पाल्पा – सङ्गठन सुदृढ बनाई पार्टी कमिटिलाई सक्रिय बनाउन नेपाली काङ्ग्रेसका नेताहरू सय दिने विशेष अभियान लिएर गाउँ–गाउँ पुग्नुभएको छ । जिल्लाका दश वटै पालिकाका ८३ वटै वडामा पुग्ने गरी काङ्ग्रेसले सुरु गरेको सय दिने अभियान लिएर नेताहरू गाउँमा पुग्नुभएको हो । पार्टीले सुरु गरेको अभियानले पार्टी सङ्गठन मजबुत र सुदृढ हुने जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताउनुभयो । पार्टीले सञ्चालन गरेको अभियान अधिकांश स्थानमा पुगिसेको उहाँको भनाइ छ ।
अभियान अन्तर्गत काङ्ग्रेसका केन्द्रीय र जिल्लाका नेताहरू पालिका, क्षेत्र र वडामा खटिनुभएको छ । केन्द्रीय नेता पालिकासम्म पुग्ने र जिल्लाका नेता वडा–वडामा पुग्ने गरी कार्ययोजना बनेको सभापति श्रेष्ठले जानकारी दिनुभयो । अभियानका क्रममा नेताहरूले पार्टीका कार्यकर्ता, पार्टी सदस्य र जनताका गुनासा तथा सुझाव सुन्ने र त्यसलाई समाधानको पहल गर्ने सभापति श्रेष्ठले बताउनुभयो ।
अभियानका क्रममा पार्टीको विचार प्रवाह, सङ्गठन निर्माण, भेला तथा सम्मेलन, सदस्यता वितरण तथा नवीकरणको काम गरिनेछ । यस्तै भातृ सङ्गठनका भेला तथा सम्मेलन, सरकारको तर्फबाट भएका कामको प्रचार, आगामी दिनमा गर्ने गतिविधिलगायतका कामको बाँडफाँड गर्ने र जिम्मेवारी तोकिने जिल्ला उपसभापति झपेन्द्र गहिरेले बताउनुभयो ।
अभियानले पार्टीलाई शसक्त र क्रियाशील बनाउन सहयोग पु¥याउने उहाँले दावी गर्नुभयो । अभियानमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाह, जिल्ला सभापति श्रेष्ठ, पूर्व सभापति वीरबहादुर रानालगायतका नेताहरू खटिनुभएको छ ।
