दाङ – लुम्बिनी प्रदेश सरकारको मन्त्रालयमध्ये सबैभन्दा धेरै वित्तीय प्रगति स्वास्थ्य मन्त्रालयले गरेको छ । २०८१ फागुन ३ सम्मको मन्त्रालयगत खर्चको विवरण अनुसार स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै वित्तीय खर्च गरेको हो ।
मन्त्रालय तथा अन्य निकाय गरी १६ वटा कार्यालयहरूमध्ये सबैभन्दा धेरै वित्तीय प्रगति प्रदेश सरकार मातहतकाे स्वास्थ्य मन्त्रालयले गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव डिलाराम पन्थीले आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामा प्रस्तुत गरेको प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय १६ वटा कार्यालय मध्ये प्रथम भएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले मन्त्रालयले योजनामा विनियोजन गरेका बजेटको कार्यान्वयनका लागि मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको बताउनुभयो । मन्त्री सारुले निर्धारित योजना कार्यान्वयन गरी नागरिकले महशुस गर्ने गरि नतिजामुखी कामलाई मन्त्रालयले प्राथमिकता दिएके बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले ५१.११ प्रतिशत बजेट खर्च गरेको छ । जसमा ३६.०९ प्रतिशत चालु र ६९.६७ प्रतिशत पुँजीगत खर्च रहेको छ । त्यस्तै प्रदेश लोक सेवा आयोगले ४७.१३, प्रदेश सभाले ४०.८७, स्थानीय तह निकासामा ३४.३८, आर्थिक मामिला तथा योजना मन्त्रालयले ३२.९३, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले २४.१०, सहरी विकास तथा खानेपानी मन्त्रालयले २४.०० र वन तथा वातावरण मन्त्रालयले २२.८४ प्रतिशत खर्च गरेको छ ।
त्यस्तै प्रदेश योजना आयोगले २०.६१, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले १९.९६, भौतिक पुर्वाधार विकास मन्त्रालयले १९.५८, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले १४.६४, सामाजिक विकास मन्त्रालयले १४.३६, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले १२.५१, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६.१३ र महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले १.०४ प्रतिशत खर्च गरेको छ ।