पाल्पा – पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रिडीमा आजदेखि माघे संक्रान्ति मेला सुरु भएको छ । बिहानैदेखि कालीगण्डकी नदीमा स्थान गर्ने र नजिकै रहेको ऋषिकेश मन्दिरकाे दर्शन गर्ने भक्तजनको भीड लागेकाे छ ।
नेपालको चार धाममध्यकोे एक रुरु धाम रिडीमा नेपालसहित भारतबाट आएका भक्तजनहरू आउने क्रम बढ्दैछ। माघे सङ्क्रान्तिमा रिडी क्षेत्रको दर्शन गरी कालीगण्डकीमा स्नान गरे पुण्य प्राप्त गरिने धार्मिक जनविस्वास रहदैं आएको छ ।

यहाँ आएका भक्तजनहरूले रिडी धाममा नुहाएर, अर्गलीस्थित ऋषिकेशव मन्दिरको दर्शन गर्नेछन् । मेलामा व्यापारी तथा व्यवसायीहरूको भीडले माघ १, २ र ३ गते पहिलो दिन जेठी, दोस्रो दिन माहिली, तेस्रो दिन कान्छी सङ्क्रान्ति मेलामा चहलपहल बढाउनेछ ।
संक्रान्तिको अवसरमा व्यापार–व्यवसाय गर्न पाल्पा, बाग्लुङ्, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीको लागि व्यापारीहरू आइसकेका ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।
रोप्पा, रुकुम सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ्मा उत्पादन हुने ऊनीजन्य बस्तुहरू राडीपाखी, कम्बल, बाँसको सामग्रीहरू, जडीबुटीहरू बिक्री गर्न व्यापारीहरू हिजाे नै रिडीमा आइसकेको उहाँले बताउनुभयो । मेला भर्न आउने भक्तजन तथा दर्शनार्थीको सहजताका लागि सबै व्यवस्था गरिएको रुरु फ्रेन्डस् क्लबका अध्यक्ष सोभित थापाले बताउनुभयो ।