पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले चार जना युवालाई पक्राउ गरेको छ । सुनजस्तो पहेँलो धातु देखाएर सक्कली गहना ठगी गर्ने चार जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रौतहट जिल्ला इशनाथ गाउँपालिका–२, का ३० वर्षीय अनिलकुमार शाह, सोही स्थानका २१ वर्षीय आशिक शाह, राकेश शाह, र कृष्ण शाह रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई रैनादेवी छहरा–७, बल्ढेङ्गढीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शनिबार दिउँशो रैनादेवी छहरा–७, की ७८ वर्षीया डिलकुमारी बगालेको दुई थान सक्कली सुनको रिङ् फुकाएर उनीहरू भागेको पीडितको भनाई छ । सुनको गहना सफा गर्ने बाहाना बनाएर बगालेलाई नक्कली पहेँलो धातुको गहना थमाएर उनीहरू फरार भएका थिए । उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो । बगाले घरमा एक्लै भएको अवस्था यस्तो घटना घटेको हो ।
