पाल्पा – यही पुस ९ गतेदेखि १८ गतेसम्म हु्ने पाल्पा महोत्सवकाे तयारी तीव्र पारिएकाे छ । जिल्लाको बगनासकाली–१, चिलाङ्दीमा हुन लागेकाे पाल्पा महोत्सवकाे तयारीलाइ तीव्रता दिइएकाे हाे ।
महोत्सवका लागि सबै तयारी भइरहेको आयोजक कुटुम्ब मिडिया प्रालिका सञ्चालक एवं महोत्सव आयोजक समितिका संयोजक नारायण न्यौपानेले जानकारी दिनुभयो । महाेत्सव स्थल चिलाङ्दी मैदानमा स्टल निर्माण, गेट निर्माण, मन्च तथा अन्य पू्र्वाधार बनाउने काम अन्तिम चरणमा पुगेकाे न्याैपानेले बताउनुभयाे ।
बगनासकालीमा पहिलो पटक यस्तो खालको महोत्सव हुन लागेको उहाँले जानकारी दिनुभयो । महोत्सवले स्थानीय कला, संस्कृति, भाषा, कलाको विषयमा जागृत गर्न सहयोग गर्ने उहाँले बताउनुभयो । महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुती, कुमाल, बोटे, मगर समुदायका नाच तथा गीत प्रस्तुत गरिनेछ ।
यस्तै बगनासे साँचो, बगनासका फोटो प्रदर्शनी, दुना टपरी बनाउने मेसिनको प्रदर्शन र दुनाटपरी उत्पादनको काम महोत्सवमा गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा तीन करोडको कारोबार हुने र डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकले बताएको छ । महोत्सवमा १५० बढी स्टल रहनेछन् । यस्तै महोत्सवमा ८० रुपियाँ प्रवेश टिकट रहेको छ भने विद्यार्थी र जेष्ठ नागरिकलाई सहुलियतमा प्रवेश गर्न दिइने आयोजक समितिका सदस्य विष्णु घिमिरेले जानकारी दिनुभयो । आयाेजकले महाेत्सवका लागि बगनासकालीका सबै वडामा पुगेर स्थानीय जनप्रतिनिधि, सर्वसाधारणसँग छलफल गरेकाे जनाएकाे छ । महाेत्सवमा आउने जाने व्यवस्थाका लागि तानसेन तथा अन्य स्थानबाट यातायातकाे व्यवस्थाका लागि श्रीनगर यातायात प्रालि र पश्चिमान्चल यातायात प्रालिसँग छलफल भएकाे आयाेजकले जनाएकाे छ । महाेत्सवमा राष्ट्रिय एवं चर्चित कलाकारहरूकाे समेत प्रस्तुती रहनेछ ।