानसेनमा एक कार्यक्रमबीच उहाँले स्वास्थ्य विभागबाट प्राप्त १ हजार थान पीसीआर परीक्षण किट पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेय र मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिश कुँवरलाई हस्तान्तरण गर्नुभयो ।
तानसेनको काजिपौवामा निर्माण गरिएको कोरोना प्रयोगशाला पाल्पा अस्पतालको मातहतमा रहेको छ । सांसद् पाण्डेयकै विशेष पहलमा स्थापना भएको प्रयोगशालाको लागि संघीय सरकारले एक करोड रुपैयाँ छुट्याएको थियो । सोही रकमबाट पीसीआर मेसिन खरिद खरिएको हो । प्रयोगशालामा दुई साता अघिदेखि कोरोना परीक्षण हुँदै आएको छ ।
सांसद् पाण्डेले यसअघि पनि दुई पटक पीसीआर परीक्षण किट ल्याएर हस्तान्तरण गर्नुभएको थियो । किट हस्तान्तरण गर्दै सांसद् पाण्डेयले निकै जोडबलका साथ बजेट विनियोजन गरिएको र प्रयोगशाला शुरु भएको बताउनुभयो । अहिले किट व्यवस्थापनमा पनि सहज नभएकाले आफै लिएर आएको बताउनुभयो ।
अस्पतालका अध्यक्ष नेत्र पाण्डेयले बजेट अभावका कारण प्रयोगशाला संचालनमा समस्या भएको बताउनुभयो । उहाँले स्थानीय तहले बजेट उपलब्ध गराउने निर्णय गरेपनि हालसम्म नगराउँदा समस्या भईरहेको बताउनुभयो । तानसेन नगरपालिकाबाट ९ लाख रुपैयाँ उपलब्ध भएपनि अन्य स्थानीय तहबाट नआएको उहाँले बताउनुभयो ।
प्रयोगशालामा ६ सय बढीको पीसीआर बिधिबाट नमुना परीक्षण गरिएको छ । हालसम्म ६ सय ३० जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको प्रयोगशालाका इञ्चार्ज खिमध्वज कार्कीले जानकारी दिनुभयो । बिचमा केहीदिन मेसिनमा समस्या आएको भएपनि अहिले दैनिक ९० नमुना परीक्षण भईरहेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७ ०९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय