बगनासकाली गाउँपालिकामा पाँच महिनाअघि नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुनुभयो । त्यसअघिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल काम गर्दागर्दै हतारमा सरुवा हुनुप-यो । पालिकाको जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा मतभेद भए त्यस्ता अधिकृत वर्षदिन पनि टिक्दैनन् ।
जनप्रतिनिधिले भने अनुसार काम गर्दिए, त्यस्ता प्रमुख प्रशासकीय अधिकृतको थमौती हुने गरेको छ । तर जनप्रतिनिधि र कर्मचारीको बीचमा मदभेद बढेपछि त्यस्ता कर्मचारी तुरुन्त सरुवा हुने गरेको सेवाग्राही बताउँछन् । केही कर्मचारी त जनप्रतिनिधिले व्यक्तिगत महत्वाकांक्षामा तगारो बन्दा सरुवाको सिकार बन्ने गरेका छन् । कतिपय कर्मचारीको राजनैतिक विचारको आधारमा छुट्याएर सरुवा गर्ने प्रचलन बढेको छ ।
पालिकाको ऐन, कानुन अनुसार काम गर्दागर्दै कर्मचारी सरुवाको सिकार हुनुपरेको उनीहरूको गुनासो छ । पाँच महिनाअघि सरुवा हुनुभएका बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लम्सालले आफूलाई १६ पटकसम्म सरुवाका लागि मन्त्रालयमा डेलिगेसन गएको दावी गर्नुभयो । जनप्रतिनिधिले सुरुमा रोजेर नै प्रमुख प्रशासकीय अधिकृत ल्याउने गरेका छन् । तर काम गर्दागर्दै नमिलेपछि वर्षदिनपनि टिक्दैनन् ।
कर्मचारी जथाभावी सरुवामा चासो राख्ने जनप्रतिनिधिले काम पनि देखाउन सकेका छैनन् । ‘पालिकामा कर्मचारी र जनप्रतिनिधि मिलेर नै जनताको काम गर्ने हो । जसले आफ्नो स्वार्थअनुसार काम गर्न खोज्छन्, त्यहाँ मतभेद हुन्छ र पालिकाको उपलब्धी पनि कम देखिने गरेको अधिकारकर्मी बताउँछन् ।
कर्मचारी दुई÷दुई वर्षमा सरुवा हुने प्रचलन बसाल्न नसक्दासम्म पालिकाको काममा थिति बस्न नसक्ने उहाँले बताउनुभयो । जनप्रतिनिधिलाई जनताको काम गर्नेभन्दा आफ्नो व्यक्तिगत चाहनाका काम गराउने र त्यो चाहना अनुसार काम नभए कर्मचारीलाई सरुवा गर्ने प्रचलनले पालिकामा बेथिति बढेको उहाँले बताउनुभयो ।
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा अहिलेसम्म सात जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । स्थानीय तह बनेको आठ वर्षमा सात जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएका छन् । जिल्लाको तानसेन र रामपुर नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत एक/डेढ वर्षभित्रै सरुवा हुने गरेका छन् । रम्भा, रिव्दीकोट, माथागढी निस्दी, पूर्वखोला, तिनाउ गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खासै टिक्न सकेका छैनन् ।
कतिपय पालिकामा स्थानीय कर्मचारीको प्रभाव र दवावका कारण प्रमुख प्रशासकीय अधिकृत टिक्न नसकेको बताउँछन् । विगतमा स्थानीय तहले भर्ना गरेका कर्मचारी र अस्थायी÷करारका कर्मचारीको प्रभावले प्रमुख प्रशासकीय अधिकृत सरुवा हुने गरेको आरोप छ । अनुभवी प्रमुख प्रशासकीय अधिकृत नहुँदा पनि जनप्रतिनिधिलाई समस्या हुने गरेको छ । केही जनप्रतिनिधिले कानुन ऐनअनुसार काम गर्न खोज्दा पनि अनुभवी कर्मचारीको अभावमा कार्य सम्पादन प्रभावकारी हुन सकेको छैन ।
