पाल्पा – पाल्पाको एक निजी विद्यालयका शिक्षकले कोरोनाका कारण विद्यालय बन्द भएपछि काठका सामग्री बनाएर बिक्री गरी आयआर्जन गर्नुभएको छ । विद्यालय बन्द भएपछि आफूले जानेको सीपलाई सदुपयोग गर्दै शिक्षक पशुपति बस्यालले कोठाबाटै काठका सामग्री बनाएर बेच्नुभएको हो ।
सदरमुकाम तानसेनको सिल्खानटोलमा छोरी र श्रीमतीसँग बस्दै आउनुभएका उहाँले साउन महिनादेखि आफू बस्ने कोठाबाटै काठका सामग्री बनाएर बेच्न थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो –‘चैतमा सरकारले लकडाउनको घोषणा गरेसँगै विद्यालयहरू बन्द भए । निजी विद्यालयमा शिक्षण गरेका कारण विद्यालयले थोरै मात्र तलब दिन थाल्यो । लकडाउन खुल्ला र पढाउन पाइएला भन्ने आशा गर्दागर्दै असार लाग्यो, विद्यालय खुल्ने छाँट पनि आएन । अनि आर्थिक रुपमा गाह्रो हुन लागेपछि वैकल्पिक कामका रुपमा काठका सामग्री बनाएर बेच्न थालेँ ।’
एकदिन छिमेकीले उहाँसंग ढोकाको पल्ला फेर्न सहयोग मागेका थिए । उहाँमा पहिल्यैदेखि फर्निचरसम्बन्धि कामको सामान्य ज्ञान थियो, त्यसैले ढोका बनाइदिनुभयो । छिमेकीले केही पैसा पनि दिए, अनि उहाँमा साँेच आयो– ममा यससम्बन्धी सीप छ । अब यसलाई सदुपयोग गर्छु ।
उहाँलाई श्रीमती हेमा कुमारीले काम गर्न हौसला दिनुभयो । श्रीमतीतर्फ हेर्दै पशुपति भन्नुहुन्छ –‘यो कामको प्रेरणाको श्रोत नै उनी हुन् । उनले नै मेरो सीप सदुपयोग गर्न निरन्तर हौसला दिइन् ।’
साउनयता उहाँले कोठामा पूजा गर्ने मन्दिर, रोटी बेल्ने चक्का, पैसा राख्ने खुत्रुके, फिनी बेल्ने पिर्का, बस्ने पिर्का, मेकअप सामानहरू राख्ने भाँडा, पेन बक्स तथा कपडा राख्ने दराज बनाएको बताउनुभयो । कोठामा पूजा गर्ने मन्दिर १० वटाजति बिक्री गरेको समेत बताउनुभयो । उहाँले बनाएका सामग्री बिक्रीबाट २५ हजार रुपैयाँ आम्दानी भएको सुनाउनुभयो ।
बिक्रीका लागि बनाएका केही सामग्री अझै कोठामा छन् । श्रीमती हेमा कुमारी भन्नुहुन्छ, –‘उहाँमा यो सीप लुकिरहेको थियो । अहिले त्यो सीप देखाउने अवसर पाउनुभएको छ । यसमा मलाई खुसी लागेको छ । अहिले काठको काम गर्न थालेपछि घरखर्च चलाउन पनि सजिलो भएको छ ।’
आफूसँग रहेको पुरानो करौँतीबाट काम सुरु गर्नुभएका बस्यालले अर्डर आउन थालेसँगै प्लाई काट्ने मेसिन, ड्रिल मेसिन, खाक्सी मेसिनलगायतका सामग्रीहरू किन्नुभएको छ । ३५ वर्षिय पशुपति विगत १२ वर्षदेखि शिक्षण पेशा गर्दै आउनुभएको छ । शिक्षण गरिरहँदा उहाँलाई यस्तो दिन आउला भन्ने कहिल्यै लागेको थिएन ।
यद्यपी, कोरोना महामारीले आफूलाई नयाँ पाठ सिकाएको उहाँले बताउनुभयो । ‘विद्यालय बन्द नभएको भए मैले यो काम गर्ने थिइनँ होला,’ बाहिर हाँसे पनि मनमा पीडा छचल्किने स्वरमा उहाँले भन्नुभयो, –‘मान्छेलाई जब दुःख पर्छ तब उपाय खोजिँदो रहेछ । यो कुरा अहिले कोरोनाले सिकाएको छ ।’
अहिले विद्यालय बन्द भएको ६ महिनाभन्दा बढी भएको छ । केही विद्यालयहरु खुल्न पनि थालेका छन् । विद्यालय खुलेर कहिलेदेखि पढाउन पाईने हो ? टुंगो छैन । तर, विद्यालय खुलेपछि पनि साँझ–बिहानको समयमा यो कामलाई निरन्तरता दिने बस्यालको भनाई छ । ‘यो मैले दुःख पर्दा अंगालेको पेसा हो, दुःखमा साथ दिएका औजारलाई खिया लाग्न दिनेछैन’– उहाँ भन्नुहुन्छ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७ १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय