पाल्पा – दशै नजिकिँदै जाँदा वर्षाका कारण बिग्रिएका पाल्पाका ग्रामीण सडकहरुको मर्मत कार्य शुरु गरिएको छ । केही सडकहरु मर्मत गरिसकिएको छ । केही मर्मतको क्रममा छन् । दशैंलाई लक्षित गर्दै आवागमन सहज बनाउन स्थानीय तहले सडक मर्मतको कामलाई अगाडी बढाएका हुन् ।
पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले वर्षाले बिग्रिएका सडक मर्मतको काम भईरहेको जानकारी दिनुभयो । उहाँले ईरानीमहलसंग भन्नुभयो, –‘यसवर्ष वर्षाले पालिकाभित्र धेरै स्थानमा सडक बिगारेको थियो । अहिलेसम्म गाउँपालिका केन्द्र र वडाकेन्द्र जोड्ने सडक मर्मतको काम सकिएको छ । टोल बस्तीमा पुग्ने सडकहरुको मर्मत गर्ने काम पनि सम्भवतः एक साताभित्र सकिन्छ ।’ उहाँले दशैं नजिकिँदै जाँदा प्राथमिकताको आधारमा सडकको मर्मत गरिएको जानकारी दिनुभयो ।
बगनासकाली गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले पालिकाभित्रका मुख्य सडक मर्मत गर्न सम्बन्धित वडालाई जिम्मा दिईएको जानकारी दिनुभयो । ‘सबै वडामा सडक मर्मतको काम भईरहेको छ । २/४ दिनमा सबै वडामा गाडी चल्नेगरी सडक मर्मत हुन्छ’ –उहाँले भन्नुभयो । वगनासकाली ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारी यसवर्ष वर्षाले वडाभित्रका धेरै सडक बिगारेको बताउनुभयो । उहाँले वडाभित्र प्राथमिकताका आधारमा उपभोक्ता समितिमार्फत सडक मर्मत/सोर्ने काम भईरहेको जानकारी दिनुभयो ।
रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले पनि दशैं नजिकिँदा गाउँबस्तीका बिग्रिएका सडक मर्मतको काम अगाडि बढाएको जानकारी दिएका छन् । रिब्दिकोट गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनाल मुख्य सडक मर्मतको काम पालिकाबाट भईरहेको र टोलसम्म पुग्ने सडक मर्मतको काम वडाबाट भईरहेको बताउनुभयो ।
रैनादेवी छहरा गाउँपालिकाका प्रवत्ता विष्णु पोखरेलले भन्नुभयो, ‘मुख्य सडकहरु सुचारु नै छन् । भित्री सडकहरु वडास्तरीय उपभोक्ता समिति गठन गरेर मर्मत गर्ने जिम्मा दिईसकेका छौं ।’ केही दिनमा पालिकाभित्रका वडामा गाउँबस्तीसम्म पुग्ने सडक मर्मतको काम सकिने पोखरेलले जानकारी दिनुभयो ।
पाल्पाका अन्य स्थानीय तहले पनि सडक मर्मतको काम अघि बढाएका छन् । गाउँ र नगर कार्यसमितिबाट बजेट विनियोजन गरेर सडकका खाल्डाखुल्डी पुर्ने, मर्मत तथा सोर्ने काम भईरहेको स्थानीय तहले जनाएका छन् । सडक डिभिजन कार्यालय, पाल्पाले पनि नजिकिँदो दशैंलाई मध्येनजर गर्दै सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकको मर्मत÷पहिरो हटाउने कार्य शुरु गरेको छ ।