Erani Mahal
पाल्पाको जनसङ्ख्या घट्यो (कहाँ कति घट्याे हेर्नुहाेस्)
palpa map(1)
पाल्पा - पाल्पाको जनसङ्ख्या घटेको छ । दश वर्षअघिको तुलनामा पाल्पाको जनसङ्ख्या १६ हजार १३४ ले घटेको हो । वि.स. २०६८ सालमा पाल्पाको जनसङ्ख्या दुई लाख ६१ हजार १८० थियो । उक्त सङ्ख्या घटेर वि.स. २०७८ को जनगणनामा दुई लाख ४५ हजार २७ मा झरेको जिल्ला तथ्याङ्क कार्यालय पाल्पाका प्रमुख लेखनाथ पाण्डेयले बताउनुभयो । दश वर्षको अबधिमा पाल्पामा सबैभन्दा धेरै निस्दी गाउँपालिकाको जनसङ्ख्या घटेको छ । दश वर्षअघि निस्दीको जनसङ्ख्या २२ हजार ६११ थियो । शुक्रबार प्रकाशित तथ्याङ्कमा निस्दीको जनसङ्ख्या घटेर १८ हजार १२० मा झरेको पाण्डेयले बताउनुभयो । यस्तै पूर्वखोलाको जनसंख्या पनि घटेको छ । पूर्वखोलाको जनसंख्या १९५८९ बाट घटेर १६ हजार ५२ पुगेको छ । यस्तै रैनादेवी छहराको जनसंख्या २६ हजार ४६९ बाट घटेर २३ हजार १४९ मात्र रहेको छ । यस्तै रम्भा गाउँपालिकाको २० हजार १९० बाट घटेर १७ हजार १५५ पुगेको तथ्यांक कार्यालय पाल्पाले जनाएको छ । यस्तै तिनाउ गाउँपालिकाको जनसंख्या समेत घटेको छ । तिनाउमा दश वर्षअघि १९ हजार ८५ थियो भने हाल १७ हजार ७७७ मा झरेको छ । यस्त बगनासकालीको जनसंख्या २१ हजार ३६१ बाट घटेर १८ हजार ४९७ पुगेको छ । यस्तै रिव्दीकोटमा पनि बसाई सर्नेको अवस्था भयाबह छ । रिब्दीकोटको जनसंख्या दश वर्षमा १८ हजार ७७० बाट घटेर १५ हजार ४७३ पुगेको तथ्यांक कार्यालयका प्रमुख पाण्डेयले इरानीमहललाई जानकारी दिनुभयाे । भौगोलिक असुबिधा, बस्ती विकासको योजनाको अभाव, शिक्षा, स्वास्थ्य तथा अन्य सुबिधाको अभावका कारण यी पालिकाबाट बसाईसर्नेको संख्या उच्च रहेको छ । यस्तै माथागढीको जनसंख्या समेत घटेको छ । माथिल्लो भेगमा चुनढुंगाका कारण मानिसहरू बिस्थापित हुनुपर्ने अवस्थाले माथागढीको जनसंख्या दश वर्षको अबधिमा २५ हजार १७ बाट घटेर २४ हजार ५३ पुगेको छ । रामपुरको जनसङ्ख्या भने बढेको छ । यातायातको सुबिधा तथा अन्य सुबिधाका कारण रामपुर नगरपालिकाको जनसङ्ख्या दश वर्षअघिको तुलनामा बढेको हो । २०६८ सालमा रामपुरको जनसङ्ख्या ३५ हजार ३९६ थियो भने २०७८ को जनसङ्ख्या बढेर ४० हजार ८८३ पुगेको तथ्याङ्क कार्यालय पाल्पाले जनाएको छ । यस्तै तानसेनको जनसङ्ख्या भने सामान्य रुपमा बढेको छ । तानसेनको दश वर्षअघिको तुलनामा ३८७ जना मात्रै बढेको छ । तानसेनमा बस्ती विकास हुने स्थान अभावका कारण जनसङ्ख्या घटेको बताइएको छ । तराईसँग जोडिएको जिल्ला भएका कारण पनि पाल्पाबाट बसाईसराई भएर जानेको सङ्ख्या बढेका कारण जनसङ्ख्या ऋणात्मक रहेको तथ्याङ्क कार्यालय पाल्पाको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update