पाल्पा – पाँच वर्षअघि कोरोना संक्रमणका बेला राज्यको करोडौँ लगानी गरेर बनाइएका संरचना अहिले अलपत्र छन् । जनताको करबाट संकलित रकमले जिल्ला सदरमुकाम तानसेनसहित अन्य पालिकामा बनेका कोभिड ल्याब, आइसोलेसन सेन्टर र क्वारेन्टाइन अहिले अलपत्र बनेका छन् ।
कोरोनाका बेला बनाएका संरचना अन्य काममा पुनः प्रयोग गर्न सकिने भएपनि पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई त्यतातर्फकाे काम गर्न समय छैन । तानसेनको धोबीधारा नजिकै दुई करोडभन्दा बढी खर्च गरेर निर्माण गरिएकाे कोभिड ल्याब तीन वर्षदेखि अलपत्र अवस्थामा छ । संक्रमण घटेपछि कोरोना जाँच ठप्प छ । दुई करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको संरचना, ल्याबका सामग्री, कार्यालय तथा अन्य फर्निचर अलपत्र बनेका छन् ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको करोडौँ खर्च गरेर सञ्चालन गरिएको कोभिड ल्याबलाइ अन्य काममा प्रयाेगमा ल्याएर राज्यकाे लगानी खेर जानबाट राेक्ने काममा कसैको ध्यान छैन । जिल्ला सरकारी अस्पताल मातहतमा रहेको यो ल्याब अन्य रोग जाँचमा उपयोग गर्न सकिन्छ । तर त्यसतर्फ कसले ध्यान दिने ? अस्पताल नेतृत्व र कर्मचारीलाई करोडौँ खर्च गरेको संरचना चलाउनेबारे सोच्ने फुर्सद छैन ।
पाँच वर्षअघि केन्द्र, प्रदेश र स्थानीय तहको लगानीमा वि.स. २०७७ असोजमा कोभिड ल्याब सञ्चालनमा आएको थियो । कोरोना सङ्क्रमण कम भएपछि उक्त ल्याब निरन्तर सञ्चालनमा कसैको चासो नपुगेको स्थानीय बासिन्दा बताउँछन् । काेराेना संक्रमणका बेला कोरोना ल्याब सञ्चालन गरेको पाल्पा अस्पतालसँग यो ल्याब चलाउनेबारे कुनै ठोस योजना छैन । त्यतिबेला कोरोनाको आधुनिक ल्याब कक्ष निर्माण, कर्मचारीका लागि आवश्यक कक्ष निर्माण, तत्कालिन जिविसको पुरानो भवन मर्मतसुधार, फर्निचर सामग्री, थ्रिफेज विद्युत् बिस्तारलगायतमा दुई करोडभन्दा बढी सरकारी रकम खर्च भएको थियो ।
पाल्पा अस्पतालका ल्याब शाखाका प्रमुख विष्णु गैरेले भने कोभिड ल्याबबाट पुन प्रयोग गर्न सकिने सामग्री अस्पतालमा ल्याएर प्रयोग गरेको दावी गर्नुभयो । ‘कोभिड ल्याबबाट प्रयोग गर्न मिल्ने आवश्यक सामग्री हामीले पाल्पा अस्पतालमा ल्याएर प्रयोग गरेका छौँ उहाँले भन्नुभयो अब मुख्य ल्याबका उपकरण र अन्य सामग्री अझैँ त्यही छन् ।’ कोभिड ल्याबलाई अन्य सरुवा रोग जाँचका लागि प्रयोग गर्न सकिने भएपनि अस्पतालले त्यसबारेमा योजना अगाडि बढाउन नसकेको उहाँको भनाई छ ।
तीन वर्षसम्म पीसीआर मेसिन नचल्दा मेसिन बिग्रिएको हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ । करोडौँ खर्च गरेर त्यसलाई पुन प्रयोग गर्न सकिने भएपनि पाल्पा अस्पताल र प्रदेश सरकारले त्यसतर्फ ध्यान दिन नसकेको सरोकारवालाको भनाई छ ।
पालिकाका करोडका सामग्री कता छन् ?
उता पाल्पाका दश वटा स्थानीय तहमा कोरोनाका बेला विभिन्न संघसंस्थाको सहयोगमा आएका सामान र करोडौँ खर्च गरेर खरिद गरेका स्वास्थ्य सामग्री अलपत्र बनेका छन् । कोरोना जाँचका लागि खरिद गरिएका अक्सिमिटर, थर्मलगन, अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर अलपत्र बनेका हुन् । यस्तै क्वारेन्टाइनका लागि बनेका भवन तथा भवन भित्र प्रयोग गर्न खरिद गरिएका बेड तथा लत्ताकपडा समेत अहिले कसैलाई पनि वास्ता छैन । प्रत्येक पालिकाले एक वर्षमा क्वारेन्टाइन स्थापना, आवश्यक उपकरण खरिदका लागि भनेर एक करोडभन्दा बढी खर्च गरेका थिए । ती सामग्री र संरचनासमेत अहिले अलपत्र छन् ।