हाेम राइमगर, पाल्पा – निस्दी गाउँपालिकाकाे अर्धवार्षिक सार्वजनिक सुनुवाई भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।
निस्दीमा चालु तर्फ ४० दशमलव ८८ प्रतिशत र पूँजीगत तर्फ १०दशमलव १९ प्रतिशत खर्च प्रगति भएको प्रतिवेदनमा उल्लेख छ । निस्दीमा यस वर्ष १ सय ४६ वटा योजना तथा कार्यक्रम मध्ये पौष मसान्तसम्म १७ वटा योजना मात्र सम्पन्न भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जस अन्तर्गत निस्दीको वडा नम्बर-५,गल्धामा सबैभन्दा धेरै ६ वटा योजना तथा कार्यक्रम सम्पन्न भएको छ भने सबैभन्दा कम वडा नम्बर-६,को अर्चलेमा कुनै पनि योजना तथा कार्यक्रम सम्पन्न भएको छैन ।
निस्दीले विगतमा झै विभिन्न आयोजनाहरुको अनुगमन गरिएको,एकीकृत घुम्ती शिविरका साथै पालिका स्तरीय पकेट बिकास कार्यक्रम सन्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारमुलक आयोजनामा संलग्न गराइएको, सात वटै वडा जोडिने गरि केम खाम्चा मार्गको ग्रावेल तथा स्तरउन्नति सन्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
आन्तरिक पर्यटन प्रवर्द्धनको लागि विशेष योजना सन्चालनका साथै स्थानीय कृषि उपजलाई बिक्री वितरणमा सहजता ल्याउन योजना तथा कार्यक्रम सन्चालन गरिएको बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले निस्दीमा शैक्षिक गुणस्तर, बाल उड्डयन निर्माण, पर्यटन प्रबर्द्धन, बिजुली, यातायात, खानेपानी, लगायत बिकासका पूर्वाधार निर्माणमा जोड दिनुपर्ने पर्ने जिज्ञासा तथा सुझाव राखेका छन ।
गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जिज्ञासा तथा सुझाव दिनुहुने सबैलाई धन्यवाद दिनुहुँदै पालिकाले परिमाणमुखी भन्दा परिणाम आउने खालको काम गरिने बताउनुभयाे । अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसायमूलक र उत्पादनमुखी काम गरिने जानकारी दिनुभयाे । गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको कार्यक्रममा नेपाली कांग्रेसका शालिकराम पाण्डेय, गोरखनाथ माविका प्रधानाध्यापक इश्वरी प्रसाद अर्याल, जीवनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक चित्र सिंह आले, निस्दी आवाजका प्रतिनिधि अनुराग सुनारी लगायतले गाउँपालिकाले सन्चालन गरेका योजना तथा कार्यक्रमबारे जिज्ञासा राख्नु भएको थियाे । सहभागीले उठाएका जिज्ञासाहरुको जवाफ लालीगुराँस सामुदायिक विद्धुतका अध्यक्ष दुर्ग बहादुर सोमै,विभिन्न विषयगत शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिका अध्यक्षले दिनुभएको छ ।