पाल्पा – चिलाङ्दी–चापपानी–राम्दी सडक एक दशकदेखि अलपत्र छ । सडक पूर्वाधार कार्यालय पाल्पा र ठेकेदारको लापरबाहीले यो सडक लामो समयदेखि अलपत्र बनेको हो । सडकको काम समयमै सकिएको भए यो सडकलाई कयौँ पटक मर्मतसुधार गर्नुपर्ने अवस्था हो । तर अहिलेसम्म सडकको काम सकिएको छैन । सडक पूर्वाधार कार्यालयले समयमै ताकेता गर्न नसक्दा सडक आठ वर्षदेखि अलपत्र छ । यो सडक सक्नका लागि नत ठेकेदार गम्भीर छ नत सम्बन्धित कार्यालय नै । कार्यालयले लामो समय सडकको ठेक्का लिएको ठेकेदारलाई कारबाही गर्न सकेको छैन । हालसम्म ८० प्रतिशत सडकको काम सकिएको भनेपनि सडकको अधिकांश स्थान भत्किसकेको छ । ती स्थानमा मर्मत गर्नुपर्ने अवस्था रहेको छ ।
वि.स. २०७३ सालदेखि यो सडक अलपत्र जस्तै छ । सडकको अवस्था सुधार नहुँदा तानसेन र बगनासकालीका स्थानीय बासिन्दाको यात्रा कष्टकर बनेको छ । तत्कालिन जिल्ला विकास समितिले आठ किलोमिटर कच्ची सडकलाई ओटासिल गर्न आठ करोड ३१ लाख रुपियाँमा ठेक्का दिएको थियो । तर उक्त काम हालसम्म पनि सकिएको छैन । सडक पूर्वाधार कार्यालय पाल्पा र निर्माण व्यवसायीको लापरबाहीले आठ वर्षसम्ममा पनि काम पूरा हुने छाँटकाट देखाएको छैन ।
लामो समयसम्म काम नगरेर अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारबाही गर्न नसक्दा सडकको अवस्था एक दशकदेखि नाजुक बनेको स्थानीय बासिन्दाको भनाई छ । सडक पूर्वाधार कार्यालयको अलमलले सर्वसाधारण नागरिकले सास्ती खेप्नुपर्ने अवस्था बनेको छ । कार्यालयको अलमलले झण्डै एक दशकदेखि यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएको यहाँका स्थानीय नारायण बस्यालले बताउनुभयाे । एक दशकदेखि सडकको अवस्था नाजुक भएको निर्माण व्यवसायीलाई कारबाही गर्न नसकेको उहाँकाे भनाइ छ ।
पूर्वाधार कार्यालयका प्रमुख बासुदेव भण्डारीले भने निर्माण व्यवसायीले काम नगर्दा पहिले बनेको सडक बिग्रिएको बताउनुभयो । सडक मर्मतका लागि आएको सानो बजेटले सरसफाइकर्मी राखेर नाली, झाडी सफाईको काम भइरहेको भण्डारीको प्रतिक्रिया छ । तर लामो समयसम्म काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही भने अहिलेसम्म हुन सकेको छैन । कार्यालयका कर्मचारीले कानुन अनुसार कारबाहीको डण्डा चलाउन नसकेको सर्वसाधारणको गुनासो छ । ठेकेदारलाई मनपरी गर्न दिने कार्यालय र कार्यालयलाई जिम्मेवार बनाउने जनप्रतिनिधि समेत चुपचाप छन् । यसले जिल्लाकै महत्वपूर्ण मानिएको यो सडक झनझन नाजुक बनेको सर्वसाधारण यात्रुको भनाई छ । स्थानीय बासिन्दाले चर्को आलोचना गरेपछि सो सडक क्षेत्रको चिलाङ्दी क्षेत्रमा बगनासकाली गाउँपालिकाले गत वर्ष पाँच सय मिटर सडक कालोपत्रे गरेको छ । बाँकी क्षेत्रको ओटासिल उप्किएको छ भने कतिपय स्थानमा पहिरो खसेर सडक धुलाम्य बनेको छ । पाल्पाको उत्तरी भेगका स्थानीय बासिन्दाले तानसेन, बुटवल आउन जान र तानसेनबाट राम्दीहुँदै पोखरासम्म जानआउनका लागि यही सडकको प्रयोग गर्ने गरेका छन् ।