पाल्पा – महिलाको पाठेघरको मुखकाे क्यान्सर बिरुद्धको खोप अभियान प्रभावकारी बनाउन जिल्ला खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीलाई अभिमुखीकरण गरिएको छ । आइतबार तानसेनमा भएको अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पाठेघरको क्यान्सर बिरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले क्यान्सर बिरुद्धको खोप पाउने छात्रा तथा तिनका परिवारमाझ प्रभावकारी सत्यतथ्य सूचना पु-याएर खोप कार्यक्रममा अनिवार्य सहभागी हुने वातावरण बनाउन संचारकर्मीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका ज्ञवाली गैरेले महिलालाई क्यान्सर हुनबाट बनाउन खोप कार्यक्रम सफल हुनुपर्नेमा जाेड दिनुभयाे । उहाँले स्वास्थ्यकर्मी, संचारकर्मी, जनप्रतिनिधि, सरोकारवाला निकाय मिलेर मात्र क्यान्सरबिरुद्धको अभियानलाई सफल बनाउन सकिने धारणा राख्नुभयो ।
यस्तै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले राज्यले भौतिक पूर्वाधारमा गरेको लगानी तत्कालै देखिएपनि शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको प्रतिफल देखिन केही समय लाग्ने उल्लेख गर्नुभयो । उहाँले खोप लगाउने सबै उमेर समूहका छात्राहरूलाई यस कार्यक्रममा सहभागी बनाउन आवश्यक सबै तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले संचारकर्मीको तर्फबाट खोप अभियान सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख टुकप्रसाद पोखरेलले पाल्पाका दश हजार ४५८ जना छात्राहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप (एचपिभी) लगाउने तयारी भएको जानकारी दिनुभयो । जिल्लाका दश पालिकाभित्रका विभिन्न विद्यालयमा अध्ययन्रत कक्षा ६ देखि कक्षा १० सम्मका १० हजार ४५८ जना छात्राहरूलाई एचपिभी खोप लगाउने तयारी भएको उहाँले बताउनुभयो ।
यही माघ २२ गतेदेखि २७ गतेसम्म रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा र माथागढी गाउँपालिकाका छात्राहरूलाई खोप लगाइनेछ । यस्तै दोस्रो चरण अन्तर्गत माघ २८ देखि फागुन ६ गतेसम्म तानसेन नगरपालिका, बगनासकाली, रिव्दीकोट, तिनाउ र रैनादेवी छहरा गाउँपालिकाका विद्यालयमा अध्ययन्रत छात्राहरूलाई खोप लगाइनेछ । खोप अभियानका लागि जिल्लाका ३१५ जना तालिमप्राप्त स्वास्थ्यकर्मी र ६२७ जना स्वयम्सेवक खटिनेछन् । खोप अभियानका लागि जिल्लाका विभिन्न स्थानका विद्यालयमा २०४ वटा र विद्यालयभन्दा बाहिर ३१ वटा खोप केन्द्र रहने पोखरेलले जानकारी दिनुभयो ।
खोप अभियान प्रभावकारी बनाउन सरोकारवालालाई अभिमुखीकरण, खोपबाट हुन सक्ने समस्या समाधानका लागि चिकित्सकसहितको टोली परिचालन गरिने खोप कार्यक्रमका फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले गर्भवती, क्यान्सर रोगी र सिकिस्त बिरामी बाहेक सबै लक्षित छात्राहरूलाई खोप लगाउन हुने जानकारी दिनुभयो । खोप लगाएपछि सामान्य साइड इफेक्ट देखिएपनि डराउन नपर्ने उहाँको भनाई छ ।