पाल्पा – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सरकारले अध्यादेश ल्याएको उल्लेख गर्नुभएको छ । शुक्रबार बगनासकाली गाउँपालिकास्थित चिलाङदीमा प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।
अध्यादेशले जनताको चाहना अनुसार विकास निर्माण र समृद्धि हासिल गर्न सहयोग पुग्ने विस्वाास उहाँले गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, ‘जनताको विकास र समृद्धि चाहना तीव्र होस् भन्ने चाहना छ, त्यसलाई पूरा गर्न सरकारले अध्यादेशमार्फत २९ वटा कानुनको संशोधन गरेको हो ।’ उक्त अध्यादेशले सरकारले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन र विकास निर्माणलाई समेत प्रभावकारी सक्ने उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले शिक्षकको निवृत्तिभरण सम्बन्धी विषण्मा बाहिर आएको विषयमा सत्यता नरहेको बताउँदै त्यसबाट मुक्त हुन शिक्षकहरूलाई आग्रह गर्नुभयो । उहाँले निवृत्तिभरण सम्बन्धी व्यवस्था कानुन पारित भएपछि मात्र कार्यान्वयन हुने भएकाले वि.स. २०७५ सालदेखि कानुन लागू हुने भन्ने विषय भ्रमपूर्ण रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले पाल्पालाई लुम्विनी प्रदेशकै पर्यटकीय स्थलको रुपमा विकास गरेर समृद्धिको चाहना पूरा गर्न सकिने विचार राख्नुभयो । उहाँले लुम्विनीमा आउने पर्यटकलाई पाल्पासम्म ल्याइ आराम गर्ने ‘हिल स्टेसन’का रुपमा विकास गर्न सकिने बताउनुभयो । त्यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले आ–आफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक रहेकोमा अर्थमन्त्री पौडेलले जोड दिनुभयो ।
मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली पाल्पा आएर पाल्पाली जनतालाई सम्बोधन गर्ने चाहना भएपनि स्वास्थ्य अवस्थाका कारण उहाँ प्रत्यक्ष सहभागी हुन नसकेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा उपयुक्त समय मिलाएर प्रम ओली पाल्पामा आउनुहुने जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयता कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । उहाँले जनताको चाहना र आवश्यकता पूरा गर्न स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रशासनिक भवन बनेपनि सेवा सहज हुने विस्वास गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य ठाकुर गैरे, प्रदेशसभा सदस्य वीरबहादुर रानालगायतले आ–आफ्नो धारणा राख्नुभयो । कार्यक्रम बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीको अध्यक्षता र उपाध्यक्ष हरि पाठकको स्वागतमा सम्पन्न भएको हो ।
बगनासकाली गाउँपालिकाको भवन निर्माणको जिम्मा पाएको न्यू ड्रयागन आर एण्ड आ जेभीले २०७८ फागुन ८ गते निर्माण सुरु गरी २०८० फागुन २ गते निर्माण सम्पन्न गरेको थियो । चार तले भवनमा १९ वटा कोठा रहेको गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले जानाकरी दिनुभयो । भवन निर्माणका लागि पाँच करोड ६७ लाख ४९ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले जानकारी दिनुभयो । यसैबीच सहरी विकास मन्त्री सिंह, अर्थमन्त्री पाैडेल, भाैतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललगायत तिनाउ गाउँपालिकाकाे प्रशासनिक भवन उद्घाटनमा सहभागी हुनुभयाे ।
