पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले पछिल्लो ११ महिनामा भएका गतिविधि, अपराध नियन्त्रण, शान्तिसुरक्षाका बारेमा जानकारी दिएको छ । सोमबार प्रहरी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी प्रहरीले सञ्चालन गरेका अभियान, शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागि भएका काम र उपलब्धीबारे जानकारी दिएको हो ।
पत्रकार भेटघाटमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले ११ महिनाको अवधिमा ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको जानकारी दिनुभयो । ६८ जना प्रतिवादीले २० वर्ष १ महिना १ दिन कैद भुक्तान गर्न बाँकी रहेको र ७१ लाख ३६ हजार रकम अशुलउपर गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ११ महिनामा प्रहरीमा २३९ वटा विभिन्न दर्ता भएको बताउनुभयो । उहाँका अनुसार सात वटा कर्तव्य ज्यान सम्बन्धी, तीन वटा सवारी ज्यान, १ वटा मानव वेचविखन, ४ वटा नागरिकता सम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको थियो ।
यस्तै २२४ वटा आत्महत्या, भवितव्य ज्यान, फुटकर ज्यानलगायतका मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक चन्दले बताउनुभयो । प्रहरीका अनुसार ११ महिनाको अवधिमा तानसेन र माथागढीका विभिन्न स्थानमा सुन नगद चोरी गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । यस्तै दोभान, तानसेनलगायतका क्षेत्रमा नक्कली सुन देखाएर सक्कली गरगहना चोरी गर्ने व्यक्ति प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँले ११ महिनामा चोरीका ३६ वटा मुद्दा दर्ता भएकामा ३५ वटा मुद्दाको फस्र्यौट भएको र १ वटा मुद्दा टुङ्ग्याउन बाँकी रहेको जानकारी दिनुभयो । प्रहरीले ११ महिनाको अवधिमा ७४ जनाले आत्महत्या गरेको, लागुऔषध सम्बन्धी सात वटा मुद्दा दर्ता भएको जनाएको छ ।
यस्तै पछिल्लो समयमा साइबर सम्बन्धी अपराध बढेको प्रहरीले जनाएको छ । फेसबुक ह्याक गर्ने र अनलाइन ठगी गर्ने क्रम बढेको प्रहरी प्रमुख चन्दले बताउनुभयो । ११ महिनाभित्र फेसबुक ह्याक गरेका १६ वटा मुद्दा र अनलाइन ठगीका ३७ वटा मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । तीमध्ये १७ वटा मुद्दाको फस्र्यौट भइसकेको र बाँकी ३६ वटा मुद्दाको किनारा लाग्न बाँकी रहेको छ ।
प्रहरीले यो अवधिमा ७५ लाख २० हजार बराबरको अवैध सामग्री नियन्त्रणमा लिइ राजश्व दाखिला गरेको छ । प्रहरीले लत्ताकपडा, काठ, अन्य घरायासी सामान, ट्रकसहित गाइगोरु र किनारा सामान नियन्त्रणमा लिएको छ । यस्तै प्रहरीले ९ हजार २२९ वटा सवारीसाधनमाथि कारबाही गरेको छ । ट्राफिक नियम उलङ्घन गरेको भन्दै गरिएको कारबाहीबाट ७७ लाख राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।
अपराध नियन्त्रणका लागि भएका प्रयास
प्रहरीले जिल्लामा अपराध नियन्त्रणका लागि सादा पोशाकको प्रहरी परिचालन, अपराध नियन्त्रणका लागि कार्ययोजना तयार गरी लागू गरेको छ । यस्तै आत्महत्या रोकथाम कार्ययोजना, चोरी नियन्त्रण कार्ययोजना, महिला तथा बालबालिका बिरुद्ध हुने अपराध नियन्त्रण कार्ययोजना, लागुऔषध नियन्त्रण कार्ययोजना तयार गरेर कार्यान्वयन गरेको छ । यस्तै सवारी दुर्घटना न्युनीकरण कार्ययोजना, अपराध अनुसन्धान वार्षिक कार्ययोजना, फरार अभियुक्त पक्राउ गर्ने कार्य अगाडि बढाएको, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम गरिएको प्रहरी उपरीक्षक चन्दले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
विपद्मा प्रहरी
उता प्रहरीले विपद्का घटनामा सहयोगी तथा क्षति न्युनीकरणमा अभियान चलाएको जनाएको छ । प्रहरीले डढेलो नियन्त्रण, बाढी पहिरोलगायतका घटनामा परेका व्यक्तिलाई उद्दार तथा राहत र पुनस्र्थापनाको कार्य गरेको जनाएको छ । विपद्का घटना न्युनीकरणका लागि प्रहरीले ८४९ जना जनशक्ति परिचालन गरेको जनाएको छ । प्रहरीले टेलिफोन र मोबाइलमार्फत आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ८० जना र चालु आव २०८१/०८२ को ६ महिनामा १६ हजार १८५ सेवाग्राहीलाई सेवा दिएको जनाएको छ ।
देशमै पहिलो बप्रथम बन्यो
प्रहरीले यो अवधिमा नवीनतम कार्यक्रम गरेको उल्लेख गरेको छ । प्रहरीले चालु अवधिमा देशभरिमै उत्कृष्ठ काम गरेर प्रथम भएको जनाएको छ । यस्तै प्रदेशका प्रहरी कार्यालयहरुमध्येबाट सौन्दर्यकरण प्रथम भएको, हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरेको, कानुन व्यवसायी, आफन्तसँग थुनुवाको भेटघाट कक्ष बनाएको प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिनुभयो । यस्तै कैदीवन्दीलाई मनोपरामर्श सेवा दिएको, प्रहरी विद्यालय सम्पर्क कार्यक्रम गरेको र १०२ सामुदायिक विद्यालयसँग कार्यसम्पादन सम्झौता गरिएको, आत्महत्या न्युनीकरणका लागि विशेष अभियान चलाएको उहाँले बताउनुभयो ।
