पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । रम्भा गाउँपालिका, गाउँ सभाको १७ औं अधिवेशनको पहिलो बैठकमा अध्यक्ष विष्णुप्रसाद भण्डारीले आर्थिक समृद्धि र समावेशी विकासमा केन्द्रित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । उहाँले नीति कार्यक्रमहरु फेशवुकबाट समेत जनतालाई जानकारी गराइएको बताउनुभयो ।
रम्भा गाउँपालिकाको शान, सुखी रम्भाबासी, समृद्ध रम्भा हाम्रो अभियान“ भन्ने मूल नाराका साथ गाउँपालिकाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, सुशासन, डिजिटल सेवा लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको अध्यक्ष भण्डारीले बताउनुभयो । गाउँपालिकाले कृषि तथा पशुपालनलाई आर्थिक विकासको मेरुदण्डको रूपमा लिनुका साथै उत्पादन वृद्धि, बजारीकरण, सहुलियत कर्जा, प्राविधिक सेवा, जैविक मल उत्पादनदेखि लिएर भूमि बैंक स्थापनासम्मका कार्यक्रम समावेश गरेको छ ।
पर्यटनको क्षेत्रमा रिमिघा र रम्भादेवी मन्दिरलाई मुख्य पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, उत्तर गण्डकी महामेला महोत्सव आयोजना गर्ने, स्वास्थ्य क्षेत्रमा पोषणमैत्री स्वास्थ्य संस्था, निशुल्क रक्तसेवा, मोतियाविन्दु शल्यक्रिया, पूर्ण खोप सुनिश्चितता, वृद्ध र दीर्घरोगीका लागि घरमै सेवा, स्वास्थ्यकर्मीको क्षमता विकास, मधुमेह परीक्षण निःशुल्कजस्ता कार्यक्रम समावेस रहेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो ।
यस्तैगरी शिक्षामा विद्यार्थी संख्या अनुसार दरबन्दी व्यवस्थापन, गुणस्तरीय शिक्षा प्रवद्र्धन, शिक्षक तालिम, विद्यार्थी दुर्घटना विमा, आत्मरक्षा तालिम, बालमैत्री विद्यालय अभियान, अभिभावकत्व ग्रहण, महिला र दलित विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था, युवाका लागि स्वरोजगार प्रवद्र्धन, सीपमूलक तालिम, “मेरो जन्मभूमि मेरो दायित्व“ कार्यक्रममार्फत विदेशबाट फर्किएका युवालाई पुनःस्थापना गरिने योजना रहेको अध्यक्ष भण्डारीले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै, महिला, बालबालिका, अपांगता भएका व्यक्ति, दलित र सीमान्तकृत समुदायको सहभागिता र सशक्तीकरणका लागि लक्षित कार्यक्रमहरू रहेका छन् ।
पूर्वाधारतर्फ लिफ्टिङ सिँचाई, प्रशासकीय भवन निर्माण, सडक स्तरवृद्धि, टुकीरहित गाउँपालिका, एक घर एक धारा, सरसफाइ व्यवस्थापन, डिजिटल गाउँपालिकाको विकास, सार्वजनिक सम्पत्तिको संरक्षण, सूचना प्रविधिमा नागरिक साक्षरताको विस्तारजस्ता कार्यलाई प्राथमिकता दिइएने जनाइएको छ । सभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि सभाका सदस्य इस्वरी काफ्ले र डिल्लीराम अर्याललगायतले सुझाव राख्नुभएको थियो । शुक्रबार नै नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ ।