Search
आइत, चैत्र २, २०८१

राँगा पालनले वार्षिक लाखाैं कमाइ

धनबहादुर ठाडा, पाल्पा – शिरमा टलक्क ढाका टोपी, हातमा एउटा लठ्ठी लिएर गाउँ( गाउँमा राँगो दोहोर्‍याउदै दैनिकी बिताउनुहुन्छ गल्धाका टिकाराम विश्वकर्मा । उमेरले उहाँ ५५ वर्षको हुनुहुन्छ, जोश जाँगर भने २०र २१ वर्षका ठिटाहरुको भन्दा कम छैन । हिजोआज धेरैजसो गाउँमा राँगा पाल्ने कृषकहरु भेट्टाउन मुस्किल पर्छ । तर निस्दी गाउँपालिका (५, गल्धा, बेलडाँडाका टिकाराम विश्वकर्माले भने विगत १४ वर्षदेखि राँगो डुलाएर गुजारा चलाउदै आउनुभएको छ । कुनै पनि काम सानो ठूलो हुँदैन । हामीले जे काम पनि खुसी मनले गर्न सक्यो भने जिन्दगी सजिलैसँग चलाउन सकिने बताउनुहुन्छ टिकाराम विश्वकर्मा । आजभोलि पैसा कमाउनको लागि धेरैजसो विदेश नै जाने गर्छन । तर टिकाराम भने परिवारसँगै बसेर गाउँमा अरु कसैले नगरेको काम गरेर आनन्दले बस्दै आउनुभएको छ । मैले यो काम गर्न थालेको १४ वर्ष भयो, उमेरले साथ दिँदासम्म यो कामलाई निरन्तरता दिन्छु ।

टिकाराम भन्नुहुन्छ, धेरै टाढा ( टाढाबाट फोन आउँछ, म राँगो लिएर पुग्दा धेरै गाउँलेहरुले खुसी व्यक्त गर्छन । मैले यो काम गरेर पैसा मात्रै होइन, इज्जत मन सम्मानसँगै सबैभन्दा ठूलो कुरा त गाउँलेलाई सेवा गरेजस्तो लाग्छ । टिकारामले एकपटक राँगो लागे बापत अहिलेसम्म एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म लिने गरेको बताउनुहुन्छ । टाढा र नजिकको दूरी हेरेर पैसा लिने गरेको छु । सबैले खुसी मनले पैसा दिने उहाँको भनाइ छ । सिजनको बेला महिनामा २० र २५ ठाउँसम्म राँगो पुर्याउन भ्याइनभ्याई हुने टिकाराम बताउनुहुन्छ । पहिलोपटकमा भैंसीको गर्भ नबसे दोस्रोपटक राँगो लैजानुपर्दा अलि कम पैसा लिन्छु, तर धेरै जनाले त पहिलाको दररेट अनुसारनै पैसा दिने उहाँको भनाइ छ । एउटा राँगोले ३ देखि ७ वर्षसम्म काम दिने बताउनुहुँदै एक वटा राँगोबाट मात्रै उहाँले १२ देखि १५ लाखसम्म कमाएको बताउनुभएको छ । टिकारामले एक कल फोनको भरमा राँगो पुर्याउनुहुन्छ ।

भैंसी पालक कृषक भने आउनु पर्दैन । उहाँ एक्लैले राँगो दोहोर्‍याएर गाउँ ( गाउँमा पुर्याउनुहुन्छ । शिरमा टलक्क ढाका टोपी, साधारण दौरा सुरुवाल र चप्पल लगाउदै, हाटमा एउटा लठ्ठी लिएर मिठो मुस्कान सहित टिकारामलाई राँगो दोहोर्‍याउदै बेलडाँडा सेरोफेरोको बाटोमा प्रायः भेट्ने गरिन्छ । उहाँको एउटा राम्रो बानी छ । सडकमा सवारी साधन भेटे आफैले आफ्नो राँगोलाई साइडमा लानुहुन्छ, अनि मिठो मुस्कान सहित नरम भाषामा बडो सम्मानका साथ बोलचाल गर्नुहुन्छ । धेरै टाढाको गाउँमा राँगो लागेको बेला बाटोमा दुख दिदैन भन्ने जिज्ञासामा उहाँले नाकमा झुन्डिएको दोरीले दोहोर्‍याएर लान्छु, अहिलेसम्म कुनै किसिमको दुख नपरेको बताउनुहुन्छ ।

टिकारामको परिवारमा श्रीमती, दुई भाइ छोरा र चार बहिनी छोरी छन । उहाँको परिवारले खेतीपातीसँगै बाख्रा पालन समेत गर्दै आएका छन । छोराहरु रोजगारीको सिलसिलामा घरभन्दा बाहिर छन । छोरीहरुले पनि बिहान बेलुका घरको काममा सघाउदै आएको बताउनुहुन्छ । यसरी बाह्र गाउँ राँगो दोहोर्‍याएर हिँड्न झ्याउ लागेर आउदैन भन्ने प्रश्नमा टिकाराम भन्नुहुन्छ, शुरु ( शुरुमा म आफैलाई विश्वास थिएन । बाटोमा राँगोले दुख दिने होकि भन्ने चिन्ता हुन्थ्यो, तर बिस्तारै बानी परेकोले अहिले त धेरै सजिलो र आनन्द लाग्छ । बाटोमा देख्नेहरु धेरैले अचम्म मान्दै सोध्ने गर्छन । यो के गरेको हो तपाईंले, कता लिएर हिँड्नुभएको हो राँगोलाई, तपाईंलाई हान्दैन, जस्ता प्रश्न सोध्छ्न । कोहि कसैले त बेच्न हिँडालेको सोच्दा रहेछन, मोलतोल गर्न समेत भ्याउछ्न, टिकारामले हाँस्दै भन्नुभयो ।

त्यसो त टिकारामलाई यो कामले गर्दा धेरैले चिनेका छन । एउटा मिहिनेती र इमानदारी कृषकको उदाहरणीय नै बनेका छ्न । यो कामबाट उहाँलाई घर व्यवहार चलाउन धेरै सजिलो भएको बताउनुहुन्छ । टिकाराम जस्ता कृषकहरुलाई स्थानीय सरकारले आवश्यक सहयोग र सम्मान गर्न जरुरी देखिन्छ । यता निस्दी गाउँपालिका पशु शाखा संयोजक ओम बहादुर मश्राङ्गीका अनुसार कृतिम गर्भधारण गर्न इच्छुक भैंसी पालक कृषकहरुलाई पालिकाले नियम अनुसारको सेवा उपलब्ध गराउदै आएको बताउनुभएको छ । साथै उहाँले टिकाराम विश्वकर्मा जस्ता मिहिनेती कृषकहरूलाई पालिकाबाट उचित सम्मान र सहयोगको आवश्यकता रहेकोे समेत बताउनुभएको छ ।

Picture of रानीमहल समाचारदाता

रानीमहल समाचारदाता

ताजा अपडेट

Follow Us

© २०२४ eranimahal सर्वाधिकार सुरक्षित क्लिक मिडिया नेटवर्क प्रालिद्वारा संचालित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।