तानसेन – पाल्पाका किसानले मौरीसहितको गोला बिक्री गरेर वार्षिक झण्डै दुई करोड गाउँमा भित्र्याउन सफल भएका छन् । जिल्लाको बगनासकाली–७, खानीगाउँस्थित ‘रानीमहल मौरीपालन कृषक समूह’का ३१ जना किसानले मौरीसहितको गोला बिक्री गरेर वार्षिक झण्डै दुई करोड आम्दानी गर्न सफल भएका हुन् ।
समूहका किसानले वर्षभरिमा दुई हजार तीन सय बढी मौरीसहितको गोला बिक्री गर्दै आएका छन् । वि.स. २०७७ पुसमा गठन भएको समूहले वर्षमा दुई पटक मौरीको गोला पाल्पा गुल्मी, प्युठान, अर्घाखाँची, रुपन्देही, दाङ्, रोल्पा, सल्यान, गोरखालगायतका जिल्लामा बिक्री गर्दै आएको समूहका अध्यक्ष गिरीप्रसाद गैरेले बताउनुभयो । ‘समूहमा आवद्ध ३१ जना किसानहरूले वर्षमा दुई हजार तीन सय बढी मौरीका गोला बिक्री गर्दै आएका छौँ उहाँले भन्नुभयो ।’
पाँच वर्षअघिदेखि सुरु गरेको मौरीको गोला (मौरीसहितको घार) उत्पादनको कामबाट उनीहरू उत्साहित छन् । गैरेले अनुसार मौरी (वंश) हुर्काउने र बिक्री गर्ने काम आफूहरूले गर्दै आएको बताउनुभयो । उहाँका अनुसार एउटा मौरीको गोलालाई छ हजारदखि आठ हजार रुपियाँसम्ममा बिक्री भइरहेको छ ।
मौरीको गोला उत्पादक किसानले एउटा मूल घार (गोला)बाट वर्षभरिमा चारदेखि आठ गोला मौरी उत्पादन गर्दै आएका छन् । मौरीलाई दिने खाना, हेरचाह र गोला छुट्याउने विधिले मौरीको सङ्ख्या उत्पादन भर पर्ने किसानको बुझाइ छ । एउटा गोलामा पाँच वटा फ्रेम भएको राम्रो मानिन्छ । समूहका अध्यक्ष गैरेले आफूले वार्षिक आठदेखि दश लाख रुपियाँको मौरीको गोला बिक्री गर्ने बताउनुभयो ।
मौरीको गोला उत्पादनका लागि खासै खर्च पनि नहुने अर्का किसान केशव पचभैँयाले बताउनुभयो । सुरुमा मुख्य गोला उत्पादनमा २५ प्रतिशत खर्च भएपनि मौरीको गोला छुट्याउँदा खासै खर्च नहुने किसानको अनुभव छ । नेपाल प्रहरीमा १६ वर्ष सेवा गरेर पेन्सन निस्कनु भएका पचभैँयाले मौरीपालनबाट वार्षिक १८ लाख आम्दानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीको जागिरमा भन्दा अहिले मौरीपालन गर्दा धेरै गुना खुसी छु, यसैको पैसाबाट घर बनाइयो, बैँकमा मौज्दात राखियो ।’
पचभैँयाको घरवरपर, बारी र जङ्गलमा हाल ७३ वटा मौरीको गोला रहेका छन् । उहाँले वार्षिक ३५० देखि ४०० वटा गोला बिक्री गर्ने जानकारी दिनुभयो । महँ बिक्री गर्ने भन्दा गोला बिक्री गर्दा राम्रो फाइदा हुने उहाँको बुझाई छ । टुनीका काठबाट बनाइएका घरमा मौरीको गोला राम्रोसँग हुर्कने किसान बताउँछन् । समूहले वार्षिक १५ क्वीण्टल मह बिक्री गर्दै आएको छ ।
