X

दमकडामा हुन लागेकाे ‘पाल्पा महाेत्सव’काे तयारी पूरा

    रानीमहल संवाददाता || २८ माघ २०७६,मंगलवार २०:५४

पाल्पा – पर्सी अर्थात फागुन १ गतेदेखि ११ गतेसम्म पाल्पाकाे दमकडामा हुन लागेकाे ‘पाल्पा महोत्सव’को तयारी पूरा भएको छ । पाल्पा व्यापार संघको आयोजनामा फागुन १ गतेदेखि हुन लागेकाे महाेत्सवकाे उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गर्नुहुने बताइएकाे छ ।

महोत्सवको तयारी पूरा भएको संघले मंगलबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ‘पाल्पाको समृद्धिको आधार : कृषि, पर्यटन र व्यापार’ भन्ने नाराका सञ्चालन हुन लागेको पाल्पा महोत्सव फागुन ११ गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा २ सय ७५ वटा स्टल रहने मूल आयाेजक समितिका संयाेजक चिरन्जीिवि पाेखरेलले बताउनुभयाे ।

पत्रकार सम्मेलनमा उहाँले पाल्पाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित पाल्पाली ढाका, करुवालगायतका वस्तुका स्टल रहने जानकारी दिनुभयाे । यस्तै पाल्पाका पशुपालक किसानले उत्पादन गरेको दुग्धजन्य वस्तु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामग्री स्टल रहने उहाँकाे भनाइ छ।

जिल्ला र यहाँका नागरिकको आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सवले टेवा पुग्ने आयोजकको दावी छ।  नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न स्थानीय वस्तु, सेवा र पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचारप्रसार, बजार प्रवद्र्धन एवम् उद्यमी व्यवसायीलाई महोत्सवले प्रोत्साहित गर्ने अध्यक्ष पोखरेलले बताउनुभयाे ।

पाल्पाका लोपन्मुख जातजातिका कला सँस्कृति झल्किने प्रस्तुती र राष्ट्रिय तथा स्थानीय कलाकारको समेत दैनिक प्रस्तुती रहने छ। यस्तै, महोत्सवमा स्थानीय संस्कृति झल्किने घाटु नाच, ठूलो नाच, सोरठी, कडुवा ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखे नाच, झ्याउरे प्रस्तुत हुने सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले बताउनुभयाे ।

एक लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ५ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ। करिब ७० लाख आम्दानी हुने छ। महोत्सव अवलोकनको लागि सर्वसाधारणले ५० रुपयाँ, विद्यार्थीले २५ रुपयाँ तिर्नु पर्ने छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले नि:शुल्क व्यवस्था गरिएको सचिव पर्शुराम पौड्यालले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५