पाल्पा - जिल्लाको निस्दी गाउँपालिकालाई यसैवर्ष खरको छानोरहित गाउँपालिका बनाउने अभियान शुरु गरिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम अनुसार निस्दीलाई खरको छानो मुक्त घर बनाउने उद्देश्यले गाउँपालिकाभरि प्रत्येक घरधुरीलाई कर्कट पाता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले बताउनुभएको छ ।
गत वर्षको तथ्यांक अनुसार निस्दीमा २८३ घरमा खरको छानो रहेको प्रवक्ता सुनारीले बताउनुभयो । खरको छानो हुने प्रत्येक घरधुरीलाई २४ पाताको दरले निलो रङ्गको कर्कट पाता वितरण गरिएको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘प्रत्येक वर्ष जङ्गलबाट खर काटेर छाउनुपर्ने, विस्तारै खर हराउँदै गएको र स्थानीय जनताले सास्ती खेप्नुपरेकोले गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । ’ जङ्गलको काठ दाउरा पनि संरक्षण हुने भन्दै जनताहरुको माग र आवश्यकता अनुसार अभियान शुरु गरिएको प्रष्ट पार्नुभएको छ ।
निस्दीले यस वर्ष कर्कटपाता वितरण गर्नको लागि १ करोड रुपैयाँ विनियोजन गरिएको प्रशासकीय प्रमुख भगवान भक्त अर्यालले जानकारी गराउनुभयो । ‘यो साल घर जसरी पनि छाउनु परेको, खर कहाँ खोज्ने होला भन्ने लागेको थियो । गाउँपालिका बाट कर्कटपाता पाएपछि खुशी लाएको छ’– अर्चलेका याम बहादुर सारुले बताउनुभयो । यस वर्ष निस्दीको बाकामलाङ्गमा सबैभन्दा धेरै ६९ घरधुरी, सहलकोटमा १८ घरधुरी, झिरुबासमा ३८ घरधुरीलाई कर्कटपाता वितरण गरिने छ । त्यसैगरी मित्यालमा ३५ घर, गल्धामा ३८ घर, अर्चलेमा ३५ घर र ज्यामिरेमा ५१ घर गरि कुल २८३ घरपरिवारलाई वितरण गरिएको हो ।
यसैबीच निस्दी गाउँपालिकाले २ सय २० घरपरिवारलाई फलामको सुधारिएको चुल्हो समेत वितरण गरेको छ । नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रद्वारा लक्षित वर्गका लागि वितरण गरिएको प्रवक्ता सुनारीले बताउनुभएको छ । जसमा वडा नम्बर ६, अर्चलेलाई १ सय १० र वडा नम्बर ४ मित्याललाई १ सय २० घरपरिवारलाई अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७ १८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय