पाल्पा – स्ववियु निर्वाचन हुन अब दुई दिनमात्र बाँकी छ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनले क्याम्पसमा विद्यार्थी संगठनका गतिविधि बढ्न थालेका छन् । स्ववियुको निर्वाचन नजिकै आएपछि विभिन्न दल समर्थित विद्यार्थी संगठनहरुको क्रियाशिलताले तीव्रता पाएको छ ।
पश्चिम नेपालकै ऐतिहासिक क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा पनि पछिल्लो समय चुनावी माहौल तातेको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अनेरास्ववियू (समाजवादी), अखिल छैठौँ लगायतका विद्यार्थी संगठनले आफ्ना गतिबिधि बढाएका छन् ।
केही दिनपछि हुने स्ववियु निर्वाचनमा नेवि संघबाट यसअघिका स्ववियु अध्यक्ष कृष्ण अर्याललाई नै पुन अध्यक्षको उम्मेदवार बनाएको छ । यसअघिको स्ववियुमा काम गरेको भन्दै नेवि संघले अर्याललाई दोहो¥याएको जनाएको छ । क्याम्पसको स्ववियुमा नेवि संघको पछिल्लो डेढ दशकयता नेतृत्व रहँदै आएको र अखिल छैठौँसँग सहकार्य गरेकाले आफूहरुले पुन चुनाव जित्ने नेताहरुको दावी छ । क्याम्पससँगको सहकार्यमा यसअघि विद्यार्थीको हितमा विभिन्न काम गरेको अध्यक्ष पदका उम्मेदवार अर्यालको भनाई छ ।
उता अनेरास्ववियुले यस पटक महिलालाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ । पछिल्लो समय क्याम्पसमा अध्ययन् गर्ने महिला विद्यार्थीको संख्या बढेकोले महिलालाई नै नेतृत्व दिने गरी स्ववियु अध्यक्षको उम्मेदवार बनाएको नेताहरुले जनाएका छन् । विद्यार्थीको पक्षमा काम गर्न आफूहरूले यस पटक सक्षम उम्मेदवारलाई अध्यक्ष पदमा अघि सारेको नेताहरुको दावी छ । आफूलाई नेवि संघ र क्रान्तिकारीका उम्मेदवारले समेत समर्थन गरिसकेकाले अनेरास्ववियुबाट अध्यक्ष पदकी उम्मेदवार अर्यालले दावी गर्नुभयो ।
यस्तै अखिल (क्रान्तिकारी)ले अध्यक्ष पदमा मिलन घर्तीमगरलाई अघि सारेको छ । यसअघि त्रिवक्यामा नेवि संघ र अनेरास्ववियुले नेतृत्व गरिसकेकाले यस पटक आफूहरूले जित्ने दावी क्रान्तिकारीको छ । पछिल्लो समय क्याम्पस सुधार र विद्यार्थीको हितमा अन्य निकायसँगको सहकार्यमा क्रान्तिकारीले काम गरेको क्रान्तिकारीबाट अध्यक्ष पदका उम्मेदवार घर्तीमगरको दावी छ ।
उता अनेरास्ववियू (समाजवादी)ले उमेश भण्डारीलाई अध्यक्षमा अघि सारेको छ । भण्डारीले आफूले व्यक्तिगत रुपमा विद्यार्थीलाई स्वच्छ खानेपानीको सुविधासहितको काम काम गरेको दावी गर्नुभयो । विद्यार्थी संगठनले केवल विद्यार्थीको हित अनुसार काम गर्न सक्नुपर्नेमा उहाँको भनाई छ ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा विभिन्न चार विद्यार्थी संगठनबाट ३७ जना प्रत्यक्षतर्फका उम्मेदवार रहेका छन् । त्यसमध्ये केहीले उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । स्ववियुको कुल १९ जना पदाधिकारीमध्ये अध्यक्ष, सचिव र कोषाध्यक्षसहित दश पदमा प्रत्यक्ष निर्वाचन हुनेछ । ९ पदमा समानुपातिक निर्वाचन हुनेछ । समानुपातिकमा संगठनलाई मत दिनुपर्ने प्रावधान छ । क्याम्पसमा १ हजार ८९४ जना मतदाता विद्यार्थी रहेको क्याम्पस प्रमुख डा. टंक पन्थले जानकारी दिनुभयो ।
