पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिकाले शिक्षक, विद्यार्थीसम्मानसँगै विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेको छ । शुक्रबार गाउँपालिका सहभाहलमा कार्यक्रम आयोजना गरी खेलकुद सामग्री वितरण तथा शिक्षक, विद्यार्थी सम्मान गरेको हो ।
गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि विद्यार्थी, शिक्षकलाई उत्साह भर्न कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा बगनासकाली गाउँपालिकाभित्रका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउन सघाउने शिक्षकहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकालमा शैक्षिण गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले आफ्नो विद्यालयलाई अगाडि बढाउन शिक्षक, विद्यार्थीसम्मानले विद्यालयहरूमा आन्तरिक प्रतिस्पर्धा कायम हुँदै शैक्षिक गुणस्तर कायम हुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बगनासकालीको शिक्षामा सुधार गर्न शिक्षक, अभिभावक र व्यवस्थापन समितिबाट सहकार्य गरी अगाडि बढ्ने बताउनुभयो ।
उहाँले विद्यालयमा गुणस्तरीय शिक्षा बढाउन शैक्षिक सुधार तथा व्यवस्थापन कार्यदल गठन गरी कार्यक्रम अगाडि बढाइएको जानकारी दिनुभयो । सोही अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले गाउँपालिकाको शैक्षिक सुधारका लागि सवै स्वच्छ प्रतिस्पर्धासहित एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापा, सिद्धि मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन थापा, राम माध्यमिक विद्यालयका प्रधानाध्यापक डोलराज बस्याल, शिक्षक गोपीकृष्ण देवकोटा लगायतले सामुदायिक विद्यालयमा रहेका समस्या समाधान गर्न, दिवा खाजाको कार्यक्रम बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
यसैबीच कार्यक्रमकै सन्दर्भ पारेर गाउँपालिकाले ३७ वटै विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख नारायण तिमिल्सिनाले बालमैत्री कार्यक्रम अन्तर्गत विद्यार्थीको न्यूनतम आवश्यकता पूर्ति गर्ने उद्देश्यले शैक्षिक तथा खेलकूद सामग्री प्रदान गरिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षता, प्रवक्ता टिकाबहादुर थापाको स्वागत र शिक्षा शाखा प्रमुख नारायण तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम भएको हो । सोही अवसरमा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, कर्मचारी, सरोकारवाला लगायतको सहभागिता थियो ।