पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनको पहिलो बैठक माथागढी गाउँपालिकाको सभाहलमा नीति तथा कार्यक्रमहरु पारित गर्दै सकिएको छ ।
सभामा गाउँपालिका अध्यक्ष यमबहादुर चिदीदरा प्रस्तुत आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम माथि विस्तृत छलफल गरिई सर्वसम्मतीले पारित गरिएको जनाएको छ ।
अध्यक्ष चिदीले प्रस्तुत नीति तथा कार्यक्रम अनुसार समावेशी सुशासन, गुणस्तरीय सेवा, सामाजिक न्याय, दिगो पूर्वाधार विकास तथा स्थानीय स्रोतको अधिकतम उपयोग मार्फत आत्मनिर्भर र समृद्ध गाउँपालिका निर्माण गर्ने लक्ष्य लिइएको छ ।
चालु आर्थिक वर्षको समीक्षा प्रस्तुत गर्दै अध्यक्ष चिदीले ८ दशमलब ४ किमी नयाँ सडक निर्माण, १५ दशमलव ४ किमी सडक चौडा, २ वटा बक्स कल्भर्ट, १५ शैयाको अस्पताल भवन ८५ प्रतिशत सम्पन्न, १२ वटा खानेपानी ट्यांकी, ५९ धारा निर्माण, १६९ योजनामध्ये १६० उपभोक्ता समितिका योजना सम्पन्न भएको समेत सभामा जानकारी गराउनुभयो ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र युवा क्षेत्रमा विशेष प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा प्रत्येक वडामा खेलमैदान निर्माण, गुणस्तरीय शिक्षा प्रवद्र्धन, स्वास्थ्यमैत्री सेवा विस्तार, कृषि यान्त्रीकरण तथा मौलिक उत्पादनको प्रवद्र्धन लगायतका कार्यक्रमलाई जोड दिइएको छ । युवालाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यले सीपमूलक तालिम, सहकारी प्रवद्र्धन, साना तथा मझौला उद्योग स्थापना तथा पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको अध्यक्ष चिदीले बताउनुभयो । उहाँले गाउँपालिकाले विपन्न, अपांगता भएका, जेष्ठ नागरिक, महिला र दलित वर्गको सामाजिक सुरक्षालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको बताउनुभयो ।
सोमबार पहिलो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएपछि मंगलबार गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि कुल ६३ करोड ७४ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । जसमा शिक्षिका सुत्केरी विदामा बस्दा पढाइ प्रभावित हुन नदिन गाउँपालिकाले ‘सट्टा शिक्षक’ राख्ने व्यवस्था गर्ने सहित सामाजिक सेवा, पूर्वाधार विकास, कृषि र शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा दिइएको छ ।
गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेले नीति तथा कार्यक्रममा आधारित रहेर प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । गाउँपालिकाको बजेटमा आन्तरिक स्रोतबाट एक करोड ६४ लाख, संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड र गत वर्षको मौज्दात समेत गरी स्रोत सुनिश्चित गरिएको छ । जसमा चालुतर्फ ४३ करोड ८९ लाख र पूँजीगततर्फ १९ करोड ८५ लाख बजेट विनियोजन गरिएको सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।