पाल्पा – बहुचर्चित सिद्धबाबा सुरुङ् मार्ग केही दिनभित्रै ब्रेक थ्रु गरिने तयारी गरिएको छ । केही दिनभित्रै औपचारिक कार्यक्रम गरी सुरुङ् मार्ग छिचोल्ने (ब्रेक थ्रु) तयारी गरिएको छ ।
हालसम्म एक हजार ८६ मिटर सुरुङ खनेर सकिएको छ । बाँकी तीन मिटर सुरुङ् छिचोल्न बाँकी रहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो । सिद्धबाबा सुरुङ् मार्गको उत्तरतफएको ४८० र दक्षिणतर्फको ६०७ मिटर सुरुङ् खनेर सकिएको अधिकारीले जानकारी दिनुभयो ।
सुरुङ् मार्गको भौतिक प्रगति ३८.८५ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत सम्पन्न भएको अधिकारीले जानकारी दिनुभयो । सुरुङ् मार्ग छिचोल्ने काम अन्तिर चरणमा पुगेपनि सवारी गुडाउन एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । सुरुङ्भित्रको लाइनिङ् मिलाउन र स्लोप मिलाउन समय लाग्ने अधिकारीले बताउनुभयो ।
सुरुङ् मार्ग छिचोलिएपनि भित्री काम र बाहिरको काम भने बाँकी रहनेछ । उक्त काम सम्पन्न गर्न अझैँ समय लाग्ने कार्यालयकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो । सुरुङ् मार्गका तीन वटा बाइपास ढोका यसअघि नै ब्रेक थ्रु भइसकेको छ । आयोजनाका अनुसार पहिलो बाइपास ढोका १५१ मिटर, दोस्रो बाइपास ढोका १६१ मिटर र तेस्रो बाइपास ढोका १३० मिटर ब्रेक थ्रु भइसकेको छ ।
दुई वर्षअघिदेखि सिद्धार्थ राजमार्गको तिनाउ–३, दोभान क्षेत्रमा सुरुङ् मार्गको काम भइरहेको छ । पाँच वर्षभित्र काम सक्ने गरेर २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ् कर्पोरेसन लिमिटेडसँग निर्माणको ठेक्का सम्झौता भएको थियो ।
