Erani Mahal
पशुका लागि न्युन गुणस्तरको पोषण बाँड्दै तिनाउ
samagrii
पाल्पा - तिनाउ गाउँपालिकाले पशुहरूका लागि वितरण गरेको भिटामिन र क्याल्सियम न्युन गुणस्तरको भएको पाइएको छ । गाइ तथा भैसीलाई पोषणका लागि खुवाइने भिटामिन, मनिरल्स र क्याल्सियम पालिकाले न्युन गुणस्तरको वितरण गरेको पाइएको हो । पशु सेवा विभागले २०७९ फागुन ११ गते पत्र लेखेर नुट्रिभेट फर्म केयर प्रालि बुम्बईले उत्पादन गरेको भिटामिन र क्याल्सियम बिक्रीवितरण नगर्न निर्देशन गरेको छ । विभागले रुपन्देहीस्थित खनाल भेट सेन्टरलाई पत्र लेखेर उक्त कम्पनीका हाइमिल्कर फोर्टे र भीटा व भीटा बजारबाट फिर्ता गराउनुपर्ने, मौज्दात विवरण ७ दिनभित्र विभागमा पठाउनुपर्ने र पुन उक्त कम्पनीको सामान आयात गर्नुपर्ने भए नयाँ व्याचको स्याम्पल टेस्ट गर्नुपर्ने उल्लेख छ । विभागले वितरण भएको क्याल्सियम र भिटामिनमा हुनुपर्ने भिटासिम (ए) को मात्रा कम रहेको पाइएको हो । यद्यपी तिनाउले भने हालसम्म पनि सो कम्पनीको न्युन गुणस्तरको भिटामिन र क्याल्सियम वितरण गरिरहेको छ । पशु शाखाका लागि विनियोजित बजेट दुई लाखबाट उक्त औषधि खरिद गरिएको तिनाउ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनिस अधिकारीले बताउनुभयो । अधिकारीले दुई महिनाअघि कोटेशनबाट भिटामिन, मिनिरल्स र क्याल्सियम खरिद गरेको थियो । यद्यपी विभागको पत्रका बारेमा भने आफूलाई जानकारी नभएको अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार गत पुसमै पालिकाले उक्त औषधि खरिद गरेर स्टक राखेर चैतमा वितरण गरिएको हो । हामीले सहकारीलाई वितरण गरेका छौँ अझै किसानकहाँ पुगेको छैन होला अधिकारीले भन्नुभयो । न्युन गुणस्तरको भिटामिन, मिनिरल्स तथा क्याल्सियम वितरण गरेको बारे भने किसान अनविज्ञ छन् । तिनाउ–६, मस्यालस्थित डुम्रे दुग्ध सहकारी संस्थाका व्यवस्थापक गोपाल जिसीले किसानलाई सबै कुरा थाहा नहुने बताउनुभयो । हामीलाई उत्पादन मिति र म्याद सकिएको मितिबाहेक अन्य कुरा थाहा हुँदैन जिसीले भन्नुभयो । तिनाउ गाउँपालिकाले गुणस्तर नपुगेको उक्त कम्पनीबाट खरिद गरिएको भिटामिन, मिनिरल्स र क्याल्सियमको हालसम्म भुक्तानी नगरेको जनाएको छ । न्युन गुणस्तरको भनिएको सामग्रीको भुक्तानी गरिएको छैन पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले भन्नुभयो पशु शाखामा बुझेपछि थप कुरा जानकारी दिन सकिन्छ । कम्पनीका बीचमा भएको अस्वस्थ प्रतिष्पर्धाका कारण यस्तो भएको हुन सक्ने श्रेष्ठको दावी छ ।
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update