होम राई मगर पाल्पा – जनक माध्यमिक विद्यालय निस्दी-३,झिरुबास,पाल्पाले ६०औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर पाटा मगरको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँपालिका वडा नम्बर-३,झिरुबासका वडा अध्यक्ष नबिन्द्र थापा सोती रहनुभएको हो ।
कार्यक्रममा मुख्य पाहुना वडा अध्यक्ष सोतीले विद्यालयले गरेको शैक्षिक तथा भौतिक प्रगतिको प्रशंसा गर्नुभएको थियो । उहाँले निस्दीले शैक्षिक उपलब्धि वृद्धि र शैक्षिक बिकासका लागि महत्त्वका साथ योजना तथा कार्यक्रम सन्चालन गरिएको बताउनुभयो ।
कार्यपालिका सदस्य देबीसरा सोमैले भौतिक बिकासलाई मात्र बिकास भएको मान्न नसकिने बताउनु हुँदै शैक्षिक बिकासले समाज परिवर्तनमा जोड दिने बताउनु भयो । कार्यक्रममा मुना प्राथमिक विद्यालयका प्रधानाध्यापक सुनिल ढेंगा, आर्थिक संयोजक कुशल सिङ ढेंगा, समाजसेवी वीर बहादुर पाटा लगायतकाले बोल्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक भोम बहादुर थापाले विद्यालयको शैक्षिक तथा आर्थिक प्रगति बारे जानकारी दिनु हुँदै आर्थिक वर्ष २०७९/०८० सालको करीव ८३ लाख २३ हजार बराबरको आम्दानी तथा खर्च सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा राम्रो गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरुबाट सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो । विद्यालयका शिक्षक रेवनसिं सोतीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन शिक्षिका लोकमाया थापाले गर्नुभएको हो ।