धनबहादुर ठाडा पाल्पा – निस्दी गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट अन्य सेवाग्राही भन्दा कृषकहरु बढी उत्साहित भएका छन् । एउटा सानो योजना सम्झौताको लागि पालिकासम्म धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै गाउँपालिकाले वडामै सेवा दिएको र आफूहरुले मेहनतका साथ उत्पादन गरेको तरकारी सबैलाई देखाउन पाउदा कृषकहरु धेरै खुसी भएका हुन् । यसपटकको शिविरमा पालिकाले कृषि उपज सामग्री र शैक्षिक सामग्री प्रदर्शनलाई पनि प्राथमिकतामा राखेकोले कृषकहरु उत्साहित बनेका हुन ।
सिहदरवारको अधिकार घरदैलो पुगेको नागरिकलाई महसुस गराउन गाउँपालिकाले वडामै पुगेर सेवा दिन शिविर आयोजना गरिएको अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । उहाँले भौगोलिक विकटता र सेवा लिन टाढाबाट आउनु पर्ने समस्या भएका जनतालाई ख्यालमा राखेर कार्यक्रम राखिएको बताउनुभयो ।
करिब ४ वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनु भएका गल्धाका सुर्य बहादुर खाम्चा आफू वडाभरिकै उत्कृष्ट कृषकको रूपमा पुरस्कृत हुँदा साह्रै खुसी भएको बताउनुभयो । “म सँग अन्य थुप्रै तरकारी पनि थियो तर लोकल साग त अन्य कृषकहरुले पक्कै ल्याउनुहुन्न होला भनेर लिएर गएँ, प्रथम पो भएछु” खाम्चाको भनाइ छ । पुरस्कार पाउनु ठुलो कुरा होइन, सबैको अगाडि सम्मान हुन पाउदा काम गर्ने थप जाँगर आएको उहाँले बताउनुभयो । खाम्चाले गल्धाको ढुंगानावेशीमा करिव ६ रोपनी जग्गामा बहत्तरी कृषि फार्म दर्ता गरेर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएको छ । शिविरमा अरु एक सय ९४ जना कृषकहरुले कृषि उपज सामग्री पर्दर्शनको लागि ल्याएका थिए । खाम्चा जस्तै अन्य कृषकहरुलाई पनि पालिकाले सम्मान गरेको छ ।
गएको पुस ६ गते बाकामलाङदेखि सुरू गरेको शिविर १२ गते शनिबार अर्चलेमा सम्पन्न गरेको हो । पालिकाको सातै वडामा सञ्चालन भएको शिविरमा ७२ वटा योजनाको सम्झौता भएको छ । त्यसैगरी १३ वटा योजनाको पेश्की भुक्तानी, २३ वटा व्यवसायको दर्ता, ३८ वटा व्यवसायको नवीकरण भएको योजना अधिकृत तथा सूचना अधिकारी अर्जुन खनालले बताउनुभयो । शिविरमा ८४ जना कृषकले माटो परीक्षण गराएका छन् । ८० वर्ष माथिका २ सय २७ जना जेष्ठनागरिकलाई सम्मान, १६ जना असहाय महिलालाई राहत वितरण र ६ जनालाई अपांग परिचयपत्र वितरण गरेको खनालले बताउनुभयो ।
शिविरमा पाँच सय ५१ जनाको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, ६ सय ७८ जनाको दन्त परीक्षण, २ सय ५ जनालाई आयुर्वेद औषधि वितरण गरिएको छ । त्यसैगरी ४६ जना गरिब तथा असहायलाई सुरक्षा सामग्री वितरण गरिनुका साथै २९ हजार ५ सय ५६ वटा पशुपंक्षीको लागि औषधि वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो । उहाँले यसपटकको शिविरमा पालिकाको ५१ वटा विद्यालयले ६ सय ७९ किसिमका शैक्षिक सामग्री प्रर्दशन गरिएको उहाँले बताउनुभयो ।