Erani Mahal
दशैँ पर्व नजिकिदैं, तर व्यापार-व्यवसाय सुनसान
kk
पाल्पा - नेपालीहरुको सबैभन्दा ठूलो चार्ड दशैं क्रमश नजिकिँदैछ । आजको मितिबाट २१ दिनपछि दशैं पर्छ । विगतका वर्षमा यतिबेला बजारमा दशैंको चहलपहल शुरु भैसकेको हुन्थ्यो । पाल्पा सदरमुकाम तानसेनको सन्दर्भमा यहाँका खाद्यान्न, लत्ताकपडा लगायतका पसलमा ग्राहकको बाक्लो भीड देखिन्थ्यो ।   दशैंलाई मिठो खानो र नयाँ कपडा लगाउने पर्वका रुपमा समेत लिईने भएका कारण खाद्यान्न र कपडा पसल विशेष भीडभाड रहन्थे । व्यापारीहरुमा व्यस्ततासँगै छुट्टै उत्साह देखिन्थ्यो । तर, यसवर्षको माहोल अर्कै छ । यसवर्ष न व्यापारीहरु उत्ति व्यस्त देखिन्छन्, न उत्साहित नै ।       कोरोना भाइरसका कारण यसवर्ष दशैंको मुखमा पनि व्यापार राम्रो नहुँदा आफूहरुमा व्यस्तता र उत्साह दुबै नभएको तानसेनका व्यापारीहरुको भनाई छ । सो भनाई राख्नेमध्ये एक हुनुहुन्छ, –विशालबजारमा किराना पसल संचालन गर्दै आउनुभएका भोजबहादुर थापा । उहाँले आईतबार ईरानीमहलसँग भन्नुभयो, –‘विगतमा त यतिबेला भ्याईनभ्याई हुन्थ्यो । तर, यसवर्ष व्यापार धेरै कम छ ।’ कोरोना त्रास कायमै रहेकोले ग्रामीण क्षेत्रबाट मानिसहरु बजार आएर किनमेल गर्न डराएका कारण व्यापार कम भएको उहाँको बुझाई छ ।   विगतका वर्षहरुमा दशैंको महिना दिन अघिदेखि व्यापार गर्न भ्याईनभ्याई हुने गरेपनि यसवर्ष त्यस्तो नरहेको मखनटोलमा रहेको अग्रहरी किराना स्टोर्सका सन्तोष अग्रहरीले बताउनुभयो । उहाँले भन्नुभयो, –‘विगतमा दशैंको मुखमा पसलमा भीडभाड हुनाले ३ जना बसेर व्यापार गथ्र्यौ । यसवर्ष म एक्लै छु । त्यसमाथि फुर्सदिलो भएर बसिरहेको छु ।’   यसवर्ष कपडाको व्यापार पनि नभएको भिमसेनटोलमा फेन्सी पसल संचालन गर्दै आउनुभएका कमल ढकालले बताउनुभयो । उहाँ बजारमा हिँडडुल गर्ने मानिसहरुको चहलपहल राम्रै देखिएपनि पसलमा व्यापार नभएको बताउनुहुन्छ । लामो समय लकडाउनका भएका कारण मानिसमा आर्थिक समस्या भएका कारण पनि व्यापार नभएको उहाँको अनुमान छ ।   ‘मानिसले अहिले अत्यावशेक कुरा मात्र किनेको छ । कपडा त यसवर्ष पहिलेकै लगाउँ भन्ने सोँच पनि मानिसमा हुनसक्छ’– उहाँले सुनाउनुभयो । मखनटोलमा फेन्सी पसल चलाउने थानेश्वर पाण्डेले दशैंको मुखमा पनि व्यापार नहुँदा मोबाइल चलाउँदै दिन कटाउनुपरेको सुनाउँनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update