Search
आइत, चैत्र २, २०८१

बालाजु बाइसधारा : मल्लकालीन सम्पदा, धार्मिक आस्थाको केन्द्र

११ वैशाख, काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ । घुइँचोको कारण सो स्थान भएर चल्ने सवारी साधन डाइभर्सन गरिएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बालाजु बाइसधारामा मेला लाग्ने गर्दछ । यो मेला पाँच दिनसम्म चल्छ ।

स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने यो मेला भर्न बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकहरु पनि पुगेका छन् । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पूण्य प्राप्त हुने जनविश्वास छ ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्न बिहानैदेखि भक्तजनको घुइँचो लागेको जानकारी दिए ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने अनुमान समितिले गरेको छ ।

मल्लकालीन सम्पदा

बालाजुको बाइस धारा मल्लकालीन ऐतिहासिक सम्पदा हो । नेपाल संवत् ८७५ तिर कान्तिपुरका अन्तिम मल्ल राजा जयपप्रकाश मल्लले सुरुमा २१ धारा स्थापना गरेका थिए ।

पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले एउटा ढुंगेधारा थपे । त्यसपछि धाराहरुको संख्या बाइस पुग्यो । तिनै धाराहरुका कारण बालाजुको सो क्षेत्रको नाम नै बाइस धारा रहन गयो ।

यो ठाउँ काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनी पर्छ । त्यहाँ सुन्दर पार्क छ । काठमाडौं बालाजुबाट बाइपासतर्फ मोडिएपछि बाइस–धारा पार्क भेटिन्छ ।

करिब १६२ रोपनी क्षेत्रफलमा फैलिएको यो मनोहर पार्क शहरवासीको सुस्ताउने गन्तव्य बनेको छ ।

पार्कभित्र विष्णु, शिव लगायत भगवानका मन्दिर  गुम्वाहरु छन् । त्यसैले यो हिन्दु र बौद्ध धर्मावलम्बीहरुको धार्मिक आस्थाको केन्द्र पनि मानिन्छ ।

महायानी दार्शनिक आचार्य नागार्जुनले बुद्ध भगवानको स्मरण गरी यही जामाचो पहाड (हाल नागार्जुन) रहेको गुफामा ध्यान–साधना गरेर सिद्धी प्राप्त गरेको बताइन्छ । त्यही कारण सो क्षेत्रको डाँडोलाई नागार्जुन भनिएको जनश्रुती छ । स्थानीय नेवार समुदायले भने यस स्थानलाई ल्हुति भन्ने गर्दछन् ।

बाइसधारामा स्नान गरी मृत आफन्तको नाममा बत्ती बाल्ने परम्परा छ । साथै नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँको हालको सेतोपाटीमा राखी हवन तथा राँगाको बलि दिने परम्परा छ ।

मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसंग जोडिएको छ । ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुन्छ । यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

आदिकवि भानुभक्त आचार्यले बालाजुको मनोरम दृष्यलाई स्वर्गजस्तै ठानेर कविता नै लेखेका छन्– ‘यति दिनपछि मैले आज बालाजु देख्या, पृथ्वी तल भरीमा स्वर्ग हो जानी लेख्या ।’

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।