तानसेन – जिल्लाको छ पालिकामा निर्माणाधीन आधारभूत अस्पताल निर्माण कछुवा गतिमा अगाडि बढेको छ । वजेट अभावका कारण निर्माण गर्ने समयअबधि सकिँदासम्म पनि काम सक्ने अवस्था छैन । जिल्लाको चार पालिकामा चार वर्षअघि सुरु भएको आधारभूत अस्पताल निर्माणको काम हालसम्म ८० प्रतिशत पुग्न सकेको छैन ।
तीन वर्षभित्र काम सक्ने गरी निस्दी, पूर्वखोला, माथागढी र बगनासकाली गाउँपालिकामा चार वर्षअघि २०७८ असार २३ गतेदेखि अस्पताल निर्माणको काम थालनी गरिएको थियो । यद्यपी निर्माण सम्पन्न गर्ने समयाबधि डेढ वर्ष बितिसक्दासमेत आधारभूत अस्पतालको काम ८० प्रतिशत सकिएको छैन ।
वजेट अभावका कारण अस्पताल निर्माणको कामले गति लिन नसकेको बगनासकाली गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले बताउनुभयो ।

निर्माण व्यवसायीले समयमै सक्ने गरी काम गरेपनि वजेट दिन नसक्ने भएपछि काममा ढिलाइ भएको उहाँले बताउनुभयो । आधारभूत अस्पताल निर्माणका लागि सङ्घीय सरकारले आवश्यक वजेट समयमै व्यवस्थापन गर्न नसकेको पालिकाहरूको गुनासो छ । पालिकाका अनुसार यही गतिमा आधारभूत अस्पतालको काम सकिन अझैँ केही वर्ष लाग्नेछ ।
सरकारले चार वर्षअघि निस्दीको आधारभूत अस्पताल बनाउन १६ करोड ६८ लाखमा ठेक्का सम्झौता दिएको थियो । यस्तै पूर्वखोलाको वीरकोटमा १२ करोड ५१ लाखमा, बगनासकालीको अस्पतालका लागि १४ करोड ५० लाखमा ठेक्का दिएको थियो । यस्तै माथागढीको झडेवामा १२ करोड ५० लाखमा निर्माणको सम्झौता भएको थियाे ।
जिल्लाको रम्भामा भने गतवर्षदेखि १५ शैय्याको अस्पताल निर्माणको काम सुरु भएको थियो । रम्भा गाउँपालिकाको वडा नं. ५, ताहुँस्थित बाहुनडाँडामा १५ शैय्याको आधारभूत अस्पताल निर्माण भइरहेको छ । अस्पतालको भवन बनाउन १६ करोड ३७ लाख ८९ हजारमा आगामी २०८३ भदौँ ५ गतेभित्र सक्ने गरी ठेक्का सम्झौता भएको हो ।