पाल्पा – माथागढी गाउँपालिकामा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ । बिहीबारदेखि माथागढी-३, स्थित सराइ खेल मैदानमा सुरु भएको प्रतियोगितामा पालिकाभित्रका १५ वटा विद्यालयका विद्यार्थीहरूले भाग लिएका छन् ।
रनिङ् शिल्ड प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभाका सदस्य नारायणप्रसाद आचार्यले गर्नुभएको हो । सो अवसरमा उहाँले विद्यार्थीमा अनुशासन र एकताको भावना जागृत गराउन खेलकुद प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । आचार्यले माथागढीले विगतमा पनि जिल्लास्तरीय खेल सञ्चालन गर्न सफल भएको उल्लेख गर्नुहुँदै पालिकाभित्रका विभिन्न विद्यालयहरूका बीचमा हुने प्रतिष्पर्धा सानदार रुपमा सम्पन्न हुने विस्वास गर्नुभयो । उहाँले माथागढीकाे सराइ क्षेत्रमा खेल क्षेत्रकाे पूर्वाधार निर्माण गरेर अगाडि बढ्न सकिने भएकाले त्यसका लागि पहल भइरहेकाे जानकारी दिनुभयाे ।
यस्तै माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले माध्यमिक तहका विद्यार्थीहरूले विभिन्न खेलमा प्रतिष्पर्धा गरेर आफूलाई अब्बल सावित गर्न आग्रह गर्नुभयो । पालिका स्तरीय प्रतिष्पर्धापछि जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा खेलाडीले सहभागी हुन पाउने उहाँको भनाई छ । खेल क्षेत्रमा भाग लिएर विद्यार्थीले आफूलाई अनुशासनमा राखी आफ्नाे प्रतीभा देखाउन उहाँले आग्रह गर्नुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष कमलराज तिमिल्सिनाले खेलकुद प्रतियाेगिताले खेलाडी र दर्शकमा समेत राष्ट्रिय भावना एकीकृत गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रम गाउँपालिकाका अध्यक्ष चिदीकाे अध्यक्षता, उपाध्यक्ष विष्णुमाया लुङ्चेको स्वागत, आयोजक विद्यालयको रुपमा रहेको दिव्यज्योति नमुना माविका प्रधानाध्यापक लोकेन्द्र थापाको संचालनमा सम्पन्न भएको हो ।
पालिकाका शिक्षा शाखा संयोजक प्रकाश पाठकका अनुसार दौड, हाइजम्प लङ्जम्प, कपड्डी, कराते, सटफुट, भलिबललगायतका खेलमा प्रतिष्पर्धा हुनेछ । यस्तै १५ वटा विद्यालयका तीन सय विद्यार्थीहरूले प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुने खेल संयोजक प्रेमबहादुर बाह्रघरेले जानकारी दिनुभयो ।