पाल्पा – सिद्धबाबा सुरुङ् मार्गको तीन वटै बाइपास ढोका छिचोलिएको छ । तीन वटा बाइपास ढोकामध्ये बाँकी रहेको दोस्रो बाइपास ढोका पनि छिचोलिएको सिद्धबाबा सुरुङ् मार्ग निर्माण आयोजनाले जनाएको छ । एक हजार १२६ मिटर लामो सुरुङ मार्गमा तीन वटा बाइपास ढोका राखिएको छ ।
तीनवटा ढोकामध्ये सबैभन्दा लामो १६१ मिटरको दोस्रो बाइपास ढोका ब्रेक थ्रु गरिएको सिद्धबाबा सुरुङ् मार्ग आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले जानकारी दिनुभयो । त्यसमध्येको पहिलो र तेस्रो ढोका यसअघि नै छिचोलेर सकिएको थियो । यसअघि पहिलो बाइपास १५२ मिटर र तेस्रो बाइपास १३० मिटर छिचोलिसकिएको छ ।
तीन वटै बाइपास ढोका छिचोलेपछि मुख्य सुरुङ् पनि केही दिनभित्र ब्रेकथ्रु छिचोल्ने तयारी भइरहेको छ । आयोजना पक्षले यही पुस महिनाभित्रै मुख्य सुरुङ् छिचोलिने गरी काम भइरहेको जनाएको छ । हालसम्म मुख्य सुरुङ्को एक हजार ६० मिटर सुरुङ् खनिसकिएको छ । बाँकी ६६ मिटर सुरुङ् छिचोल्न बाँकी रहेको छ ।
दुई वर्षअघिदेखि सिद्धार्थ राजमार्गको तिनाउ–३, दोभान क्षेत्रमा सुरुङ् मार्गको काम भइरहेको छ । यो आयोजनाका लागि सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ् कर्पोरेसन लिमिटेडसँग निर्माणको ठेक्का सम्झौता भएको छ । सुरुङ् खनेपछि सिद्धार्थ राजमार्गको यात्रा सुरक्षित हुने अपेक्षा गरिएको छ । यो सडक भएर पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, गुल्मी, अर्घाखाँची, बाग्लुङ्लगायतका क्षेत्रमा यात्रा गर्न सहज हुनेछ ।
